७ वैशाख २०८१ शुक्रबार
विचार

कांग्रेसमा वंश उत्तराधिकार

नेपाली कांग्रेसमा कोइरालाहरूको अवसानपछि गुटको पनि अन्त्य होला भन्ने यसका शुभेच्छुकको अनुमान गलत साबित हुँदैछ। कांग्रेसमा नयाँ गुट जन्मन थालेका छन् र यी कति उपगुटमा विभाजित हुने हुन् अनुमान गर्न कठिन हुन थालेको छ । बीपी कोइरालाले आफ्नो जीवनको अन्तिम समयमा तीन नेतालाई स्थापित गरे । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला । गणेशमान सर्वोच्च नेता, कृष्णप्रसाद पार्टी सभापति र गिरिजाप्रसाद महामन्त्री । पार्टी तीन जनाको सहमतिमा मात्र चलोस् भन्ने बीपीको कामना थियो वा गिरिजाप्रसाद ‘फस्र्टम्यान’ हुन नसक्ने कारण यस किसिमले भए पनि कोइराला वंशको निरन्तरता बीपीको चाहना थियो । यो मान्यताले कांग्रेसलाई फेरि गुटगत राजनीतिमा धकेलिदियो। गणेशमान पञ्चायतबिरुद्ध सशक्त आन्दोलनका पक्षमा उभिए । गिरिजाप्रसाद कम्युनिस्टहरूले पञ्चायत पसेर संगठन गरेको र कांग्रेसलाई कमजोर बनाए भन्ने मान्थे । उनकै शब्दमा राजाले कांग्रेसलाई ‘स्पेस दिन्छन्’ भन्ने थियो । गिरिजा बेलाबखत राजासँग वार्ता गर्न जान्थे र निकै उत्साहित भएर फर्कन्थे । कृष्णप्रसादलाई यी दुई पक्षलाई मिलाउनमै हम्मे पथ्र्यो ।

खासमा सुवर्ण शमशेरको मृत्यु र सूर्यप्रसाद उपाध्यायको पञ्चायत प्रवेशपछि बीपी कांग्रेसका एकछत्र नेता थिए । गणेशमान र कृष्णप्रसादको उनीसँगको असहमति गुट बनाउने हदमा थिएन । भद्र असहमति थियो। कृष्णप्रसादले बीपीका बेलाबखतका हिंसात्मक मोहमा सहमति जनाएनन् । बरु मौन रहे । गणेशमानको असहमति पनि कार्यशैलीमा हुन्थ्यो । सिंहकै शब्दमा कोइरालाजीले भनिसकेपछि जस्तोसुकै असहमति पनि पचाइदिन्थे । पार्टीलाई स्वाभाविक गतिमा जान दिएको भए त्यसबेला नै गुटको अन्त्य हुन्थ्यो कि ? अथवा, गिरिजाप्रसादको अराजक शैली बुझेका बीपीले आफ्नो शेषपछि कांग्रेस एक ढिक्का बनाउने सूत्रका रूपमा नेतात्रयको अवधारणा ल्याएका थिए ।

पञ्चायतकालमै कोइराला वंशको उत्तराधिकारी बनेका गिरिजाप्रसादले प्रजातन्त्रको बहालीपछि एकपछि अर्को षड्यन्त्र गरेर सिंह र भट्टराईलाई कांग्रेसबाट पाखा लगाए र पार्टीका एकछत्र कोइराला राज चलाउन थाले। यसको कारण कांग्रेस विभाजनको अवस्थासम्म पुग्यो । कोइरालासँग वंश रह्यो, कांग्रेसको दोस्रो पुस्ता बाहिरियो । अर्को कांग्रेस बन्यो । समयक्रममा एकीकृत भए पनि कांग्रेस दुई धारमा चलेको छ । कोइराला पक्षले आफूलाई सधैँ संस्थापक दाबी गरिरह्यो । र, अर्कोलाई प्रतिपक्षी । तेह्रौँ महाधिवेशनसँगै कांग्रेस नेतृत्व कोइराला वंशबाट मुक्त रह्यो । तर, कोइराला प्रवृत्तिबिरुद्ध लडेका कांग्रेस नेताहरू नै अहिले कोइरालाको वंश धान्ने अभियानमा लागेपछि यो पार्टीमा गुटको अन्त्य होइन, गुटको नाममा स्वार्थ रक्षाको खेलमा फसेको छ ।

