६ वैशाख २०८१ बिहीबार
राजनीति

ठेकेदारको मनपरी, नदीमै क्रसर उद्योग

सुदूरपश्चिम प्रदेशको राजधानी स्थल तेघरीस्थित गोदावरी नदीमा सञ्चालित घुम्ती क्रसर उद्योग। तस्बिर : पुष्पराज/नागरिक

धनगढी - कैलालीका स्थानीय तहले नियमित नियमन र अनुगमन नगर्दा नदीजन्य पदार्थको दोहन तीव्र रुपमा भइरहेको छ। स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेकेदारलाई ठेक्का दिइसकेपछि नियमन र अनुगमन नगर्दा जथाभाबी दोहन बढेको हो।

जिल्लाका सानाठूला खोलामा ठेकेदारले मनपरी गरेको गुनासो आएपछि जिल्ला समन्वय समिति, कैलालीले स्थानीय तहलाई ढुंगागिटी र बालुवा उत्खनन अर्को व्यवस्था नभएसम्म नगर्न परिपत्र गरेको छ। ‘हामीले सबै स्थानीय तहका खोलाको अनुगमन ग-यौं,’ जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले भने, ‘केही खोला तथा नदीमा जथाभाबी दोहन भएको छ।’

अनुगमन क्रममा कैलालीको चिसापानीस्थित कर्णाली नदीमा जथाभाबी उत्खनन भएको पाइएको उनले बताए। ‘खोला नै फर्काउने हिसाबले कर्णाली नदीबाट ढुंगागिटी र बालुवा निकालिएको छ,’ उनले भने, ‘यसले गर्दा बर्खामा नदीको बहाव परिवर्तन हुनसक्ने र तलको बस्ती जोखिममा पर्ने निश्चित छ।’ स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन भएकाले अर्को व्यवस्था नभएसम्मका लागि लम्की चुहा नगरपालिका र जानकीनगर गाउँपालिकालाई कर्णाली नदीमा उत्खनन रोक्न आदेश दिइएको उनले बताए। कर्णाली नदीमा आइइई गरिएको ठाउँभन्दा पनि आफूखुसी जहाँ पायो त्यहींबाट स्काभेटर प्रयोग गरी बालुवा र ढुंगा निकालिएको छ।

आसपासका क्षेत्र उच्च जोखिममा, जनप्रतिनिधि मौन

सुदूरपश्चिम प्रदेशको राजधानी स्थल तेघरीस्थित गोदावरी नदीबाट पनि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको जानकारी प्राप्त भएको बताउँदै उनले भने, ‘वास्तविकता बुझ्न नगरपालिकालाई पत्राचार गरिएको छ।’ केही कागजात बुझाए पनि गोदावरी नदीमै रहेको घुम्ती क्रसरबारे भने नगरपालिकाले कुनै जानकारी नदिएको उनले बताए।
‘घुम्ती क्रसरबारे अहिलेसम्म नगरपालिकाले त्यस्तो कुनै कागजात दिएको छैन,’ उनले भने, ‘हामीले तुरुन्तै घुम्ती क्रसर राख्न अनुमति दिएको पत्र बुझाउन भनेका छौं।’

गोदावरी नदीमा घुम्ती क्रसर नराख्न पटकपटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको बताउँदै स्थानीय हरि भट्टराईले भने, ‘गोदावरी नदीमै क्रसर राखिएको छ। यसले आउने वर्षायाममा महरा क्षेत्र कटान मात्रै नभई पारिको खमौरा क्षेत्र पनि उच्च जोखिममा पर्ने देखिएको छ।’ नदी क्षेत्रमै घुम्ती क्रसर उद्योग राखेर उत्खनन भइरहेपछि स्थानीयले विरोध गरेका छन्। तर जनप्रतिधि मौन बस्दै आएका छन्। जनप्रतिनिधिको मौनताले स्थानीयले मिलेमतोको आशंका गरेका छन्।

