coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफको उपाधि सुनिश्चित

काठमाडौं – विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबमाथि जित निकाल्दै अन्तिम खेलअगावै उपाधि सुनिश्चित गरेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा शनिबार एपिएफले तेस्रो स्थानको आर्मीमाथि ३–१ को सेटमा जित निकालेपछि लिगको अन्तिम खेल बाँकी छँदै उपाधि आफ्नो बनाएको हो। लिगमा समान १३ खेलबाट एपिएफ  ३९ अंकसहित शीर्षमा र नेपाल पुलिस क्लब ३४ अंकका साथ दोस्रो स्थानमा छन्। लिगको अन्तिम खेलमा आइतबार यी शीर्ष दुई क्लब नै खेल्नेछन्।

एपिएफले अन्तिम खेल बाँकी छँदा पुलिससँग स्पष्ट ५ अंकको अग्रता बनाएकाले यी दुईबीचको नतिजाले वरीयतामा असर पर्ने छैन। शनिबारको खेलअघि दोेस्रो स्थानको होडमा रहेको आर्मी एपिएफसँग अंक गुमाएपछि तेस्रो स्थानमै सीमित हुने भएको छ। रोमाञ्चक बनेको पहिलो सेट आर्मीले २२–२५ ले आफ्नो बनाउँदै एपिएफमाथि दबाब सिर्जना गरेको थियो।

तर, त्यसपछि लगातार तीन सेट आफ्नो बनाउँदै एपिएफले उपाधिसमेत पक्का गर्‍यो। एपिएफले दोस्रो २५–७, तेस्रो २५–१७ र चौथो सेट २५–२१ ले जितेको थियो। त्यो हारसँगै आर्मी १३ खेलबाट २९ अंकसहित तेस्रो स्थानमै सीमित भएको छ। सोही दिन पुलिसले पनि दाङको श्रीगाउँलाई २५–१२, २५–१० र २५–९ ले हराउँदै दोस्रो स्थान पक्का गरेको थियो।

आर्मीले लिगको अन्तिम खेल आइतबार पश्चिमाञ्चलसँग खेल्नेछ। पश्चिमाञ्चलले पनि समान १३ खेलबाट २२ अंक बनाएकाले आर्मीसँगको जित या हारले वरीयतामै खासै असर गर्ने छैन। पश्चिमाञ्चलले शनिबार सामाखुसी इङ्लिस बोर्डिङ (सेब)लाई २५–९, २९–२७ र २५–८ ले पराजित गरेको थियो।

लिगमा १४ खेल नै सकाएका सेब १४ अंक, चितवन टाइग्रेस १३ अंक र श्रीगाउँ ११ अंकसहित क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन्। आइतबार लिगको अन्तिम दिन दुई खेलमा आर्मी र पश्चिमाञ्चल (१२ बजे) र एपिएफ र पुलिस (२ बजे) भिड्नेछन्। लिगमा समावेश कुल आठ टोलीमध्ये दोस्रो चरणमा ७ टोलीले स्थान बनाएका हुन्।

यी टोलीहरूबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ। प्रतियोगिताको विजेताले ३ लाख ५० हजार, दोस्रो हुने टोलीले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुनेले १ लाख, चौथोले ६० हजार, पाँचौं हुनेले ४० हजार, छैटौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दी सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन्। उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६÷६ हजार नगद प्राप्त गर्नेछन्।

प्रकाशित: २० माघ २०७५ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App