कांग्रेस विभाजनका बेला रामचन्द्र पौडेल प्राविधिकरूपले मात्र कोइराला वंशमा परे । निर्णय लिने क्षमता नभएकै कारण पौडेल विभाजित कांग्रेसको सभापति बन्नैलाग्दा अकस्मात कोइरालाको शरणमा पुगे। उनका नजिक मानिएका कार्यकर्ताले अब के गर्ने भनेर सोच्ने समयसमेत पाएनन् । अहिले कोइराला वंशका रक्षक बनेका रामचन्द्र, प्रकाशमान सिंह, बलबहादुर केसी, नारायण खड्काहरू खासमा गणेशमान र कृष्णप्रसादका अनुयायी थिए । बरु शेरबहादुर देउवा आफै भने कोइरालाका विश्वासपात्र थिए । तर, अनुकूलताका लागि उपयोग गर्ने र उपयोगपछि दूधको झिँगाझैँ फाल्ने गिरिजा प्रवृत्तिबिरुद्ध उनै देउवा कोइरालाका चुनौती बनेर उभिए । कोइरालाको वंश राजनीतिका बिरुद्ध लड्ने दायित्व समयले शेरबहादुरलाई दियो । गिरिजाप्रसाददेखि सुशील कोइरालाबिरुद्धसम्म उनी उभिइरहे, लडिरहे ।

कांग्रेसको यो राजनीतिक इतिहासलाई फर्केर हेर्ने हो भने कोइराला वंशको प्रतिरक्षामा उभिने कोही बाँकी छैनन् । पछिल्लो समय अकस्मात महामन्त्री बनेका कृष्णप्रसाद सिटौलासमेत कोइरालासँगको केही समयको संगतपछि नै टाढिए । र, अहिले उनी अर्को गुट खडा गर्ने कसरतमा छन् । यद्यपि, उनी कोइराला गुटको संरक्षणमा छैनन् । कोइरालाका वंशधारीहरूलाई बलियो हुन नदिन बरु देउवाका रक्षा कवच बन्ने गरेका छन् । देउवालाई सहयोग गर्ने खुमबहादुर आफूलाई गुटको नेतामा स्थापित गर्न लागिपरेका छन्। देउवालाई छाडेर कोइरालाकहाँ फर्के पनि उनी कोइराला वंश रक्षक बन्न सकेनन् र फेरि देउवाको विजयका लागि निर्णायक बने । कांग्रेसमा देउवापछिको उत्तराधिकारी बन्ने उनको प्रयास अहिले पनि जारी छ। भ्रष्टाचार काण्डमा नफसेका भए सायद खुमबहादुरलाई रोक्ने तागत कांग्रेसमा कसैको हुने थिएन ।

कुनै बेला गिरिजाप्रसादको किचेन क्याबिनेट भनेर चिनिएका गोविन्दराज जोशी, लक्ष्मण घिमिरे र विश्वासपात्र केबी गुरुङ कोइराला वंश धान्न लागेका छैनन् । पछिल्लो चुनावमा शेरबहादुरका विशेष सहयोगीका रूपमा उनीहरूको भूमिका रह्यो । कोइराला परिवारका भएकै कारण सबैभन्दा बढी मत ल्याएको ठानिएका शेखर कोइराला आफै वंश धान्नुपर्छ भन्ने मान्यतामा छैनन् । उनले खुलेरै आफू कुनै गुटमा नरहेको र कांग्रेसमात्रै रहेको बताउँदै आएका छन् । दाजु प्रकाश कोइरालाको दरबार मोहपछि कांग्रेसमा बीपी कोइरालाको उत्तराधिकारी बन्न खोजेका महामन्त्री सशांक कोइरालामा राजनीतिक अनुभव कम छ । यद्यपि, उनी सहज ढंगमा कांग्रेस राजनीतिमा स्थापित भएका छन् । उनले अहिलेसम्म कुनै चुनाव हार्नुपरेको छैन । कांग्रेस केन्द्रीय सदस्य होस् वा महामन्त्री वा सभासद्, उनले सबै चुनाव जितेका छन् । उनको व्यक्तिगत जीवनसँग बेखबर कांग्रेस कार्यकर्ताले उनको अनुहारमा बीपी देख्ने गरेका छन् । अर्कातिर, गिरिजाप्रसादकी एकमात्र सन्तान सुजाता कोइरालामा पनि कम महŒवाकांक्षा छैन । पिताको संरक्षकत्वमा राजनीतिक करिअर बनाएकी सुजातामा गिरिजाप्रसादको अनुहार खोज्न मिल्छ, तर कुनै राजनीतिक गुण वा अवगुण भेटिँदैन । त्यसकारण अबका दिन सुजाताका लागि त्यति सहज छैन ।