जनप्रतिनिधिले ठेकेदारकै पक्षपोषण गरिरहेका छन्। ‘खोलामै जथाभाबी स्काभेटर लगाएर उत्खनन गर्दा बर्खामा गाउँ नै जोखिममा पर्ने निश्चित छ,’ स्थानीयवासी भट्टराईले भने, ‘स्काभेटरसँगै खोलामै घुम्ती क्रसर उद्योग पनि स्थापनाले झनै जोखिम बढेको छ।’ नदीमै क्रसर उद्योग स्थापना गर्न नपाइने भए पनि नागार्जुन कम्पनीले ढुंगा र बालुवा निकालेर निकासी गर्न खोलामै घुम्ती क्रसर उद्योग स्थापना गरेको उनी बताउँछन्। अर्का एक स्थानीयले भने, ‘हामीले विरोध गरेर नगरपालिका पनि घेराउ ग¥यौं तर, जनप्रतिनिधिले सुनेनन्।’ वडा कार्यालय, गोदावरी नगरपालिका, इलाका वन कार्यालय, जिल्लास्थित वन डिभिजन कार्यालय, वन मन्त्रालयलगायत निकायलाई गुहार्दासमेत नदीबाट क्रसर उद्योग हटाउन सकारात्मक प्रतिक्रिया नपाएको स्थानीयको गुनासो छ। ‘स्काभेटरले ठूलाठूला खाल्डा पारेर ढुंगा र बालुवा निकाल्दा बर्खामा नदीले धार परिवर्तन गर्छ। ती स्थानीयले भने, ‘समयमै जथाभाबी नदीजन्य पदार्थ उत्खननमा रोक लगाउन नसके खमौरा गाउँ उच्च जोखिममा छ।’

जथाभाबी नदीजन्य पदार्थ उत्खननमा रोक लगाउन माग गर्दा कसैले नसुनेको तेघरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदनराज शर्माले बताए। उनले भने, ‘नगरपालिकामा पटकपटक कुरा राख्यौं। जनप्रतिनिधिले कुरै सुनेनन्।’ खोलामै घुम्ती क्रसर राखेर नदीजन्य पदार्थ उत्खनन गर्दा तेघरी गाउँ उच्च जोखिममा परेको उनी बताउँछन्।
गोदावरी नदीमा सञ्चालित घुम्ती क्रसर अवैध भएको बताउँदै गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णराज जोशीले भने, ‘न वडा कार्यालयले नै उत्खनन गर्न अनुमति दिएको छ न त नगरपालिकाले नै। नागार्जुन कम्पनीले आफूखुशी उत्खनन गरेको हो।’ सडक विभागले ६ लेन सडक निर्माणका लागि नागार्जुन कम्पनीलाई चाहिने नदीजन्य पदार्थ निकाल्न सहयोग गरिदिन भनेर पत्र मात्रै पठाएको जानकारी दिँदै उनले भने, ‘हामीलाई विभागले सहयोग गरिदिन भनेर पत्र मात्रै पठाएको हो। हामीले त्यसमा हुन्छ÷हुन्न केही भनेका छैनौं। नागार्जुन कम्पनीले त्यही पत्रका आधारमा आफूखुशी नदीमै घुम्ती क्रसर सञ्चालन गरेर ढुंगा र बालुवा निकालिरहेको छ।’

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले नदीमा घुम्ती क्रसर सञ्चालन गर्न नपाइने बताए। उनले भने, ‘ढुंगा, गिटी तथा बालुवा संकलनका लागि ठेक्का दिए पनि खोलामै क्रसर राख्न भने अनुमति दिएका छैनौ।’ तर, नगरपालिकाबाट वार्षिक एक करोड २० लाख रुपैयाँमा गोदावरी नदीबाट नदीजन्य पदार्थ निकासी गर्न अनुमति लिएको स्वार कन्ट्रक्सनका प्रोप्राइटर भीम साउँदले प्रतिघनमिटर ८४ रुपैयाँ ७८ पैसाका दरले नागार्जुन कम्पनीलाई नदीजन्य पदार्थ बेचिरहेको बताए। उनले भने, ‘हामीले त सीधैं नागार्जुन कम्पनीलाई नदीजन्य पदार्थ बेचिरहेको छौं। उसले कहाँ क्रसर राख्यो त्यो हाम्रो सरोकारको विषय हैन।’ नागार्जुन कम्पनीका प्रमुख ईश्वरी भट्टसँग पटकपटक प्रयास गर्दा सम्पर्क हुन सकेन।

खोलामै क्रसर उद्योग राखेर उत्खनन गर्न नपाइने वन डिभिजन कार्यालय धनगढीका प्रमुख अमरबहादुर बुलनले बताए। उनले भने, ‘अनुगमनमा जाँदा मैले नदीमै घुम्ती क्रसर देखें, कसरी यस्तो काम गरेको हो भनेर सम्पूर्ण कागजात सम्बधित पक्षसँग मागेको महिनौं भइसक्यो अझै पाएको छैन।’ ‘पत्रकारले घुम्ती क्रसरबारे लेखिदिनु प¥यो, त्यसले गर्दा हामीलाई पनि काम गर्न सहज हुन्छ,’ उनले भने, ‘स्थानीय तहले बलमिच्याइँ गरेकै कारण हामीलाई घुम्ती क्रसर हटाउन समस्या भइरहेको छ।’

प्रकाशित: २० माघ २०७५ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App