८ वैशाख २०८१ शनिबार
अर्थ

चीन निर्यात भएन नेपाली जुनार

सिन्धुली – नेपालको जुनार चीन निर्यात हुनबाट बञ्चित भएको छ । २०६९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनियाँ सरकारले खरिद गर्ने सम्झौता भएको थियो । तर हालसम्म पनि जुनार सुन्तला चीन जान जान सकेको छैन।

चीन सरकारको गुणस्तर सुपरीवेक्षण निरीक्षण र क्वारेन्टाइनसम्बन्धी सामान्य प्रशासन तथा नेपाल सरकारको कृषि विभागबीच सन् २०१२ मा नेपालबाट चीनतर्फ सुन्तला जातका फलफूल निर्यातका लागि सम्झौता भएको थियो । तर सम्झौता भएको वर्षौ बित्दा पनि नेपालका जुनार चीन लैजान सकिएको छैन । विशेषगरी सिन्धुलीको जुनार चीन पठाउन सरकारले यस्तो सम्झौता गरे पनि सम्झौतामै त्रुटि भएकाले हालसम्म जुनार चीन पठाउन नसकिएको हुनसक्ने विज्ञहरु बताउँछन्।

सम्झौतामा जुनार सुन्तलाको बगैंचा नै रोगकिरा मुक्त हुनुपर्छ भन्ने उल्लेख भएकाले बगैंचा नै रोग किरामुक्त हुन नसक्ने किसानको भनाइ छ । उत्पादित फलफूल किरा तथा शत्रुमुक्त उत्पादन गर्न सकिन्छ तर बगैंचाका रुख बिरुवा नै शत्रुमुक्त हुन नसक्ने भएकाले जुनारचिन निर्यात हुन नसकेको हुनसक्ने जुनार विकास संघ सिन्धुलीले जनाएको छ।

‘सम्झौता नै हचुवामा भएको देखिन्छ,’ जुनार विकास संघका केन्द्रीय अध्यक्ष दिपक कोइरालाले भने, ‘सानो त्रुटिले सिन्धुलीको जुनार चीन निर्यात हुन सकेन ।’ उनका अनुसार सम्झौता गर्दा रोग किरामुक्त फल हुनुपर्ने भनिएको भए सहजै निर्यात हुन्थ्यो । तर, जुनार बगैंचा नै रोग किरामुक्त हुनुपर्ने भनिएकाले पहाडी क्षेत्रको बगैंचा रोग किरामुक्त गराउन कठिन हुन्छ । यसले गर्दा सम्झौता भएको ६ वर्षसम्म पनि जुनार चीन जान नसकेको उनको भनाइ छ।

‘सम्झौता गर्दा भएको सानो त्रुटिले हालसम्म जुनार चीन पठाउन सकिएन,’ उनले भने, ‘बगैंचा रोगमुक्त हुँदैन उत्पादित फलचाहि रोग किरामुक्त भनेर सम्झौता सच्याउन सके जुनार चीन पठाउन सकिन्छ ।’ उनले सरकारले नीतिगत तहबाटै यो बुँदा सच्याए सहजै जुनार चीन जाने बताए । सुन्तला जातको बगैंचा अनुगमन गरिने र विभिन्न सात प्रकारका रोग किरामुक्त बगैंचा हुनुपर्ने उल्लेख गरिएको छ।

सम्झौतामा भनिए अनुसार सुन्तला जातको फलफूलको बगैंचा अनुगमन गरिने छ र विभिन्न सात प्रकारका क्वारेन्टाइन बाली शत्रुबाट मुक्त भेटिनुपर्नेछ । यदि तिनीहरुमध्ये कुनै बालीमा शत्रु भेटियो भने सम्बन्धित बगैंचा उक्त सिजनको निम्ति चीनमा सुन्तला जातका फलफूल निर्यात गर्न प्रतिबन्धित हुनेछन् । सम्झौता पत्रमै यसरी बगैंचानै शत्रुमुक्त हुनुपर्ने भनिएपछि सिन्धुलीको जुनार चीनमा जान नसकेको हुनसक्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जुनार सुपर जोन)का कार्यालय प्रमुख देवराज अधिकारी बताउँछन्।

‘सम्झौतामा बगैंचा नै रोग किरामुक्त हुनुपर्ने भनिएपछि पहाडी जिल्लाका बगैंचामा त्यो सम्भव हुन सकेन,’ उनले भने, ‘त्यसैले हालसम्म चीनमा जुनार सुन्तला निर्यात भएको छैन ।’ चीनमा जुनार निर्यात गर्न नमुनासमेत पठाइएको थियो । जुनार निर्यात गर्न सहमति हुँदा पनि सामान्य त्रुटिका कारण सम्झौता अनुसारको फल चीनमा निर्यात गर्न नसकिएको हो।

सिन्धुली क्षेत्र नं. १ का संघिय सांसद चीनले मागेअनुसारको जुनार उत्पादन नभएकाले चीन नपठाइएको बताउछन् । सम्झौता पत्रमा के लेखेको छ त्यो मैले हेरेको छैन, तर पर्याप्त जुनार उत्पादननै हुन सकेको छैन, उनले नागरिकसँग भने । किसानहरुले उत्पादन गरेको जुनारलाई बजारको कुनै समस्या नभएको र चीनको माग अनुसार उत्पादन नभएकाले चीन नगएको उनको भनाई छ । तर जुनारका बिज्ञहरु भने सम्झौतामा त्रुटि हुदा किसानले उत्पादन गरेको फल चाइना पठाउन नसकिएको बताउछन् । सिन्धुलीको जुनार चाइना जाने हो भने हालको भन्दा झन्डै दोब्बर बढी आम्दानी किसानले लिन सक्ने छन्।

प्रकाशित: २० माघ २०७५ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App