प्रदेश १ का ठुला सहर

फोहोर व्यवस्थापनमा बेथिति

आइतबार, २० माघ २०७५, ०८ : ०८ पूर्वेली ब्युरो

विराटनगर - प्रदेश १ का अधिकांश ठूला सहरमा सार्वजनिक स्थलमै फोहोर फ्याँकिने गरिएको छ। मानव स्वास्थ्यको ख्यालै नगरी जथाभावी फोहोर फ्याँक्ने गैरजिम्मेवारीपूर्ण कार्यका कारण त्यहाँका सर्वसाधारण आजित बनेका छन्। समुदायको जीवनसँग प्रत्यक्ष जोडिएका खोलानाला, जंगल, बाटोघाटोजस्ता सार्वजनिक स्थल फोहोरले भरिएपछि त्यसबाट हुने हानिप्रति स्थानीय सरकारले पनि आँखा चिम्लिएको पाइन्छ।

खोलानदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको हो। खोलामा सोझै फोहोर फाल्न नपाउने कानुनी व्यवस्था छ। ठोस फोहोर तथा ढल प्रशोधन नगरी नदीखोलामा हाल्न पाइन्न। तर प्रदेशकै ठूलो सहर विराटनगरमा संकलित फोहोर केसलिया खोलाको डिलमा थुपारिँदै आएको छ। त्यसरी फालिएको फोहोर बर्खा लागेसँगै आउने बाढीले बगाउँदा बस्तीमा समेत पस्ने गर्दछ। काग, कुकुरलगायत पन्छी तथा जनावरले पनि नजिकका गाउँबस्तीमा फोहोर लैजाँदा रोगव्याधि फैलिने सम्भावना बढेको छ। व्यवस्थित ल्यान्डफिल साइड नभएकै कारण अस्थायी रूपमा केसलिया किनारमा फोहोर व्यवस्थापन गर्नुपरेको विराटनगर महानगरपालिका फोहोरमैला शाखाका प्रमुख हीरालाल यादव बताउँछन्।

विराटनगरको फोहोर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ। वेस्ट म्यानेजमेन्ट ग्रुपले फोहोर व्यवस्थापनको काम गरिरहेको छ। सफा महानगर बनाउनेबारे बेलाबेलामा चासोचिन्ता व्यक्त भएको पाइए पनि फोहोर व्यवस्थापनबारे भने सरोकारवालाले खासै चासो देखाएको पाइँदैन। वेस्ट म्यानेजमेन्ट ग्रुप फोहोरमैला व्यवस्थापन परियोजना प्रमुख देवीप्रसाद आचार्यले खोलामै फोहोर फाल्न नपाइने भए पनि खोलाछेउमा राख्न पाइने तर्क गर्छन्। भन्छन्, ‘खोलाभित्र फाल्न नपाइने कानुनी व्यवस्था छ, खोलाको छेउमा फाल्न नपाइने कतै उल्लेख छैन।’

खोलाछेउ फालेको फोहोरकै कारण झिंगा आएको भन्ने स्थानीयको आरोप गलत भएको आचार्य बताउँछन्। ‘आँपको सिजनमा जहाँ पनि झिंगा हुने भएकाले फोहोर व्यवस्थापन गरिएको ठाउँआसपास पनि झिंगा आएको हो,’ उनी भन्छन्, ‘महानगरले फोहोर थुपारेकै कारण झिंगा आएको होइन, निहुँ मात्रै बनाइएको हो।’ सहरबाट संकलित फोहोरमैलामा हल्का विषादी हाल्ने गरिएको र एक्साभेटर लगाएर फोहोर पुर्ने गरिएको उनी सुनाउँछन्।

