वीरगन्ज – अहिलेसम्म नेपाली आयातकर्ताको प्रतिनिधि भएर कोलकतामा काम गर्दै आएका ‘कार्गो ह्यान्डलिङ एजेन्ट’ (सिएचए)ले हडताल गर्दा पिदेशबाट नेपालका लागि मालसामान बोकेर आएका पाँच सयभन्दा बढी कन्टेनर कोलकातामै अड्किएका छन्। तेस्रो मुलुकसँगको व्यपारमा नेपाल अब सिधै गन्तव्य हुने भएपछि आफ्नो भूमिका आवश्यक नपर्ने देखेर कोलकातामा रहेका सिएचएले हडताल गरेको आयातकर्ताको भनाइ छ। यता वीरगन्ज सुक्खा बन्दरगाहबाट फिर्ता कन्टेनर लिएर गएका नौवटा रेक बन्दरगाह पुग्न सकेका छैनन्।
कोलकाता भएर हुने नेपालको ढुवानी अहिले लगभग ठप्प छ। दुई देशबीच औपचारिक सहमति भएअनुसार आउँदो फागुन ३ देखि कोलकाताबाट ‘इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम’ (इसिटिएस) जडान गरी सिधै कन्टेनर रेलमा लोड गरेर नेपाल पठाउने व्यवस्था लागू हुँदैछ। यसले गर्दा भारतीय बन्दरगाहमा भन्सार प्रक्रिया र कागजी औपचारिकता हट्ने भएपछि सिएचएको भूमिका पनि हट्दैछ। ट्रान्सपोर्ट व्यवसायमा समेत संलग्न रहेका सिएचएले प्रतिक्रिया देखाउँदै झमेला खडा गरेको आयातकर्ता बताउँछन्।
‘भारत सरकारले लागू गरेको र नेपाल सरकारले स्वीकार गरेको नयाँ व्यवस्था कार्यन्यवन भएपछि फागुन ३ पछि आउने कन्साइन्मेन्ट (खेप)को अवस्था फरक होला। अहिले भने साबिक व्यवस्था अनुरुप आयात भएका कन्साइमेन्टलाई लिएर समस्या देखिएको हो,’ नेपाल उद्योग वाािणज्य महासंघको स्थल यातायात पारवहन समितिका संयोजक अशोक टेमानीले भने, ‘कागजात सिएचएले बुझिलिएका छन्, काम रोकेका छन्। हाम्रा पाँच सयभन्दा बढी कन्टेनर अहिलेसम्ममा कोलकातामा फसेका छन्, यसलाई निकाल्न कोलकाता पोर्ट ट्रस्ट र त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले पहल गर्नुपर्छ, अन्य सरोकारवालाले समेत यसमा मूमिका खेल्नुपर्छ।’
सिएचएले आयातसम्बन्धी कागजात फिर्ता गरेर समाधान खोज्न आफूहरुको आग्रह रहेको उनले बताए। सिएचएले यसअघि गरेका कामको भुक्तानी नेपाली आयातकर्ताकहाँ बक्यौता रहेको बताइएको छ। सो रकम व्यापारिक सौदा अनुसार तय भएकाले तिर्न समस्या नरहेको टेमानीको भनाइ छ।
वीरगन्ज उद्योग वाािण्ज्य संघका अध्यक्ष गोपाल केडियाले आफूहरुले कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमार्फत पहल गरिरहेको बताए। ‘नेपालका महावाणिज्यदूत एकनारायाण अर्यालज्यूसँग कुरा भएको छ, उहाँले भारतीय पक्षसँग लागातार छलफल भइरहेको बताउनुभएको छ,’ केडियाले भने, ‘भारत सरकारको तर्फबाट भएको निर्णय कार्यान्यवनको सबाल रहेकोले यसमा भारतीय पक्षले उचित भूमिका खेल्नेमा नेपाली महावाणिज्यदूतज्यू विश्वस्त देखिनुहुन्छ।’
कोलकातामा रहेका नेपाली महावाणिज्यदूत अर्यालले सिएचएको हडताल घोषणा हुनुअघि प्रक्रियमा गइसकेका कन्टेनर त्यहाँबाट निकासी हुन समस्या नरहेको बताए। हडताल घोषणापछि र फागुन ३ सम्म आइपुग्ने करिब हजारवटा कन्टेनर ढुवानीमा आन्योल देखिएको छ। रेलमार्फत कन्टेनर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह आइपुग्ने हो। सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका अनुसार नौवटा रेक (९० कन्टेनर बोकेको मालबाहक रेल)मा रहेका आठ सय ८० कन्टेनर यताबाट फर्किने क्रममा बाटोमै अल्मलिएका छन्। यसमध्ये एउटा रेकमा नेपालबाट निर्यात भएका मालवस्तु छन्। बाँकी आठ रेकमा खाली कन्टेनर। ‘कन्टेनर ढुवानी चेन जस्तो हुन्छ। चलिरहनु पर्छ। उताबाट कन्टेनर बोकेका रेल निकासी भए पो यताबाट खाली कन्टेनर लिएका रेक त्यहाँ भित्रिन्छन्, कोलकाता बन्दरगाह र माजरहाट दुवै ठाउँबाट रेक निस्किन पाएका छैनन्,’ हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, ‘कोलकाताबाट कुनै पनि रेक न यहाँको लागि हिँडेको छ, न यताबाट गएका रेल त्यहाँ पस्न पाएका छन्।’
नेपाली कन्टेनर रेलमार्फत ढुवानी गर्ने सेवा प्रदायक भारतीय कन्टेनर निगम लिमिटेडले पछिल्लो समयमा वीरगन्ज सुक्खा बन्दरगाहका लागि महिनामा २२ वटासम्म रेक दिन थालेपछि कोलकातामा केही महिनायता ‘कन्जेसन’ (जाम) हटेको चौधरीले बताए। यतिखेर सिएचएको हडतालले समस्या पारेको उनले बताए। नेपालले प्रयोग गर्ने भारतका बन्दरगाह ‘ट्रान्ससिपमेन्ट’ (कन्टेनर ढुवानीको एउटा साधनबाट अर्कोमा हालेर अगाडि बढाउने) थलो मात्र हुने व्यवस्था पहिले विशाखापटनम बन्दरगाहबाट हुने आयातमा लागू थियो। अब कोलकाता र हल्दियामा पनि लागू हुने छ। अहिले सिएचएलाई अपाच्य भएको व्यवस्था लागू हुँदा नेपाललाई फाइदा छ। तेस्रो मुलुकसँगको नेपालको व्यापारका लागि प्रयोगमा रहेका तीनवटै बन्दरगाहमा कागजी झन्झट र भन्सार प्रक्रिया हटाइएपछि आयातमा लाग्ने अधिक समय, जरिवाना र अरु अनावश्यक खर्च कटौती हुने हुँदा ठूलो राहत पाइने सरोकारवालाले बताएका छन्।
प्रकाशित: २० माघ २०७५ ०१:०० आइतबार