coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रेमको प्रतिक रानीमहल संरक्षणमा सरकार लाग्छ : मन्त्री ज्ञवाली

रानीमहलमा मन्त्री खतिवडा र ज्ञवाली। तस्बिर : मुक्तिप्रसाद/नागरिक

पाल्पा - दुई मन्त्री शनिबार सुटुक्क रानीमहल पुगे। कालीगण्डकी किनारामा अवस्थित करिडोरको अवस्था बुझ्नेक्रममा दुई मन्त्रीले रानीमहलको निरीक्षण समेत गरेका छन्। उनीहरुले नेपाल पर्यटनको हव भएको तर प्रचारप्रसारलाई अझ अन्तर्राष्ट्रियकरण गर्न नसकेको बताए।

अर्थमन्त्री डा. युवराज खतिवडाले कालीगण्डकी करिडोरमा बजेटको अभाव हुन नदिने बताए। उनले करिडोरको केही अप्ठ्यारो खण्ड सेनालाई दिन सकिने बताए। उनी भन्छन्, ‘जहाँ कठीन कामहरु गर्नुपर्ने हुन्छ, त्यहाँ हामीले नेपाली सेनालाई विश्वास गरेका छौं। मालढुङ्गा–पालुङखोलासम्मको खण्ड सेनालाई जिम्मा दिएर शिलान्यास गरेर आएका छौं। बाँकी खण्डमा पनि आवश्यक परेमा सेनालाई दिन सकिन्छ। ठेक्का लिएका ठेकेदारहरुलाई पनि ताकेता गर्छौं। काम निरन्तर गर्नुहोला।’

'सार्वजनिक खरीद ऐन नियमावलीमा देखिएका कमजोरी आउँदो क्याविनेटबाटै पास गर्छौं। सार्वजनिक खरीद ऐन आफैलाई संशोधन गरेर अलि बलियो बनाउने काम गर्छौं। निर्माणमा अवरोध नहुँदा नहुँदै, स्रोतको अभाव नहुँदा नहुँदै निर्माणमा ढिलो गर्ने ठेकेदारप्रति सरकार उदार हुन सक्दैन', अर्थमन्त्री खतिवडाले भने, 'कालीगण्डकीमा साहसिक पर्यटनसँग सम्बन्धित काम गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।'

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रानीमहल नेपालकै सुन्दर स्थान भएको बताए। परराष्ट्रमन्त्री ज्ञवालीले रानीमहलको इतिहास र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न नसकिएको बताए। ‘नदीको किनारमा यति सुन्दर भू-बनोटमा रानीमहल छ। जतिधेरै प्रचार गर्न सक्यो त्यति धेरै पर्यटक आवागमन हुन्छ। रानीमहलको सुरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्छ। तल कालीगण्डकी बगेको छ। यसको जगलाई धक्का पुग्न सक्छ। माथी कालीगण्डकी करिडोर खनिरहेका छौं। यसभित्रको सुरक्षाका कुराहरु छन्। बाह्य सुन्दरताको सुरक्षामा हामीले ध्यान दिनुपर्छ।', परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘ याे देशकै एउटा महत्वपूर्ण पर्यटकीय सम्पदा हो। यो प्रेमको प्रतिक हो। यसले लाखौं पर्यटक भित्र्याउन सक्छ। अब मदनभण्डारी राजमार्ग र कालीगण्डकी करिडोरको पहुँचमा रानीमहल हुन्छ। यसको संरक्षणमा सरकार लाग्नेछ।’

दुई मन्त्रीहरुलाई तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले रानीमहल संरक्षणको जिम्मेवारी स्थानीय तहमा आएको भएता पनि बजेटको अभावमा काम गर्न नसकिएको बताए। उनले संघीय सरकारले रानीमहल, करिडोर र रुरु क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न मागपत्र समेत पेश गरे। उनी भन्छन्, ‘हिन्दुहरुको महत्वपूर्ण केन्द्र ऋषिकेश्वर (रुरु धाम) धार्मिक पर्यटनको क्षेत्र हो। यसमा संघीय सरकार नै लाग्नुपर्छ।’

मन्त्रीहरु हेलिकप्टरमा रानीमहल पुगेका हुन्। तानसेन नगरपालिका-१३ स्थित ऐतिहासिक रानीमहल (रानीघाट दरबार) संघीय सरकारले स्थानीय सरकार मातहत रहने गरी गत साउन १० गते पुरातत्व विभागले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो। तानसेनदेखि दुई घण्टाको पैदल दूरीमा रानीमहल पुग्न सकिन्छ।

सच्चा प्रेमको प्रतिक ठानिने रानीमहल विसं १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिम तर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सदिक्षा र सम्झनामा निर्माण गरेका थिए। त्यहि कारणले गर्दा दरबार अवलोकन गर्न जानेहरु मध्ये अधिकांश युगल जोडीहरु रहने गरेका छन्। प्रणय दिवस (भ्यालेन्टाईन डे) फेब्रुअरी १४ का दिन यस क्षेत्रमा मेला नै लाग्ने गर्दछ। १९५० सालमा शिलान्यास गरि १९५४ सालमा महल निर्माण सम्पन्न भएको थियो। 

 

प्रकाशित: १९ माघ २०७५ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App