विराटनगर महानगरपालिकाबाट दैनिक एक सय मेट्रिक टन फोहोर संकलन हुने गरेको छ। जसमा ६५ प्रतिशत कुहिने खालको हुन्छ। दैनिक ठूलो मात्रामा फोहोर संकलन हुने गरे पनि फोहोरको उचित व्यवस्थापनको योजना महानगरपालिकासँग छैन। केही वर्षपहिले मोरङको हात्तीमुढास्थित डंग्राहामा धरान, इटहरी र विराटनगरको फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइड निर्माण गर्ने योजना अघि सारिएको थियो। फिनल्यान्ड सरकारको सहयोगमा अत्याधुनिक ल्यान्डफिल साइड निर्माणको काम अघि बढाइए पनि स्थानीयको विरोधका कारण सो परियोजना कार्यान्वयन हुन सकेन। त्यसयता विभिन्न योजना महानगरले अघि नसारेको होइन। ती योजना पनि अध्ययन र चर्चामै सीमित हुन पुगे। तीन वर्षपहिले पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग विराटनगरमा संकलित फोहोरमैलाबाट कुहिने फोहोर छुट्याएर ग्याँस निकाल्ने सम्झौता भएको थियो। त्यो सम्झौता पनि अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन।

फोहोर पानीको व्यवस्थापनमा भने महानगर सक्रिय देखिएको छ। विराटनगरको जतुवामा ट्रिटमेन्ट प्लान्ट बनाएर ढलको पानी प्रशोधन गर्ने तयारी भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको ढलसँगै फोहोर पानी प्रशोधन केन्द्रको पनि निर्माण गरिएको एकीकृत सहरी विकास परियोजनाका सामाजिक सम्बन्ध अधिकृत पुनम दाहालले जानकारी दिए। उनका अनुसार फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सकिएकाले अब ढल प्रशोधन गरेर शुद्ध पानी खोलामा पुर्‍याइनेछ।

धरान र इटहरीको फोहोर जंगलमा
देशकै सुन्दर सहरमा पर्ने धरान सफा सहरका रूपमा पुरस्कृत पनि भइसकेको छ। जनसहभागितामा बनेका यहाँका सडकहरू सफा, चिटिक्क छन्। तर यही सफा सहरबाट दैनिक रूपमा निस्कने फोहोरको व्यवस्थापन पक्ष भने उदेकलाग्दो छ। धरान उपमहानगरले आफ्नो नगर क्षेत्रबाट दैनिक रूपमा उत्पादन हुने फोहोरलाई संकलन गरेर सिधै वनमा फाल्ने गरेको छ। यसले वातावरण प्रदूषण बढाउनुका साथै वन्यजन्तुलाई गम्भीर असर पुगिरहेको छ। फोहोरकै कारण बेलाबखत सामुदायिक वन र उपमहानगरपालिकाबीच विवाद पनि हुने गरेको छ। धरानमा दैनिक ४५ टनभन्दा बढी फोहोर संकलन हुने गरेको तथ्यांक छ। यो धेरै पुरानो तथ्यांक हो। पछिल्लो समय योभन्दा बढी फोहोर हुने सहज अनुमान गर्न सकिन्छ।

धरान उपमहानगरले आफ्नो नगर क्षेत्रको फोहोर व्यवस्थापन आफैं गरिरहेको छ। यसका लागि सफाइ मजदुरहरू खटिन्छन्। मुख्य बजार क्षेत्रको निश्चित सडक किनारमा राति नै फोहोर संकलन गरिन्छ। ती फोहोरलाई पनि धरान–१५ स्थित बाँझगरा सामुदायिक वन समूहको क्षेत्रमा पर्ने सेउती खोला किनारमा फालिन्छ। भित्री सडकसँग जोडिएका घरहरूमा कहीँ दैनिक र कहीँ साप्ताहिक रूपमा फोहोर संकलन गरिन्छ। ती फोहोरलाई पनि वन क्षेत्रकै सेउती खोलाकिनारमा फाल्ने गरिन्छ।

उपमहानगरका वातावरण अधिकृत भेषराज घिमिरेका अनुसार धरान उपमहानगरले छिमेकी पर्यटकीय स्थल भेडेटार (साँगुरीगढी गाँउपालिका) को फोहोर पनि संकलन गरेर व्यवस्थापन गर्ने गरेको छ। उनका अनुसार सेउती किनारमा जम्मा गरिएको फोहोर प्रत्येक चार महिनामा खाल्डोमा हाली माटोले पुर्ने गरिएको छ। फोहोरले वातावरणीय असर गरेको गुनासो पनि आइरहेकै छ। ‘सड्ने फोहोर सडिहाल्छ, नसड्ने खालको फोहोर दुई मिटर माटोले पुर्छौं तर यो नै दिगो व्यवस्थापन होइन,’ उनी भन्छन्।

