८ वैशाख २०८१ शनिबार
अर्थ

झापामा थुप्रिए योजना

झापाको दमकमा निर्माण हुने भनिएको १८ तल्ले भ्यू टावरको स्केच। तस्बिरः नागरिक

दमक – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा योजना थुपारेको छ। दमकमा बाहेक जिल्लाका अन्य भागमा दीर्घकालीन महत्व राख्ने योजना छैनन्।

दमक, कमल गाउँपालिका र गौरादह नगरपालिकामा २२ सय बिगाहमा औद्योगिक पार्क बनाउन ओलीले चीनसँग अघिल्लोपटक प्रधानमन्त्री हुँदै समझदारी गरेका थिए। यसैअनुसार औद्योगिक पार्कका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ। दमकको उत्तरी क्षेत्रमा विश्वको सबैभन्दा अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालय बनाउने सरकारको योजना छ। यसमा  चीनसँगै दक्षिण कोरिया, म्यानमार, भियतनाम जस्ता मुलुकको लगानी रहने छ। ओलीले गत असारमा चीन भ्रमणका क्रममा गरेको समझदारी अनुरुप झापाका सबै नदीमा तटबन्ध लगाइने भएको छ। चिनियाँ प्राविधिक टोलीले स्थलगत अनुगमन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। झापाका नौवटा नदीमा तटबन्ध लगाउने काम यसै वर्षबाट चीनले गर्दैछ।

दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टराईले विगतका चुनावमा पहुँच भएर पनि काम गर्न नसकेको आलोचना खेपेका ओलीले यसपटक प्रतिबद्धता पूरा गरेको बताए। अघिल्ला चुनावमा ओलीले रतुवा नदीमा तटबन्धको विषय उठाए पनि काम नगरेको भनेर आलोचना भएको थियो।

भट्टराईका अनुसार स्थानीयवासीले कल्पनै नगरेको दक्षिण एसियाकै ठूलो औद्योगिक क्षेत्र दमकमा बन्दैछ। ओलीले भारतसँग मात्रै निर्भर रहने परम्परा तोड्दै चीनसँग सम्बन्ध विस्तार गरे। ‘भारतले नाकाबन्दी लगायो, चीनले इन्धन दियो, भट्टराईले भने, ‘चीनले ओली गृहक्षेत्रको विकासमा चासो राख्नु स्वाभाविक हो।’

सरकारकै पहलमा चीन नेपाल इन्डस्ट्रियल पार्कका लागि जग्गा अधिग्रहण सकेर मुआब्जा वितरणको काम भइरहेको छ। औद्योगिक पार्क बनाउन आवश्यक २२ सय बिगाह जग्गा अधिग्रहणको काम सुरु भएको छ। पार्क बनाउन नौ सय ४२ बिगाह जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटका नाममा आइसकेको छ। चार सय २१ बिगाहको मुआब्जा वितरण भइरहेको छ। लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले मुलुकको महत्वपूर्ण मानिएको औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको काम अघि बढेको र मुआब्जा वितरण भइरहेको बताए।

कमल, गौरादहतिरका जग्गा अधिग्रहण भइरहेको छ। स्थानीयले सडक निर्माणसँगै अन्य पूर्वाधार विकासको काम पनि सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।

दमकको उत्तरी क्षेत्रमा पाँच सय ४२ फिट अग्लो बुद्ध मूर्तिका लागि जग्गा अधिग्रहण र प्राप्तिको काम भने अघि बढेको छैन। निर्माणस्थलमा सामुदायिक वन भएकाले जग्गा प्राप्तिमा समस्या छ। वन क्षेत्रलाई संघ र प्रदेशको साझा अधिकारका रुपमा संविधानमा व्याख्या गरिएकाले जग्गा प्राप्तिमा कठिनाइ भएको दमक नगरपालिकाले बताएको छ।

