coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सवारी चालकलाई एकवर्षे ‘चाइना पास’ दिने तयारी

रसुवा - चीनको केरुङ जान सवारी चालक र सहचालकलाई एकवर्षे पास दिने तयारी भएको छ। चीनसँग सीमा जोडिएका बाहेकका जिल्लाका राहदानीवाला चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एकवर्षे अस्थायी प्रवेश अनुमति दिन लागिएको हो।

सामग्री आयात तथा निर्यातलाई सहज बनाउन उनीहरूलाई अस्थायी अनुमति दिने बारेमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका उपसिचिव रोसन खनालले जानकारी दिइन्। ‘चालक तथा सहचालकलाई अस्थायी अनुमति दिने बारेमा हामी छलफल गरिरहेका छौं,’ उनले नागरिकसँग भनिन्, ‘एकवर्षे पास दिन सकेमा धेरै राम्रो हुन्छ।’ कति समयको अनुमति दिन सकिन्छ भन्नेमा निर्णय भइनसकेको उनको भनाइ छ। चिनियाँ अधिकारीले एकवर्षे पास दिन तयार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘हामीले तिब्बतका अधिकारीसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘चिनियाँ पक्षले तत्कालै पास दिन सकिने बताएका छन्।’ केरुङ फ्रन्टायर इन्सपेक्सन स्टेसन, पिपुल रिपब्लिक चाइनाले उक्त जानकारी दिएको उनले बताए। ‘१५ दिने अनुमति दिँदा झन्झटिलो हुने भएकाले चिनियाँ पक्ष एकवर्षे अनुमति दिन तयार भएको हो,’ उनले थपे।

चीनसँग सिमाना जोडिएका बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिनेछ। रसुवा बाहिरका व्यापारी, चालक तथा सहचालक केरुङसम्म जान नपाउँदा कारोबारमा कठिनाइ हुने गरेको व्यापारी बुद्धराज बस्नेतले बताए। ‘बाहिरका चालक र सहचालकलाई अस्थायी प्रवेश अनुमति दिने भनिएको थियो,’ उनले भने, ‘यो काम चाँडै भए हुन्थ्यो।’

व्यापारमा सहजीकरण गर्न अस्थायी प्रवेश अनुमति दिने निर्णय भए पनि चिनियाँ पक्षले आधिकारिक पत्र नपठाएका कारण पास दिने काम सुरु नभएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए। ‘अनुमति दिने सहमति भएको छ,’ उनले भने, ‘तर कुन मेकानिजम अपनाएर अनुमति दिने भन्ने निर्णय उनीहरूले गर्नुपर्छ।’ चीनको केरुङसम्म नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। रसुवाका नागरिकले भने एक वर्षका लागि नेपाल–चीन आगमन–प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने गरेका छन्।

चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले स्थानीय प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन वा अध्यागमन कार्यालयबाट एकवर्षे पास पाउँछन्। नेपाल–चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिने गरेको एकवर्षे प्रवेशाज्ञा रसुवाका ९ हजार ८ सय ४५ ले लिइसकेका छन्। यो २०७२ असोज २८ गतेदेखि गत पुस १६ गतेसम्मको तथ्यांक हो। रसुवागढी नाका खुला भएपछि रोजगारका लागि केरुङ जाने व्यापारी, व्यावसायी तथा सवारी चालक बढेका छन्।

प्रकाशित: २० माघ २०७५ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App