नगर क्षेत्रको फोहोर सेउती किनारमा लगेर फाल्दा वर्षायाममा आएको बाढीले बगाएर दक्षिण क्षेत्रमा किसानको खेतबारीमा पनि पुर्‍याउँछ। केही वर्षअघि किसानहरूले त्यस किसिमको समाधान माग गर्दै आन्दोलन गरेका थिए। त्यसपछि उपमहानगरले ग्याबिङ हालेर फोहोरलाई बाढीबाट जोगाउने उपाय पनि गरेको थियो। इटहरी उपमहानगरपालिकाले धरानलले जस्तै जंगलमा फोहोर व्यवस्थापन गर्दै आएको दखिन्छ। सहरबाट संकलित फोहोर जंगलमा जम्मा गरिँदा वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ। जंगलमा फोहोर आगो लगाउने गर्दा झन् समस्या सिर्जना भएको छ। अब चैत–वैशाखमा हुने आगलागीले झनै भयावह स्थिति सिर्जना हुन सक्ने खतरा देखिएको छ। जंगलमा फेहोर फाल्नुको सट्टा वैकल्पिक ठाउँको व्यवस्थापन गर्न उपमहानगरपालिकालाई इटहरी–२० हासपोसा क्षेत्रका बासिन्दाले माग गरे पनि अहिलेसम्म व्यवस्थापन गरिसकिएको छैन।

इटहरीले चार वर्षअघिसम्म नगरपालिका छँदा तत्कालीन वडा १, ४ र ८ को मात्र फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको थियो। पछिल्लो समय इटहरीको क्षेत्र विस्तारसँगै फोहोर व्यवस्थापनको समस्या चुलिएको छ। पछिल्लो दुई वर्षयता वडा २० मै पर्ने हाँसपोसा सामुदायिक वन क्षेत्रमा फ्याँक्न थालिएको हो।

इटहरी उपमहानगरले फोहोर व्यवस्थापनको जिम्मेवारी नयाँ कम्पनी वेस्ट एन्ड इनभाइरो म्यानेजमेन्ट प्रालिलाई दिइसकेको छ। सम्झौतासँगै फोहोर व्यवस्थापनका लागि चीनबाट पुनः प्रशोधन गर्न सकिने र नसकिने मेसिन ल्याउने सहमति भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन। वडा १० खनारमा निर्माणाधीन ल्यान्डफिल साइडमा पुसभित्रै आवश्यक मेसिन जडान गरिसक्ने सम्झौता भए पनि अहिलेसम्म तयारी हुन पाएको छैन। ‘लगानीकर्ता वल्र्ड बैंकले मेसिन जडानका लागि डिपिआरमा परिवर्तन गर्नुपर्ने भनेकाले ढिलाइ भएको हो,’ इटहरी उपमहानगर वातावरण अधिकृत पुष्पनारायण चौधरीले भने। उनका अनुसार जंगलमा फोहोर व्यवस्थापन गर्दा समस्या नै सिर्जना भएकाले वडा १४ र १५ को गडन खोलामा ठूलो खाल्डो भएकाले गर्दा त्यसमा अध्ययन भने भइरहेको छ।

ग्याँस निकाल्ने तयारी
झापाका तीनवटा नगरपालिकाले फोहोरमार्फत बायोग्याँस निकाल्ने भएका छन्। कन्काई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले फोहोर प्रशोधन गरी बायो ग्याँस निकाल्ने तयारी गरेका हुन्। नगर क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थित ल्यान्ड फिल्ड साइड निर्माण गरी त्यसैमार्फत ग्याँस निकाल्ने तयारी छ। कन्काइ नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले तीनवटा नगरपालिकाबीचको सहमतिमा काम अघि बढेको बताए। एसियाली विकास बैंकले समेत लगानी गर्दै छ। ‘हामीले साझा धारणा बनाएर बैंकसमक्ष प्रस्ताव राखेका थियौं,’ उनले सुनाए, ‘त्यसमा बैंकले ४० प्रतिशत अनुदान दिन सहमत भएको छ।’ निर्माणकर्ताको छनोट सकिएको र अब समझदारी गर्न मात्रै बाँकी रहेको उनले बताए। सो ग्याँस प्लान्ट बनाउन १७ करोड रुपैयाँ लाग्ने अनुमान छ। बाँकी ६० प्रतिशत रकम भने नगरपालिकालेहरूले नै हाल्नेछन्।