दमकमा सभागृह निर्माणले पनि गति लिएको छ। भ्यू टावरको टेन्डर प्रक्रिया अघि बढेको छ। सहरी विकास मन्त्रालयअन्र्तगत निर्माण हुने यी दुवै योजनासम्पन्न भएपछि नगरपालिकाको स्वामित्वमा आउने छन्। २८ करोड ४० लाख रुपैयाँकोे लागतमा सभागृह निर्माणको काम भइरहेको छ।

सुरुमा एक अर्ब ५५ करोड रुपैयाँ लागतमा निर्माणको तयारी थालिएको भ्यू टावरको लागत अहिले बढेर विस्तृत परियोजना प्रतिवेदनमा दुई अर्ब ७४ करोड लाग्ने अनुमान छ। यो १८ तल्लाको हुनेछ।

दमक–३ मा निर्माण हुने मूर्तिको डिपीआर तयार भइसकेको छ। नगरपालिकाका अनुसार अब दातासँग छलफलपछि त्यसको काम अघि बढ्ने छ। १५ अर्ब ७५ करोडको लागतमा निर्माण हुन लागेको यो परियोजना दुई सय ६५ बिगाहमा रहने छ। बुद्ध मूर्ति बन्ने भनिएको दमक–३ का वडाअध्यक्ष नविन बरालले जग्गा प्राप्तिको काम अघि बढेको बताए। लुम्बिनीसम्म आएका पर्यटकलाई दमक ल्याउने तयारी गरिएको हो। मूर्तिसँगै बौद्ध विश्वविद्यालय, पाठशाला र ध्यानकेन्द्र बनाइने छ।

यस्तै, झापाका सबैभन्दा बढी क्षति गर्ने रतुवा, कन्काई, बिरिङजस्ता नदीमा तटबन्धका लागि चिनियाँ अधिकारीले १० दिनसम्म स्थलगत अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएका छन्। जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले नदीको कटान नियन्त्रण भए झापाको सबै भूभाग सुरक्षित रहने दाबी गरे। नदीको कटान नियन्त्रण भए झापा बर्खाभर सुरक्षित रहनेछ, पोर्तेलले भने, चीनियाँ पक्ष समेत यसमा सकारात्मक छ।

टोलीले झापा भएर बग्ने कन्काई, बिरिङ, कमल, सतासी, रतुवा, मावालगायत नौ नदीको प्रारम्भिक सर्वेक्षण गरी तटबन्धनका साथै कटानको स्थायी समाधान खोज्नेछ। प्रधानमन्त्रीका जनसम्पर्क तथा विकास कार्यक्रम विज्ञ होमबहादुर थापाले चिनियाँ अध्ययन टोलीले नदीहरुको अध्ययन सकेर नेपाल सरकारलाई प्रतिवेदन बुझाएको बताए। जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका सिनियर इन्जिनियर अरबिन्दकुमार गुप्ताका अनुसार अध्ययन गरिएका खोलाको दुवैतर्फ ३० देखि ३५ किलोमिटरसम्म स्थायी बाँध निर्माणको लक्ष्य छ। झापाका नदीहरूमा मात्र यस्ता प्रकारको बाँध पाँच सय किलोमिटरको हाराहारीमा निर्माण हुनेछन्।

विवादमा रंगशाला
झापाको कमल गाउँपालिका–५ मा निर्माण हुने भनिएको आदिबासी रंगशाला विवादमा छ। ३५ बिगाहभन्दा बढी क्षेत्रफल रहेको इलाकामा २०६७ साल अगाडि कंक्रिट चिहान थिए। दुई सय ३३ वटा चिहान हटाएर त्यहाँ रंगशाला र स्मृति पार्क बनाउने तयारी अघि बढेको थियो। आदिबासी रंगशाला निर्माण समितिका अध्यक्ष हुकुमसिंह राईले नेकपा पक्षधरको अनावश्यक विवादका कारण काम रोकिएको बताए।

प्रकाशित: २० माघ २०७५ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App