१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचन मिति चाँडै तोकिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ। त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए। केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उनले स्पष्ट पारे। ‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौं,’ उनले भने, ‘चाँडै त्रिवि कार्यकारी परिषद्को बैठकले मिति तोक्नेछ।’

प्रत्येक दुईदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता सबै क्याम्पसमा हुन सकेको छैन। विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीको विषयमा सहमति हुन नसक्दा निर्वाचन हुन नसकेको हो। २०७३ सालमा उमेर हदबन्दी २८ वर्ष कायम गरेपछि र समानुपातिक निर्वाचन प्रणाली अपनापछि अधिकांश क्याम्पसमा विद्यार्थी संगठनकै कारणले स्ववियु निर्वाचन हुन सकेको छैन। त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले फागुनभित्र स्ववियु निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिने बताए। यसअघि उनले नै पुस २२ गते देशभरिका त्रिविका सम्बन्धन प्राप्त सबै क्याम्पसका प्रमुखलाई स्ववियु निर्वाचनको तयारी थाल्न निर्देशन दिएका थिए।

२०७३ फागुन १८ गते भएको स्ववियु कार्यसमितिको दुई वर्षे कार्यकाल सकिन थालेकाले निर्वाचनको तयारी थाल्न निर्देशन दिइएको कार्यकारी निर्देशक थापाले बताए। उनले अघिल्लोपटक विभिन्न कारणले स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यस वर्ष विद्यार्थी संघ–संगठनको सहमतिमै निर्वाचन गरिने बताए। उनका अनुसार गत निर्वाचनमा ६० मध्ये २६ आंगिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो। त्रिविका ६० आंगिकसहित एक हजार ८३ क्याम्पस छन्। त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ।

प्रकाशित: २० माघ २०७५ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App