coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बेपर्वाह सरकार, दिशाहीन प्रतिपक्ष

कुनै विषयलाई गम्भीरतापूर्वक नलिने स्वभावलाई ‘बेपर्वाही’ स्वभाव भएको व्यक्ति भनिन्छ। यस्ता व्यक्तिलाई मधेसतिरकाले ‘विनदास’ भन्छन्। मुस्लिम बाहुल्य भएको ठाउँमा यस्तालाई ‘हर्फनमौला’ भनिन्छ। पहाडतिर चाहिँ भनिन्छ, ‘शोक न सुर्ता भएको मान्छे’। माथि उच्चारण गरिएका सबै शब्द बेपर्वाहको पर्यायवाची शब्द हुन्।

यहाँ यो बेपर्वाह भन्ने विशेषण वर्तमान सरकारमाथि प्रयोग गरिएको भए पनि यसको तीरचाहिँ प्रधानमन्त्रीतर्फ सोझिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीजी ठट्टेउलो भाषामा मर्मस्पर्शी बाँण हान्न सक्ने खुबी भएका व्यक्ति हुन्। समय–सन्दर्भको ख्याल गरेर आक्कल–झुक्कल मात्र व्यंग्यबाँण हान्ने अभ्यास यिनले गरेको भए मर्मस्थानलाई नै भेद गर्न सक्ने हैसियत राख्दा रहेछन्। तर सय–पचास मान्छेको जमघट देख्यो कि उनको यो अद्वितीय कला छताछुल्ल भइहाल्दो रहेछ।

आफूले भाषण प्रारम्भ गरेपछि पेट मिचीमिची हाँस्ने गरेको श्रोताहरूको मुखाकृति देखेपछि उनी त्यो हाँसोले आफूलाई गिज्याइरहेको हो कि प्रशंसा गरिरहेको पत्तै पाउँदा रहेनछन्। त्यसैले उनलाई कसैले हर्फनमौला भन्छ भने कसैले विनदास ! मैले त सोचविचार गरेरै भनेको हुँ, बेपर्वाह ! त्यसो त नेपालका प्रधानमन्त्रीहरूमध्ये वाचाल व्यक्तित्व भएका प्रधानमन्त्री थिए–कृष्णप्रसाद भट्टराई। उनको र वर्तमान प्रधानमन्त्रीबीच ताŒिवक भिन्नता के थियो भने कृष्णप्रसाद भट्टराई गहकिला र खँदिला शब्दको प्रयोग गर्थे भने ओलीचाहिँ घरगाउँले भाषा प्रयोग गर्छन्। कृष्णप्रसाद भट्टराईको विद्वतासँग ओलीको दाँजो गर्न मिल्ने कुरा होइन, तथापि यी दुई नेताहरू वाचाल व्यक्तित्वचाहिँ हुन् है। कृष्णप्रसाद भट्टराईको विद्वता, भाषाज्ञान, प्रत्युत्पन्नमति अनि निष्प्रियताले उनलाई एसिया महादेशका अन्य उम्दा राजनेताहरूको लहरमा उभ्याएको थियो। प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणमा रहेका भट्टराईले विभिन्न कार्यक्रमहरूमा कहीं अंग्रेजी, कहीं संस्कृत, कहीं बंगाली भाषामा भाषण गरेको देख्ने र सुन्ने भारतीय विद्वान्हरूले उनको उच्च मूल्यांकन गरेका थिए। 