को हो त कोइराला वंशको उत्तराधिकारी ? रामचन्द्र ? प्रकाशमान ? बलबहादुर वा अरु कोही ? यी नामले कांग्रेसको कोइराला राजनीतिमा धर्मपुत्रको हैसियत पनि राख्दैनन् । अवसरवादी चरित्रले कोइरालाको वंश संरक्षण हुदैन । तत्तत् नेताको स्वार्थसिद्ध मात्र हुन सक्छ । पारिवारिक हिसाबमा कोइराला वंशको संरक्षण गर्ने हो भने शेखर कोइरालाले हो । बरु सशांकको सम्भावना रहला । तेस्रो कोही छैन । कोइरालाबाहेक कोही अर्को हुन्थ्यो भने शेरबहादुर वा खुमबहादर नै हुन सक्थे । तर, उनीहरू उनै कोइरालाका कोपभाजनमा परे, जसलाई राजनीतिक नेता मानेका थिए । राजनीतिक संरक्षक ठानेका थिए । 

कांग्रेसमा अब गुट छैनन् । यी सबै उपगुट हुन् । आआफ्ना स्वार्थ रक्षा राजनीतिक चरित्र हो । तर, कांग्रेस हिजो जसरी दुई अलग धारको संगम थियो, अब त्यो रहेन । कांग्रेस संगठनको पहिलो पुस्ताले साठी वर्ष धान्यो । तर, दोस्रो पुस्ता एक दशकभन्दा बढी जाने सम्भावना छैन । पहिलो पुस्ताले नेतृत्व छाड्न चाहेनमात्र होइन, नेतृत्व विकासमा ध्यानै दिएन । आत्मकेन्द्रित लोकतन्त्रमा कांग्रेस नेतृत्व सधैँ रमायो। अबको नेतृत्वले तेरो र मेरो गर्न आवश्यक छैन। कांग्रेसमा योग्य र दक्षको अभाव छैन, छ भने अवसरको अभाव छ। एउटा भ्रातृ संगठनलाई १० वर्षसम्म नेतृत्व थोपर्ने प्रवृत्तिले नेतृत्व विकास हुन सकेन । अहिले पनि कुनै अमूक व्यक्तिको जीत र हारका लागि निर्वाचन गरिनु हुँदैन । कांग्रेसलाई एक ढिक्का बनाउने अवसर अहिले देउवाको हातमा छ। उनले आफ्नो वा अरुको भन्न जरुरी छैन । योग्य र दक्ष कांग्रेसको छनोट गर्ने आधार बनाए भने सबै उपगुट समेटिन्छन् । फेरि पनि ६० र ४० को पुरानो मान्यतामा ७० र ३० को अंशियार कसैलाई बनाउनु गलत हुनेछ ।

मन्त्रिपरिषद् विस्तारमा देउवाले गुटलाई मान्यता दिएजस्तो देखिएको छ । यो उनको गलत निर्णय हो। उनले कांग्रेस रोज्ने हो। उनले योग्य छान्ने हो। अवसर नपाएकालाई मौका दिने हो। हिजो देउवाका लागि आफ्नो गुट संरक्षणको आवश्यकता थियो। तर, आज सबैको बन्ने र सबैलाई एउटै कांग्रेस बनाउने दायित्व देउवामा छ। किनकि, उनी कुनै वंशका उत्तराधिकारी होइनन्।

 

प्रकाशित: १९ आश्विन २०७३ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App