८ वैशाख २०८१ शनिबार
अन्य

रंगमञ्चमा हजारौं बालबालिका

नवराज बुढाथोकी
दशौं राष्ट्रिय बालनाटक महोत्सवसम्म आइपुग्दा १२० भन्दा बढी नाटकले प्रतिस्पर्धा गरेका छन्। यसरी तीन हजार बढी बालबालिका स्टेजमा उक्लेर अभिनय गर्न सफल भएका छन्। शैली थिएटर ०६५ सालदेखि औपचारिक रूपमा नाट्य क्षेत्रमा सक्रिय छ। मचाहिँ ०५४ देखि अभिनय र निर्देशनमा सक्रिय छु। शैली थिएटर स्थापना भएको वर्ष दिन पुग्नै लाग्दा वार्षिक उत्सवको तयारी हुँदा साथीहरूसँग प्रस्ताव राखें–बालनाटक महोत्सव गरौं।  

यस्तो प्रस्ताव राख्नुको पछाडि, म पहिलेदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेको हुनाले पनि हो। सुरुमा साथीहरूले मेरो प्रस्तावलाई त्यति मन पराए जस्तो लागेको थिएन। उहाँहरूलाई बालनाटक महोत्सव गरेर के नै हुन्छ वा गर्न सकिंदैन भन्ने लागेको हन सक्छ। मचाहिँ कसरी बालनाटक महोत्सव गर्ने भन्ने ध्याउन्नमा लाग। पछि जब साथीहरू विश्वस्त भए, तब मलाई भने शैली एक्लैले महोत्सव गर्न गाह्रो होला भन्ने लाग्न थाल्यो। किनभने महोत्सवमा नाटकहरू आउनु पर्‍यो। नाटक मात्र आएर भएन, दर्शक पनि आउनु पर्‍यो। नाटक देखाउने ठाउँ हुनु पर्‍यो। काम खर्च जुटाउनु पर्‍यो आदि।

शैली थिएटर स्थापना हुनअघि र भइसकेपछि हामीले रुसी सांस्कृतिक केन्द्र कमलपोखरीमा ‘बुइँगल भएको घर’, ‘अन्तिम गीत’ तथा ‘सरकारी निरीक्षक’ लगायतका रुसी नाटक मञ्चन गरिसकेका थियौं। त्यसकारण त्यतिबेलाका डेपुटी डिरेक्टर राजिव दवाडीसँग हाम्रो राम्रै चिनजान भइसकेको थियो। उहाँले नाटक गर्न हौसला दिइरहनु हुन्थ्यो। त्यसैले मैले उहाँलाई महोत्सवका लागि सात दिन केन्द्रको हल मिलाइदिन अनरोध गरें। उहाँले मिलाइदिनु भयो। महोत्सवका लागि ठाउँको समस्या समाधान भयो। त्यसपछि बाल साहित्यकार कात्र्तिकेय घिमिरेसँग मिलेर महोत्सव गरौं भने। उहाँ उत्साही हुनु भयो र दर्शक जुटाउने अनि टिकेट बेचेर आर्थिक स्रोत जुटाउने जिम्मा लिनु भयो।

शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र कार्तिकेय घिमिरेको संस्था मिलेर पहिलो पटक ०६६ फागुन १७ देखि २३ गतेसम्म सात दिनसम्म बालनाटक महोत्सव गर्‍यौं। दोस्रो महोत्सव ०६७ माघ २६ देखि फागुन ३ गतेसम्म भयो। दोस्रो वर्षको महोत्सवदेखि साहित्यकार घिमिरे महोत्सवमा सहभागी ह’न’ भएन। अर्को कुरा पहिलो महोत्सव प्रतियोगी थिएन। नाटकका लागि स्वस्थ प्रतिस्पर्धा होस् र गुणात्मक नाटक आऊन् भन्ने सोचले दोस्रो पटकदेखि हामीले प्रतियोगितात्मक महोत्सव मनायौं। कारण त्यो वर्ष बर्ष बाल कोसेली उत्कृष्ट नाटक, चेखब उत्कृष्ट निर्देशक, शैली उत्कृष्ट अभिनय भनेर तीन विधामा नगदको साथै अवार्ड वितरण गर्‍यौं। यसले हरेक वर्ष निरन्तरता पाउँदै गयो। पुरस्कार राशि र विधालाई पनि केही वर्ष बिराएर बढाउँदै लग्यौं।

