coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

संकटालाई पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा

नेपाल पुलिस क्लबविरुद्ध भली हान्दै सिएमजी संकटाका टेम्पी अर्नेस्ट (रातो)। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – सिएमजी संकटा क्लबको चुनौतीलाई पन्छाउँदै नेपाल पुलिस क्लब मनकामना केवलकार पोखरा कपको छैटौं सस्करणमा क्वार्टरफाइनल प्रवेश गरेको छ। एक गोलले पछि परेको पुलिसले उत्कृष्ट कमब्याक गर्दै संकटामाथि २–१ गोलको नतिजाका साथ गोल्डकपको अन्तिम आठ सुरक्षित बनायो।

११औं मिनेटमा संकटाले अग्रता लियो। अफ्रिकन खेलाडी म्याक्सवेल एलनले ड्रब बललाई वान टचमा पोस्टको दिशा दिएपछि संकटाको सम्भावना देखियो। सुवास गुरुङले डी बक्सभित्र मिलाइदिएको पासलाई एलनले पेनाल्टी क्षेत्रबाट वान ड्रबमै फिनिसिङ टच दिए।

पहिलो हाफ नसकिँदै खेल बराबरीमा पुग्यो। पुलिसले खेलमा कमब्याक गर्ने क्रममा ३१आैं मिनेटमा गोल गर्‍यो। टु भर्सेस टु अवस्थामा नीरकुमार राईले डी बक्सभित्र दिएको ‘ब्याक हिल पास’ लाई सदुपयोग गरेर अभिषेक रिजालले सेकेन्ड बार च्याप्दै गोल गरेपछि पुलिसले दबाबलाई मत्थर बनायो। पुलिसले केही फ्रिकिकको अवसर पाएको थियो। यद्यपि सदुपयोग गर्नबाट चुक्यो।

रवि पासवानले निर्णायक गोल गर्दै पुलिसको क्र्वाटरफाइनल ढोका खोले। ब्याक पासलाई संकटाका गोलकिपर राजाबाबु थापाले मेसो नपाउँदा छलिएको बललाई लेफ्ट विङ्गर रवि पासवानले भेट्दै ५४ मिनेटमा गोलमा परिणत गरेपछि पुलिसले जितको नजिता आत्मसात् गर्‍यो। ट्याम्पी अर्नेस्टले क्लियर गर्नुपर्ने बल गोलकिपरलाई ब्याक पास दिएका थिए। ब्याकपासको मेसो भने गोलकिपर थापाले पाएनन् र फुत्किएको बललाई कलेक्ट गरेर पासवानले गोल गर्दै पुलिसलाई खुसी दिलाउँदा संकटाको यात्रा टुंगियो।

खेलको ५ मिनेटमै संकटाका नीराजन खड्काको हेड प्रहार खेर  गयो। स्ट्राइकर म्याम्सवेलको पासमा खड्काले हेडिङ  गरेका थिए। खेलको २१औं मिनेटमा संकटाका लक्ष्मण रुचालले हानेको लेफ्ट सुट फस्टबारबाट बाहिरियो। पहिलो हाफमै बराबरी गरेको पुलिसले भने खासै प्रभावकारी मुभ बनाउन सकेन। जितका लागि निर्णायक गोल गर्ने पुलिसका रवि पासवान म्यान अफ दी म्याच घोषित भए।

‘दुई दिनअघि खेलेर फर्किएको टोली सीधै पोखरा रंगशालामा उत्रियो। केही समस्या भयो। तर पनि कमब्याक गर्दै जित हासिल गर्‍यौं। त्यो नै उपलब्धि हो,’ नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले भने। उता संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलमा हारजित स्वाभाविक भएको बताउँदै डिफेन्सको गल्तीले गोल खाएको भन्दै गुनासो गरे।

डिफेन्सले क्लियर गर्नुपर्ने बल गल्ती गरेपछि नतिजा पुलिसको पक्षमा गएको उनको भनाइ थियो। कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपको आइतबार थ्री स्टारले सशस्त्र प्रहरी बलसँग पहिलो क्वार्टरफाइनल खेल्नेछ।

प्रकाशित: २० माघ २०७५ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App