केपी शर्मा ओलीजी पहिलोपटक यो देशको प्रधानमन्त्री हुनुपूर्व उहाँको राजनीतिक सोच कस्तो थियो भन्ने कुरा अब कोट्याउनुको कुनै अर्थ छैन। तर प्रधानमन्त्री भइसकेपछि उनले राष्ट्रवादको नाम लिएर जुन दह्रो खुट्टा टेके, त्यसैले उनलाई र उनको पार्टीलाई जनताले पुरस्कृत गरेका हुन्। पुनः प्रधानमन्त्री भइसकेपछि उनले ‘नेपालको समृद्धि र नेपालीको सुख’बारे जुन मुद्दा उठाए, त्यसले उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो। ओलीजी प्रधानमन्त्री बन्नुभएको करिब एक वर्ष भयो। अब जनताले जान्न पाउनुपर्छ– समृद्धि र सुख भनेको के हो ? नेपाल र नेपालीले यो कहिले पाउने ? सुख र समृद्धिको मार्गचित्र उहाँसँग छ भने कृपया नेपाली जनतासमक्ष राख्नुहोस्। होइन पानीजहाज र मोनोरेल अनि मेट्रोट्रेन, त्यसैगरी केरुङ–काठमाडौं द्रुत गतिको रेलको सपना नै तपाईंको मार्गचित्र हो भने गाँठो पारेर राखे हुन्छ, तपार्इंको जिन्दगीमा नेपाल र नेपालीले समृद्धि र सुखको अनुभूति गर्न कदापि पाउनेछैनन्।

ओलीजीले ल्याउन लाग्नुभएको पानीजहाज र रेलगाडीलाई पैसा तिरेर चढ्ने वा सामान ढुवानी गर्ने नेपालीसँग न त धन छ न त सामान नै। नेपालीको सुख देख्न चाहनेले त पहिला यस देशका गरिबहरूका निम्ति रोजगारी, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्छ। पेटभरि खान नपाउनेलाई खाना, बिरामीलाई स्वास्थ्य उपचार र सबैलाई उचित शिक्षा दिनु समाजवादी हुँ भन्ने सरकारको प्राथमिक दायित्व हो। यस्ता दायित्वबाट विमुख भएर सपना बाँड्ने यात्रामा निस्कनुजस्तो घातक र प्रतिगामी कदम अर्को हुनै सक्दैन। 

यो सरकारलाई ‘बेपर्वाह’ त्यसै भनिएको होइन। समाजवादी सरकारले जनताको सुख र दुःखको समस्यासँग आत्मसात् गरेको हुनुपर्छ। तर, हेर्नुहोस् त ! यो सरकार स्थापित भएकै मितिदेखि आफ्ना प्रान्तीय र स्थानीय सरकारहरूलाई करवृद्धि गर्ने अनुमति दियो। हिजो ५० रुपैयाँले हुने काम समाजवादी सरकारको आगमनपछि जनताले त्यही कामका लागि एक हजारभन्दा बढी रुपैयाँ तिर्नु परिरहेको छ। ठूला भनाउँदा करदाताहरूले करछली गरेको दुनियाँले देख्छ तर यो सरकारले नदेख्नुचाहिँ बेपर्वाह होइन ? यसरी जनताको विश्वास जित्न सकिन्छ ? अनि जनताको विश्वास नजिती समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक परिणतिसम्म पुर्‍याउन सक्छौं ?

यो सरकार असहिष्णु छ भन्ने पनि यदाकदा सुनिएकै हो। प्रतिपक्ष कमजोर भएको हुँदा सरकार कानमा तेल हालेर बसेको छ। तर सरकारले सोच्नुपर्छ, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पदचिह्न पछ्याउने हो भने त्यहीँ पुगिन्छ, जहाँ उनले आफ्नो पार्टी नेपाली कांग्रेसलाई पुर्‍याएका थिए। यो सत्ता भन्ने चिजै यस्तै हो। यहाँ विवेकको सही ‘इस्तेमाल’ नगर्नेले सबैलाई एकैपटक भड्खालोमा हालिदिन्छ। गिरिजाप्रसाद कोइरालाले आफ्नै नेताहरू कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको कदर गर्न नसकेकै कारण कांग्रेसको कम्मर भाँचियो। यो इतिहासबाट सबक नलिई ओलीजी आफ्नो एक्लो घोडा दौडाइरहेछन्। यो व्यवहारलाई माधव नेपाल, झलनाथ र वामदेवहरूले असहिष्णुताको पराकाष्ठा भनेका छन्। आफ्नै अग्रज र समकालीनहरूलाई दरकिनार लगाउन किञ्चित पनि संकोच नगर्ने नेतालाई कसैले बेपर्वाहको पगरी गुथाइदियो भने त्यसले के गलत गर्‍यो त ?

हिजो–अस्ति मात्र मलाई ओलीजीको भाषण सुन्ने एउटा अवसर मिलेथ्यो। उहाँ भन्दै हुनुहुन्थ्यो, ‘दुई महिनामा मैले देशभरका तुइनलाई झोलुंगे पुलले विस्थापित गरिनँ रे। केरुङ र रक्सौलबाट रेल ल्याउँछु भनेको ६ महिना भइसक्यो। खोइ रेलहरू भन्छन् ? पानीजहाज ल्याउँछु भनेको १० महिना भयो, ओलीले ल्याएन भन्छन्।’ उहाँको भाषण सुन्नेहरूले हाँसोको फोहरा निकाल्दै ताली पिटे। मैले मनमनै भनें, ‘ए तालीपिटुवा हो ! एकपटक भनौं आफ्ना प्रधानमन्त्रीलाई कि १० महिनापछि एउटा बच्चा जन्म दिने आमाको नौ महिनाअघि नै ऋतु धर्म (रजस्वला) रोकिएको हुन्छ। तर तपार्इंको सुख र समृद्धिको अभियानको चाहिँ जनताले मार्गचित्र समेत देख्न नपाउने ?’ हो, यस्तो मार्गचित्र देख्न नपाएकाले उनलाई ‘बेपर्वाह’ भनेका हुन्। 

सत्यको आग्रह गर्ने व्यक्ति सत्याग्रही हो। सत्यको आग्रह गर्न जोकोहीले सक्ने कुरा होइन। यसका लागि निर्मल मन, दृढ संकल्प, वितरागी स्वभाव अनि वसुधैवकुटुम्बकम्मा विश्वास राख्ने व्यक्ति हुनुपर्छ। जस्तो महात्मा गान्धी ! नेपालको सन्दर्भमा पनि डा. गोविन्द केसीलाई सामान्य आँक्ने गल्ती कसैले गर्नु हुन्न। सामान्य व्यक्तिमा यस्ता गुण पाइन्नन्। त्यसैले त सशस्त्र संघर्ष गर्ने लाखौं विद्रोहीभन्दा एउटा सत्याग्रहीलाई प्रजातन्त्र र मानवतावादीले अभिनन्दन गर्ने गरेका हुन्। हाम्रा वर्तमान प्रधानमन्त्रीले सत्याग्रही गोविन्द केसीका मागहरू केही महिनाअघि मात्र अक्षरशः स्वीकार गरेका थिए। तर आज आएर उनकै पार्टीका सदस्यहरूले ती सत्याग्रहीका माग स्वीकार गर्न इन्कार गरिरहेछन्। अनि प्रधानमन्त्रीचाहिँ यो घटना देखेको नदेखेझैं गरिरहेछन्। हिजो–अस्ति मात्र प्रधानमन्त्रीजीले संसद्मा जसरी उपेक्षा भाव व्यक्त गरे, त्यो उपयुक्त थिएन। आफैंले गरेको सहमतिको बर्खिलाप आफैं जानु ‘बेपर्वाह’ को पराकाष्ठा होइन ?

एउटा भनाइ छ– ‘बढे मियाँ तो बढे मियाँ, छोटे मियाँ शुभानल्ला।’ अर्थात्, ठूलो छोरा त लाठसाहेब भयो–भयो, सानो छोराले त केही गर्ला कि भनेको, उसले त दाजुलाई समेत उछिन्दिएछ। यहाँ पनि सरकारी पक्ष बेपर्वाह भयो भनी दुःख मनाउने जनताले प्रतिपक्षतर्फ नजर घुमाउँदा ऊ त डा. केसी र निर्मला हत्याविरुद्ध संघर्षरत अधिकारवादीले अविछिन्न रूपमा विरोध गरिरहेकै छन्। ‘हामीले किन गर्नुपर्‍यो ?’ जस्तै गरिरहेछ। मानौं, सरकारको विरोध गर्ने उसको धर्म नै होइन। निर्वाचनमा लज्जास्पद हार किन भयो भन्ने कारण खोज्न असमर्थ नेपाली कांग्रेस प्रतिपक्षको धर्म निर्वाह गर्न असक्षम मात्र होइन, ऊ त कुहिरोको कागझैं दिसाविहीन हुन पुगेकोे छ। 

जनताको घरमा पिउने पानी आउँदैन, प्रतिपक्ष बोल्ने आवश्यकता महसुस गर्दैन। दिनदहाडै जनताका चेलीबेटी बलात्कृत हुन्छन्, प्रतिपक्षको अत्तोपत्तो छैन। वाइड बडी जहाज खरिदमा अर्बौं रुपैयाँको घोटाला भयो भनिन्छ, प्रतिपक्षलाई सन्निपातको निद्राले गाँजेको छ। सरकारले सत्याग्रहीको उपेक्षा गर्छ, प्रतिपक्ष पगुराइरहन्छ। संसद्मा सरकार प्रमुखले मिथ्यांक पाठ गर्छन्, प्रतिपक्षचाहिँ हाँसेर बस्छ। यस्ता प्रतिपक्षीलाई जनताले तिरेको करबाट किन तलब–भत्ता दिने ?

निर्वाचनमा पराजय हात लागी भएपछि कांग्रेसका केही युवा सांसदहरूले घोषणा गरेका थिए, ‘हामी छाया सरकार गठन गरी, सरकारलाई खबरदारी गरिरहने छौं।’ त्यसपछि महासमिति बैठकले समेत छाया सरकार बनिनुपर्छ भनी म्यान्डेट दियो। वास्तवमा कांग्रेसको यो निर्णय अत्यन्त सान्दर्भिक थियो, छायाँ सरकारले प्रत्येक मन्त्रालयहरूको अनुगमन गरी मन्त्रीहरूलाई र्‍याखर्‍याख पार्न सक्ने हो भने दुई तिहाइको डिङ हाँक्ने सरकार ठेगानमा आउने थिए। बल्ल प्रजातन्त्रको अर्थ बुझ्न सरकारलाई सहयोग पुग्ने थियो। तर नेपाली कांग्रेसको छाया सरकार कुन दुलोमा छ, पत्तो छैन। 

नेपालका प्रमुख दलहरू नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस मात्र हुन्। यी दुवै पार्टीको नेतृत्व तहमा ७० वर्ष पार भइसकेका वृद्धहरूको हालिमुहाली छ। दुवै पार्टीको निष्क्रियता र गतिहीनताको कारक सम्भवतः नेतृत्वको वृद्धावस्था नै हो। २०४६ सालको प्रथम जनआन्दोलनको सफलतापश्चात् स्थापित नेपाली कांग्रेसको सरकारले अपेक्षित गति लिन नसकेपछि सर्वमान्य नेता गणेशमान सिंहले भन्नुभएको थियो, ‘बूढो गोरुले बाँझो खेत फाँड्न सक्दैन।’ उहाँको यो अभिव्यक्तिबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रुष्ट भए। गणेशमानजीको अभिव्यक्तिबाट रुष्ट भएका कोइरालाले सरकारलाई गति दिने कार्य गर्नु त कता हो कता, उनी त पार्टीभित्र आफ्नो हात मजबुत पार्न उपलब्ध यावत् ऊर्जा खन्याउनपट्टि पो लागेछन्। परिणामतः कांग्रेस पुनः उठ्नै नसक्नेगरी थला पर्‍यो। आज कांग्रेसको जुन हविगत छ, त्यो तत्कालीन नेतृत्वकै गलत सोचकै कारण हो भन्न संकोच मान्न हुन्न। वर्तमान अवस्थामा नेपाल कम्युनिस्ट पार्टी पनि उबेलाको नेपाली कांग्रेसकै पदचिह्न पछ्याउँदै गरेको देख्दा जनता निरास भएका छन्। हल्का कुरा र बकम्फुसे टिप्पणीले देशको विकास हुन सक्तैन। फेरि नेपालका वृद्ध नेताहरूले विकासको मर्म बुझेका पनि छैनन्। त्यसैले बूढो गोरुले कोरली गाई ओगटेझैं वृद्ध नेताहरूले देशको सत्ता ओगटिराख्नु ठीक होइन। देशको नेतृत्व ५० वर्षमुनिकै युवा नेताहरूले गर्नुपर्छ।

प्रकाशित: २० माघ २०७५ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App