यही सिलसिला दसौं वर्षसम्म रुसी सांस्कृतिक केन्द्रमा चलिरह्यो। दशौं राष्ट्रिय बालनाटक महोत्सव यही माघ ८ देखि १७ गतेसम्म १० दिन चल्यो। यसपाला आयोजकको समेत गरेर २० नाटक मंचन भए। यो वर्ष शैली थिएटर र रुसी सांस्कतिक केन्द्रसंगै संस्थागत विद्यालय संघ नेपाल (ईसान ) पनि महोत्सवमा जोडिन आइपुग्यो। यसपाला हामीले ६ वटा विधामा नगद तथा अवार्ड वितरण गर्‍यौं।

अब महोत्सवको उपलब्धिबारे चर्चा गरौं। पहिलो पटक नाटक महोत्सव गर्दा  आयोजकको ३ सहित ७ नाटक मात्रै मंचन भएको थियो। दशौं महोत्सवसम्म आइपुग्दा मंचनका लागि दर्ता भएका ४५ नाटकमध्ये १९ वटा छनोटमा परे। यसबाट महोत्सवप्रति विभिन्न विद्यालय, संघसंस्थाको झकाव  ब’झिन्छ। दश वर्षअघि विद्यालयहरूमा नाटक सिकाउन शिक्षक राख्ने चलन थिएन। आज प्राय    सबै निजी विद्यालयमा नाटक सिकाउने शिक्षक राखिएको छ। यसो हुनु भनेको रंगकर्मीहरूले रोजगारी पाउनु हो। अर्को कुरा प्रथम महोत्सवमा भाग लिएका बालबालिका अहिले युवा भइसकेका छन्। र उनीहरू मध्यबाटै कति रंगकर्ममा सक्रिय छन् भने कति नियमित दर्शक छन्। यसरी बालबालिकालाई सानैदेखि नाटकबारे जानकारी गराउन सक्यौं भने पछि गएर तीनै रंगमंचका बलिया खम्बा हुन्छन्।
अर्को कुरा, बालबालिकाको व्यक्तित्व विकास अनि उनीहरूको अधिकार र  जिम्मेवारीका बारेमा नाटकका माध्यमबाट अप्रत्यक्ष रूपमा जानकारी गराउन सक्नु पनि महोत्सवको उपलब्धि हो।

यति हुँदाहुँदै पनि महोत्सवमा ग्रामीण क्षेत्रका विद्यालयका बालबालिकाहरूलाई सहभागी गराउन सकिएको छैन। आधा दर्जन जिल्लामा मात्र सीमित हुनु हाम्रा कमजोरी हुन्। यसको प्रमख कारण आर्थिक पक्ष नै हो। यसलाई हामीले आउने वर्षमा चिर्दै लानु पर्छ। शुभचिन्तकहरूले यसलाई अन्तराष्ट्रिय रूपमा अगाडि बढाउने सुझाव दिएका छन्। यसमा हामी पहल गर्छौं।
अन्त्यमा, अहिलेसम्म भएका महोत्सवमा १२० भन्दा बढी नाटकले प्रतिस्पर्धा गरे भने एक दर्जन नाटक शैली थिएटर आफैले महोत्सवमा मंचन गरिसकेको छ। यसरी हेर्दा तीन हजार बढी बालबालिका स्टेजमा उक्लेर अभिनय गर्न सफल भएका छन्। दश वर्ष निरन्तर महोत्सव गर्नु आफैंमा चुनौती हो। हामीले चुनौतीलाई अवसरको रूपमा लिँदै एक दशकको सफल यात्रा तय गर्‍यौं। हाम्रो यात्रा आउँदा वर्षमा अझै परिपक्व र मजबुत भएर जानेछ। (बुढाथोकी शैली थिएटरका अध्यक्ष हुन्।)

प्रकाशित: १९ माघ २०७५ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App