७ वैशाख २०८१ शुक्रबार
खेल

ब्रिगेड ब्वाइजसँग घरेलु टोली स्तब्ध

ब्रिगेड ब्वाइजविरुद्ध बलका लागि संघर्ष गर्दै पोखराका खेलाडी (रातो) । तस्बिरः उमेश पुन/नागरिक

पोखरा – ओम डेभलपमेन्ट बैंक पोखरा ११ को चुनौतीलाई १–० ले पन्छाउँदै क्लोज क्याम्पबीना सीधै पोखराको मैदानमा उत्रिएको ब्रिगेड ब्वाइज क्लब अन्तिम आठमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा शुक्रबार घरेलु टोलीको चुनौती पन्छाउन ब्रिगेड ब्वाइजका अफ्रिकन खेलाडी नायक बने। झन्डै सवा घण्टाको समयपछि गोलको खडेरी तोड्दै कजिम बुसारीको गोलले ब्रिगेड ब्वाइजको यात्रालाई अन्तिम आठमा पु¥यायो। पोखरा ११ प्रतियोगिताबाट बाहिरिने तेस्रो टोली बन्यो।

७२औं मिनेटमा बुसारीले गोल गर्दै जित सुनिश्चित गरे। मनोज राईको फ्रिकिकलाई घरेलु पोखरा ११ का गोलकिपर अजित पराजुलीले पन्च गरे। पन्च गरेको बल क्लियर हुन सकेन। डिफेन्सले क्लियर गर्न खोजेको बल पनि बतासिएर डी बक्सभित्र झरेपछि बुसारीले त्यसलाई सदुपयोग गरी गोल गर्दै आयोजक टोलीलाई निराश बनाए।

‘क्लोज क्याम्पबिनै पोखरामा आयौं। स्कोरिङमा समस्या रह्यो,’ बिग्रेड ब्वाइजका प्रशिक्षक कविन व्यञ्जनकारले भने। उता पोखराका सहायक प्रशिक्षक प्रह्लाद हिराचनले गोलकिपरको गल्तीमा गोल खानु नै टर्निङ प्वाइन्ट भएको बताए। खेलमा गोल गरेका बुसारी म्यान अफ दी म्याचको हकदार बने।

ब्रिग्रेड ब्वाइज पहिलो हाफमा खेल सुधार्ने पक्षमा देखिएको थियो। टिम सेट नभईकनै पोखराकै मैदानमा उत्रिँदा घरेलु टोलीको दबाब भने पहिलो हाफमा रह्यो। तर दोस्रो हाफमा लय समात्दै ब्रिगेडले खेललाई जितसम्म डाेर्याउँदै अन्तिम आठको लक्ष्यलाई पूरा गर्यो। २६औं मिनेटमा दिलेन मोक्तानको फ्रिकिक प्रभावकारी बन्न सकेन। लेफ्टसाइडको डी बक्सनजिकै पाएको बललाई उनले कभर गर्न सकेनन्।

२९औं मिनेटमा घरेलु टोलीले राम्रो अवसर गुमायो। विनोद गुरुङले बिग्रेड ब्वाइजका दुई डिफेन्सको बीचबाट बल खोस्दै डी बक्सभित्रबाट हानेको लेफ्ट सट फस्टबारनजिकैबाट बाहिरियो। जुन पहिलो हाफमा घरेलु टोलीका लागि सबैभन्दा राम्रो अवसर थियो। दोस्रो हाफमा भने घरेलु टोलीको प्रदर्शन आशा लाग्दो देखिएन।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मनकामना केवलकारको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको अन्तिम प्रिक्वार्टरफाइनल शनिबार नेपाल पुलिस क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आइतबारदेखि क्वार्टरफाइनलका सुरु हुनेछ।

प्रकाशित: १९ माघ २०७५ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App