coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दसैंको अवसरमा मोबाइलमा अफरै अफर

काठमाडौं-  ओइलाएको बजारलाई दसैं–तिहार जस्ता पर्वले सक्रिय बनाउँछ। त्यसको प्रभाव मोबाइल बजारमा पनि सकारात्मक रुपले बढ्दै गएको छ। कम्पनीहरुको चाडपर्व लक्षित अफरका कारण उपभोक्ता झनै् आकर्षित हुँदै गएका छन्। कम्पनीले मोबाइल खरिदमा छुट, फुल क्यास ब्याक तथा विभिन्न देशको टुरसम्मका अफर सार्वजानिक गरेका छन्।

सर्वाधिक चल्तीमा रहेको भनिएको सामसङले स्मार्टफोनमा हरेक दिन लखपति अफर सार्वजानिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको अफरमा ४० दिनसम्म ४० लाख जित्न सक्ने अफर छ। यस योजनामा हरेक दिन ३ जनालाई सामसङ गियर एस २, सामसङ लेभल लगायत उपहार छन् । साथै कम्पनीले विभिन्न छुट समेत दिएको छ । 

सामसङका एचएचपी डिभिजन प्रमुख प्रनय रत्न स्थापितले १० हजारदेखि २५ हजारसम्मका मोबाइल बढी बिक्री भएको जानकारी दिए । ‘हरेक दिन १ लाख जित्ने अफरलाई लाइभ प्रस्तुत गर्ने गर्छौं । कम्पनीको उपहार योजनामा ग्राहक आकर्षित छन्,’ उनले भने, ‘हामीले लक्ष्यभन्दा धेरै राम्रो व्यापर गरिरहेका छौं ।’

लेनोभो स्मार्टफोनले ‘विनान्जा’ अफर सार्वजानिक गर्दै बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्ने अवसर दिएको छ । ‘विनान्जा, अब जित छ पक्का’ अफर अन्तर्गत हरेक साता हुने लक्की ड्रमार्फत लेनोभो ट्याबलेट तथा नोट बुक जित्नुका साथै स्योर सट अन्तर्गत ग्राहकले चाँदीको सिक्का, टिसर्ट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ८ जिबीको मेमोरी कार्ड, पावर ब्यांक र ब्लुटुथ हेडसेटलगायत उपहार पनि स्योर सटमा छन् । कम्पनीको आधिकारिक वितरक लाइफकम प्रालिले दसैं, तिहार र छठको अवसर पारेर उक्त योजना ल्याएको हो ।

माइक्रोम्याक्स कम्पनीले ‘उपहार म्याक्सिमम, खुसी म्याक्सिमम’ नारासहित म्याक्स उत्सव घोषणा गरेको छ । यसको स्मार्टफोन खरिदमा बम्पर पुरस्कार अन्तर्गत सुजुकीको मोटरसाइकल जित्ने अवसर छ। त्यसैगरी, हरेक माइक्रोम्याक्स स्मार्टफोन किन्दा ग्राहकले स्योर सटको नगद छुट प्राप्त गर्न सक्छन्। लक्की ड्रमार्फत ५ जनालाई एलइडी दिने र एक जोडीलाई दुुबई घुमाउने कम्पनीको योजना छ।

माइक्रोम्याक्सको आधिकारिक विक्रेता पशुपति ट्रेड लिंकका नेसनल ट्रेड म्यानेजर भुपाल क्षेत्रीले चाडपर्व लक्षित अफरका कारण व्यापारमा उलेख्य वृद्धि भएको बताए । ‘चाडपर्वमा ग्राहकले नयाँ मोबाइल किन्न चाहने हुँदा व्यापार बढ्दै गएको छ,’ उनले भने, ‘५ हजारदेखि २५ हजारसम्मका सेट धेरै बिक्री हुन्छन्।’

पानासोनिक मोबाइलको आधिकारिक बिक्रेता एलाइड ट्रेड लिंक इन्टरनेसनलले ‘पानासोनिक शतप्रतिशत क्यास ब्याक’ अफर सार्वजानिक गरेको छ । जसमा हरेक दिन लक्की ड्रमार्फत ५ जनाले स्मार्टफोनको मूल्य बराबरकै नगद फिर्ता पाउनेछन् । मोबाइल खरिदकर्ताले किनेको सेटको आइएमइआई नम्बर कम्पनीले प्रदान गरेको एसएमएस सर्भिसमा सम्प्रेषण गर्दै योजनामा सहभागी हुन सक्ने बताइएको छ ।

जेडटिई एस जेडटिई स्मार्टफोनले क्यास ब्याक अफर सार्वजानिक गरेको छ । सो योजनामा कम्पनीका कुनै पनि मोबाइल किन्दा ५ सयदेखि २ हजारसम्म छुट प्राप्त गर्न सकिने छ । जेडटिई स्मार्टफोनको अधिकृत बिक्रेता इभोलुसन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा ल्याएको हो । कम्पनीका अनुसार सो मोबाइल खरिदमा ‘दसैं क्यास ब्याक अफर’ समेत सार्वजनिक गरिएको छ । 

यस्तै, जियोनी स्मार्टफोनले पनि जियोनी उत्सव अफर दुबई सफर योजना सार्वजानिक गरेको छ । असोज ४ देखि कात्तिक १५ गतेसम्म रहने सो योजनामा स्क्र्याच कार्डमार्फत दुबई ट्रिप जित्न सकिन्छ । त्यस्तै मोबाइल खरिदमा मोबाइल सेट तथा पक्का उपहारसमेत रहेका छन् ।

जियोनी मोबाइलको आधिकारिक विक्रेता टेलिटक प्रालिका निर्देशक सञ्जय अग्रवाल भने अपेक्षित बिक्री नभए पनि क्रमिक रुपमा व्यापार वृद्धि हुँदै गएको बताउँछन् । उनले भने, ‘क्यामेरा, कलर, जिबी, ¥याम लगायत फिचर नै ग्राहकका प्राथमिकतामा पर्छन् ।’ जियोनीका १५ हजारदेखि ३० हजारका मोबाइल धेरै बिक्री भएको उनले बताए ।

ह्वावे कम्पनीले पनि ‘प्राइज एक सा एक, यो दसैमा भाग्यशाली अनेक’ उपहार योजना जारी गरेको छ । कम्पनीका स्मार्टफोन किन्दा हात खालि नजाने उपहार छन् । कम्पनीले दसैंको अवसरमा मूल्यमा समेत छुट दिएको दाबी गरेको छ ।

ह्वावेका मार्केटिङ म्यानेजर सुमित प्रधानांगले ग्राहकको रोजाइमा क्वालिटी र ब्रान्ड नै पर्ने गरेको बताए । उनले दसैं–तिहार जस्ता पर्वसँगै व्यापार बढेको बताए । कम्पनीले दिने अफरले पनि उपभोक्ता आकर्षित हुने गरेको उनको बुझाइ छ ।

लाभा मोबाइलले पनि ह्विलस एन्ड थ्रिल्स योजनामा ‘बबाल छ अफर कार, बाइक र बैंकक सफर’ ल्याएको छ । जसमा साप्ताहिक उपहार अन्तर्गत ८ जनालाई थाइल्यान्ड टुरको व्याकेज छ । हरेक १५ दिनमा एकजनालाई उपहारमा ४ जनालाई बुलेट बाइक छ भने बम्परमा एकजनालाई कार दिने योजना छ। दसैंलक्षित योजनामा ३२ इन्चको एलइडी टिभी ३२ जनालाई र दैनिक उपहारमा १ सय २० जनालाई लाभा स्मार्टफोन उपहार छ ।

यसैगरि ओप्पो, मेजु, कलर्स, माइक्रोम्याक्स, एलजी, सिजी, जेडटिई, ओबिआई, कार्बन, डिटसी वन प्लस, रेज, इनफोकसलगायत मोबाइलले पनि दशै तिहार अफर ल्याएर प्रतिस्पर्धा गर्न कम्मर कसेका छन्।

प्रकाशित: १९ आश्विन २०७३ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App