८ वैशाख २०८१ शनिबार
समाज

मलेसियादेखि मसानघाट सम्म....

काठमाडौं– जिन्दगी सोचेको जस्तो भइदिन्थ्यो त आज सल्यानका डम्बर खड्का गाउँकै कुनै रेमिट्यान्स कम्पनीमा भाईले मलेसियामा दुःख गरेर पठाएको पैसा निकाल्दै हुन्थें। तर वैदेशिक रोजगारको यात्रा कहाँ सहज छ र! विदेशिएका नेपालीको कथा त यति कहाली लाग्दो छन् कि ति घाउ जीवनभर बिझाई रहनेगरी बसिदिन्छ परिवारमा।
उमेरले २० वर्षमा हिड्दै गरेका सल्यान स्यानिखाल(हालको सारदा नगरपालिका)का सुशील खड्का विदेश जाने भन्दै पासपोर्ट बनाउन काठमाडौं आउँछन्। पासपोर्ट बनाउन आएकै बेला सुशीलले दाईलाई केही दिनमै आफ्नो उडान हुने भएकाले घर नफर्किने सुनाउँछन्। तर मेनपावरले केही दिनपछि मात्र उडान हुने भनेपछि सुशील घर त फर्किए तर दाजुभाई बीच भेट हुन सकेन।


सायद नियति यस्तै लेखिएको रहेछ। आफ्नै भाईलाई विदेश उडाउने त टाढाको कुरा एकपटक अनुहारसम्म हेर्न नपाएको नै एक वर्ष भएको थियो। तर दैवको लिला कहिलेकाहीँ भगवान पनि यति निष्ठुरी बनिदिँदा रहेछन कि दाजु भाईलाई भेट नगराई एक अर्काबाट सधैंका लागि टाढा गराइदिए। विदेश उड्नु एक वर्षअघि सुशीललाई भेटेका डम्बर ३ वर्षपछि भाई मलेसियाबाट फर्किंदा एयरपोर्टमा भेट्ने सपना बुन्दै थिए। तर विडम्बना भाई मलेसिया गएको ८ महिनापछि एयरपोर्ट पुगेका डम्बर सुशील बन्द भएर आएको बाकस बुझ्न बाध्य हुन्छन्।

भाईसँग छुट्टिएको असह्य पीडा थियो मनमा।  त्यही भएर डम्बरले सुशीलसँगै काम गर्ने उनका सहपाठीलाई ‘बाबु एक वर्षपछि भाईलाई नेपाल पठाई दिनु’ भनेका थिए। तर एक वर्षपछि भाई आउँला भन्ने प्रतिक्षामा बसेका डम्बरको भाग्यमा भाईको फोटो हेरेर जिन्दगी काट्ने लेखान्त लेखियो। मलेसिया गएको ८ महिनामै सुशील नेपाल त आए तर बन्द बाकसमा।
डम्बरको सम्झनामा सल्यान जिल्लामै यो दोस्रो घटनाको हो नियतिले यसरी ठगेको। सायद त्यसैले पनि १६ घण्टा लामो यात्रा गर्दै काठमाडौंदेखि सल्यानको स्यानीखाल गाउँ पुग्दा पुरै गाउँ शोकमा डुबेको थियो।

कान्छो छोरो विदेश गए पनि बाबुको कर्तव्य पुरा गर्दै गरेका भरतमणी बुढेसकालको बाँकी जीवन २ छोराको सहारामा बिताउने योजना बुन्दै हुन्छन्। कर्म त राम्रै थियो भरतमणीको। तर भाग्यले भने उनलाई सधैं ठग्छ। अनि नियति यस्तो बनिदिन्छ कि छोराले दागबत्ती दिनुपर्नेमा बाबुले छोराको शवमा दागबत्ती दिनुपर्छ। भरतमणीको भाग्यमा यो भन्दा ठूलो बज्रपात अरु के पर्ला र! तर आफ्नो कर्मै यस्तो रहेछ भनेर चित्त बुझाउने बाहेक भरतमणीका अगाडि अन्य विकल्प बाँकी रहेन।
एक त परदेशको ठाउँ झन् उमेरले पनि सानै उमेरमा विदेशिएका सुशील आफ्नो पीडा परिवारबाट लुकाउन चाहन्थे। सयाद त्यसैले होला सुशील आमासँग कामको बारेमा त्यति खुलेर भन्दैनथे। झन् परिवारसँग बिछोडिएको पीडाले सुशीललाई भत्भती पोल्थ्यो। कान्छो छोरो सधैंका लागि टाढा भएको चिन्ताले सुशीलकी आमा भरतमणीलाई बेलाबेला ‘फोन लगाउनु न कान्छोसँग कुरा गरौ’ भनेको अहिले पनि झल्झली सम्झिन्छिन्।

निड इम्प्लोइमेन्ट मेनपावरमा १ लाख ४० हजार तिरेर मलेसिया गएका सुशील विदेश जाँदा लागेको ऋण चाँडै तिर्न अहोरात्र खट्न थाल्छन। त्यसैले होला दैनिक १२ घण्टा काम गर्छन किनकी परिवारमाथि लागेको अरु ६/७ लाख ऋणको केही भार उनको काँधमाथि पनि थियो। तर परिवारबाट कामको पीडा टाढा राख्न खोज्दा खोज्दै सुशील भने सधैंका लागि अनि सबैबाट टाढा हुन्छन्।
करिव डेढ लाख मेनपावरले असुले पनि आफैले मलेसिया पठाएको कामदार त्यस्तो भवितव्यमा पर्दा समेत सुशीलको परिवारलाई मेनपावरले एक रुपैयाँ सहयोग गरेन। भाईको शव जल्दै गर्दा बिपत्तिमाथि मेनपावरले दिएको अर्को चोटले डम्बर त्यही नदी किनारमा बसेर उनलाई विदेश नजान भनेको सम्झिन्छन्। डम्बरको मृत्यु कसरी भयो भनेर अहिलेसम्म खुल्न सकेको छैन। उनी कामगर्ने कम्पनीले पनि उनको मृत्यु के कारणले भयो भनेर केही जानकारी नै दियो न अस्पतालको रिपोर्ट। डम्बरका अनुसार दिउसो काममा गएका सुशील साँझ कोठा फर्किएपछि खान खाएर सुतेका थिए। तर कहिल्यै नउठ्ने गरि सुते।


सन् २००० यता करिव ७ हजार नेपालीले विदेशमा ज्यान गुमाएको सरकारी तथ्यांकले देखाउछ। ति मध्ये २ हजार बढीले नेपालीले मलेसियामा ज्यान गुमाएका छन्। गत आर्थिक वर्षमा मात्र मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या करिव ३ सय रहेको छ।

विदेश गएर केही पैसा कामएर स्वदेश फर्किने र बाँकी जीवन खुसी साथ परिवारसँग बिताउने सपना देखेका औसत ३ नेपाली यसरी दिनहुँ बाकसमा कैद भएर आउँछन्। विज्ञहरु भन्छन्, यसरी विदेशमा नेपालीले ज्यान गुमाउनुको कारण विदेशिनु अघि दिइने पूर्व प्रस्थान तालिमको अभाव मुख्य कारण हो। तर विदेशमा आफूले भोगेको दुःखबाट केही क्षण भएपनि मनलाई शान्ति दिन नेपालीहरुले सेवन गर्ने मद्यपानले पनि ज्यान जाने गरेको रोजगार विज्ञ गणेश गुरुङको ठम्याई छ। उनी पनि यस्ता घटना रहस्यमय रहेको बताउछन्। सरकारले श्रम सम्झौता नगरेका देशमा मृत्यु हुने नेपालीको पोस्टमार्टम नै हुँदैन भने सम्झौता भएका देश सँग मृतक कामदारको पोस्टमार्टम गर्नुपर्ने व्यस्था समावेश छैन।

वैदेशिक रोजगारले मुलुकमा आर्थिक परिवर्तन ल्याएको छ तर त्यहीँ वैदेशिक रोजगारीले सामाजिक विखण्डन पनि निम्त्याएको छ। धन कमाउने सपना देख्दै विदेशिएका केही सुटकेशभरी परिवारको खुसी लिएर फर्किन्छन् तर केही भने गुमनाम हुन्छन्। भाई बिते पनि उनको सम्झनामा केही गरेर सुशीललाई अमर बनाउने डम्बरको चाहना छ।

तस्बिरहरु : दिनेश लुइटेल/नागरिक
डलरको कथाको पुरा शृंखला नागरिक नेटवर्कको युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ।

 

प्रकाशित: १९ माघ २०७५ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App