उनका अनुसार फोहोरबाट बायोग्याँस र इन्धनसमेत बनाउन सकिनेछ। त्यसका लागि फोहोर वर्गीकरण गरेर त्यसलाई व्यवस्थापन गरिने उल्लेख गरे। कुहिने फोहोर र नकुहिने फोहोरलाई विभाजन गरेर त्यसबाट इन्धन निकाल्न सकिने तयारी छ। कुहिने फोहरबाट बायोग्याँस र प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकालिनेछ। बायो ग्याँस प्लान्ट निर्माणका लागि कन्काइ नगरपालिका–२ मा तीन बिघा जग्गासमेत व्यवस्थापन गरिएको छ।

नगर प्रमुख पोखरेलका अनुसार कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गरी अघि बढ्ने तयारी छ। फोहोर व्यवस्थापनका लागि कन्काई नगरले २३ वटा टोलस्तरीय समितिसमेत गठन गरेको छ। त्यसले साताको दुईपटक कुहिने फोहोर संकलन गर्ने गरेको छ। ‘फोहोरलाई बेग्लाबेग्लै तरिकाले व्यवस्थापन गरिएपछि त्यसको वैकल्पिक प्रयोग गर्न सकिने रहेछ,’ पोखरेलले भने, ‘त्यसैअनुसार हामीले काम थाल्ने तयारी गरेका हौं।’

यसैगरी तीन करोडको लागतमा प्लास्टिकबाट निकालिने फोहोरबाट इन्धन निकाल्न प्लान्टसमेत राख्ने तयारी गरिएको छ। पोखरेलका अनुसार त्यसका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजनसमेत गरेको छ। पाइरोलाइसिस प्रविधिबाट एक किलोग्राम प्लास्टिकबाट ६ सयदेखि सात सय मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ। प्रमुख पोखरेलका अनुसार फोहोरमार्फत ग्याँस निकालेर नगरवासीलाई वितरण गर्ने योजना छ। ‘त्यसलाई कुन तरिकाले हुन्छ हामीले नगर क्षेत्रकै बासिन्दालाई सहुलियत हुने किसिमबाट काम अघि बढाउने छौं,’ उनले भने, ‘त्यसका लागि हामी परामर्शमै छौं। फोहोर विर्सजन भने कन्काई नगरपालिकाको वडा २ मा हुनेछ।

दमक नगरपालिकाले वडा ३ को माथिल्लो चुरे फेदीमा फोहोर विसर्जन गर्दै आएको छ। त्यसका लागि नगरपालिकाले पाथवे नेपाललाई जिम्मेवारी दिएको छ। त्यसैअनुसार उसले फोहोर व्यवस्थापनको काम अघि बढाएको छ। शिवसताक्षी नगरपालिका र गौरादह नगरपालिकाले फोहोर व्यवस्थापनबारे सोचेका छैनन्। गौरादह नगरपालिकाले फोहोर व्यवस्थापन गर्नका लागि टेन्डर खुलाए पनि कसैले चासो देखाएनन्। यी दुवै ग्रामीण क्षेत्रका नगरपालिका हुन्। घनत्वको हिसाबले सहरभन्दा बढी गाउँ यी नगरपालिकामा छन्। गौरादहका नगरप्रमुख रोहितकुमार शाहले व्यवस्थित रूपमा फोहोरमैला व्यवस्थापनको काम अघि बढाउने तयारी गरिएको बताए। विनोद सुवेदी/विराटनगर, अमर खड्का/इटहरी, रोहित राई/धरान, युवराज विवश/दमक






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad