८ वैशाख २०८१ शनिबार
राजनीति

रोकिएन सुनकोसी दोहन

सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित क्रसर। तस्बिर : अनिल/नागरिक

सिन्धुली - व्यवसायीले सुनकोसी नदीबाट जथाभाबी बालुवा र ढुंगा उत्खननलाई तीव्रता दिएका छन्। जथाभाबी सुनकोसी नदी दोहनका कारण एसियाकै पर्यटकीय राजमार्गका रूपमा चिनिएको बिपी राजमार्ग जोखिममा परेको छ। यही राजमार्गको किनार भएर सुनकोसी बग्छ। सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीले मनपरी ढंगले डोजर चलाएर बालुवा र ढुंगा निकालिररहेका छन्। बालुवा प्रशोधन उद्योगले नदीमा ठूला उपकरण चलाउन नपाउने भए पनि व्यवसायीले ठिक उल्टो गरिरहेका छन्। स्थानीय तहका जनप्रतिनिधिसँगको मिलेमतोमा व्यवसायीले जथाभाबी गरिरहेको स्थानीयवासीको आरोप छ।

एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘वडा अध्यक्षका घरपरिवारकै सदस्यका नाममा क्रसर उद्योग खोलिएको छ। तिनीहरूलाई न स्थानीय सरकारले कारबाही गर्न सक्छ न कारबाही गर्ने चासो देखाउँछ। बैराग लाग्ने गरी उत्खनन भएको छ। सुनकोसीमा व्यवसायीको दादागिरी नै चलेको छ।’ ती स्थानीयले यही गतिमा उत्खनन भइरहे केही वर्षमै सुनकोसी विरुप हुने दाबी गरे। ‘नदीको धार नै परिवर्तन गरेर बालुवा र ढुंगा निकाल्न थालिएको छ। गाउँपालिका राजस्व बढाउने भन्दा नदी दोहन रोक्नेतर्फ लाग्नुपर्छ’, ती स्थानीयले भने। क्रसर तथा बालुवा उद्योगका लागि वडा तथा गाउँपालिकाले सिफरिस दिइरहनु भन्दा भएका क्रसरलाई निगरानी गर्नुपर्ने स्थानीय बताउँछन्। गोलन्जोर गाउँपालिका र सुनकोसी गाउँपालिकामा पर्ने सुनकोसी नदीका विभिन्न स्थानबाट जथाभाबी बालुवा–ढुंगा निकाल्ने काम भइरहेको छ।

सुनकोसीको चरम दोहन रोक्न केही महिना पहिले स्थानीवासी विरोधमा उत्रिए पनि सुनुवाइ नभएको सुनकोसी गाउँपालिकास्थित दुम्जाका कपिल कोइरालाले बताए। ‘बिपी राजमार्गको छेउछाउ भएर बग्ने सुनकोसी नदीमा मापदण्डविपरीत क्रसर उद्योगले दैनिक उत्खनन गरिरहेका छन्, नियन्त्रण गरौ भनेर हामीले पटकपटक आवाज उठाएका छौं, तर गाँउपालिका तथा अन्य सम्बन्धित निकायले हालसम्म नियन्त्रणमा ध्यान दिएका छैनन्। क्रसर व्यवसायीले नदीको धार नै परिवर्तन हुने गरी खाल्डा खनेर उत्खनन गरेका छन्। नदी क्षेत्रबाट ढुंगा, बालुवा उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रहे पनि त्यसको पालना भएको छैन,’ कोइरालाले भने।

खुर्कोटदेखि दुम्जासम्म जथाभाबी नदी उत्खनन भएको छ। ‘सुनकोसीमा अवैध दोहन रोक्नेतिर कोही लागेन, जथाभाबी दोहन बढेको छ, नियन्त्रण कसले गर्छ,’ नेपाली कांग्रेसका नेता दीपक मिश्रले भने, ‘व्यवसायीको जताततै दादागिरी देखिन्छ। नियमसंगतबाट उठाउनु नयाँ कुरा होइन तर जनप्रतिनिधिकै मिलेमतोमा नियम तोडेर उत्खनन भएको देखियो। गाउँपालिकाको राजस्व बढ्छ भन्दैमा सुनकोसीमा डोजर, इस्काभेटर चलाएर उत्खनन गर्न त मिल्दैन नि। आन्तरिक आय बढाउन जथाभाबी नदीजन्य पदार्थ दोहनले देशकै नमुना राजमार्ग समेत जोखिममा पर्ने देखिन्छ।’

सुनकोसी नदी किनारमा सञ्चालित अधिकांश क्रसर उद्योगमा स्थानिय जनप्रतिनिधिको संलग्नता रहेको स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘जथाभाबी उत्खनन हुँदासम्म देखेको नदेखेझै गर्ने जनप्रतिनिधिकै संलग्नता छ।’ दैनिकजसो राज्यका उच्च ओहोदाका व्यक्तिहरुको आवातजावत हुने बिपी राजमार्गकै किनार भएर बगेको सुनकोसी नदी क्षतविक्षत हुनेगरी उत्खनन् गर्दासमेत सम्बन्धित निकायको आँखा नपुग्नु दुर्भाग्यपूर्ण भएको मिश्रले बताए।

सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास क्रसर तथा बालुवा उद्योग दर्ता र नवीकरण गर्ने घरेलु तथा साना उद्योग विकास समिति भएकाले तिनलाई आफूले कारबाही गर्न नमिल्ने बताउँछन्। ‘गाउँपालिकाले ढुंगा, गिटी र बालुवा झिक्न ठेक्का लगाएको हो,’ उनले भने, ‘गुनासो आएका स्थानमा हामीले अनुगमन गरिरहेका छौं।’ प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाले स्थानीय सरकार नै जथाभाबी नदी दोहन नियन्त्रणमा लाग्नुपर्ने बताउछन्। ‘जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा अनुगमन समिति हुन्छ,’ उनले भने, ‘त्यो समितिले अनुगमन गर्ने हो, नियन्त्रण गर्ने तथा खुलाउने धेरै अधिकार स्थानीय सरकारमै छ। क्रसर व्यवसायी भने मापदण्ड अनुसार नै उत्खनन गरेको बताउँछन्।

प्रकाशित: २० माघ २०७५ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App