मन्दिर

तानादेवी

शनिबार, १९ माघ २०७५, ०९ : २३ नागरिक

गगनदीप शर्व 

काठमाडौं दरबार क्षेत्रको तलेजु मन्दिर नजिकै तानादेवीको मन्दिर छ। तानादेवी तलेजु भन्दा प्राचीन मन्दिर भएको अध्यताहरुले वाताएका छन्। तानादेवीको नजिकै इन्द्रचोक पर्दछ। इन्द्रचोक पहिले बागमती र कलामती (विष्णुमति) को दोभान थियो भनिन्छ। इन्द्रले स्नान गरेका दुई पवित्र नदीको संगमस्थल हुनाले कालान्तरमा यस ठाउँको नाम इन्द्रचोक रहन गयो। मानदेवको बुबा धर्मदेवको बेलादेखि बागमती उपत्यकाभित्र रहेका देवी अर्थात् दुर्गा र मातृका मान्ने चलन चलेको थियो। तात्कालिक समयमा बागमती इन्द्रचोक हुँदै जुद्ध शालिक भएतिर बगेको र अर्को विष्णुमति मखनबाट भिमसेनस्थान तलतिर बगेको हुनुपर्दछ। त्यसताका हनुमानढोकाको सिमाना फसिकेबसम्म फैलिएको थियो। 

तन्त्रहरुमा नेपाललाई ५१ शक्तिपीठमध्ये प्रमुख पीठ मानिएका छन्। हामी कहाँ भएका शक्तिपीठ खोला छेउमै छन्। यसको आफ्नै मसानघाट समेत हुन्छ। तानादेवीको मसान हनुमानढोकाभित्रको तलेजु मन्दिरनिर छ। शंकरदेवले मन्दिर निर्माण गरेपछि शिलालेख राखेका होलान्, तर पछि त्यो भूकम्पले पुरिएको अथवा हराएको हुन सक्छ। शक्तिपीठहरुको स्थापना देशको रक्षा र सीमाङ्कनका लागि गरिएको मानिन्छ। राजा गुणकामदेवले कलिगत वर्ष ३८२४ मा कान्तिपुर शहर बसाएपछि त्यसको सुरक्षाका लागि विधिपूर्वक यी पीठ स्थापना गरेको मान्ने गरिन्छ। यसबाट ईशाको एघारौं शताब्दीमा शक्तिको उपासनाले काठमाडौँमा प्राधान्य पाइसकेको देखिन्छ।

विसं १६२३ मा महेन्द्र मल्लले तानादेवलका देवता तम्बलिङ्गदेवलाई सुनको देवल र ध्वजा चढाइ कोटीहोम र रामायण नचाएको ठ्यासफूमा उल्लेख छ। त्यो तम्बलिङ्गदेव कहाँ राखिएको छ ? मन्दिरको दक्षिणी भागमा एउटा शिवलिङ्ग छ, त्यो आदेश्वर हो, जुन ठकुलहरुका कुलदेवता हुन्। त्यस्तै, तलेजु मन्दिर निर्माण गर्दा अवरोध आएपछि महेन्द्र मल्लले तानादेवीलाई २१ गजुर र ३६० राँगा चढाउने भाकल गरेका थिए। भाकल बमोजिम मन्दिरमा शायद ठाउँ अभावले ५ वटा गजुर मात्र चढाएका देखिन्छन्, त्यसो भए बाँकी १६ वटा गजुर कता राखियो ? त्यो खोजको विषय नै रहेको छ। 

राजा भास्कर मल्ल (वि.सं. १७५३–१७७९)को पालामा झङ्गल ठकुल विसं १७७० मा कान्तिपुरका मुख्य काजी भए। यिनै ठकुलले तानादेवीलाई इष्टदेवता मानेर द्योछेँ (देवघर) निर्माण गरेर शिलापत्र चढाएका थिए। उनले मखनमा जगन्नाथ मन्दिर र कमलाछीमा ठकुहिटी (ढुङ्गेधारा) बनाउन लगाएका थिए। ठकुहिटीको अब कुनै अवशेष छैन। जुन ठाउँमा आज आरसीटी क्लबको व्यापारिक भवन बनेको छ। ऐतिहासिक र परम्परा बोकेका यस्ता सम्पदा लोप हुँदै गइरहेका छन्। 

बाबुराम आचार्यका अनुसार नयाँ वैश्य ठकुरी राजवंशको उत्थान गर्ने श्रेय राघवदेवलाई दिइएको छ। आचार्यले भनेका छन्, ‘राघवदेवले वैश्य ठकुरीकै नयाँ राजवंश बढाउँदै नेसं समेत चलाएका थिए।’ यसबाट यो कुरा सिद्ध हुन आउँछ कि लिच्छविकालमै  ठकुलवंशको उत्थान भइसकेको थियो। रत्न मल्लले कान्तिपुरलाई विसं १५४१ मा राजधानी बनाए। रत्न मल्ल आउँदा यहाँ १२ जना वैश्य ठकुरीहरुको अस्तित्व रहेको वंशावलीमा छ। ती १२ जना वैश्य ठकुरीहरुको अन्त्य गरी रत्न मल्लले कान्तिपुरमा शासन केन्द्र स्थापना गरे पनि तिनमा मुख्य आठ महापात्रहरुलाई समाप्त गरिएको थियो।

जब झङ्गल ठकुल सत्तामा रहे अनि मात्र ठकुलको चर्चा भएको देखिन्छ। यस अघि अरु ठकुलहरुको त्यस्तो कुनै काम विशेषको उल्लेख भएको कतै देखिंदैन। शक्तिमा रहेको बखत झङ्गलले कतै ठकुल वंशावली तयार पार्न लगाएका थिए कि ? ठकुलबाट श्रेष्ठ थर कसरी भयो ? त्यसबारे कतै उल्लेख भएको पाइँदैन। 

तानादेवी श्रेष्ठ जातिका ठकुलहरुको आगंद्यः (आगमघर) हो। जहाँ गुप्त तरिकाले पूजा गरिन्छ। आफ्नै वंशका बाहेक अरु कोही त्यहाँ पस्न पाउँदैनन् र तान्त्रिक विधिविधान अनुसार थकालीले एकैपटक तीनजनालाई दीक्षा दिने परम्परा छ। अचेल दीक्षा लिने–दिने व्यक्ति समेत पाउन गाह्रो भइसक्यो। 

यो निजी गुठी भएकाले अरु व्यक्तिको चासो कमै परेको देखिन्छ। मन्दिरमा तान्त्रिक पूजा गर्नुपर्ने भएकाले के–कस्तो तरिकाले हुन्छ त्यो बाहिर आउन पाउँदैन। दीक्षा दिने तन्त्रमन्त्र अझ अलिखित छ। यो पाराले त्यो लोप नहोला भन्न सकिन्न। तसर्थ यस्ता चीजलाई बेलैमा संरक्षण गर्न सकिएन भने भविष्यमा पूजाविधि थाहा नपाएर रोकिन सक्छ।
वज्राचार्यहरुको चर्या नृत्य पनि हिजो गोप्य थियो। पछि त्यसलाई पुस्तक र सीडीमा ल्याएपछि सबैले पढ्न र हेर्न पाए। जसले गर्दा ज्ञान र फाइदा दुवै एकैपटक उठाउन सक्यो। बदलिंदो समयमा हाम्रा कला, भाषा र संस्कृतिजस्ता धरोहरप्रति आकर्षण बढाउन सकिएन भने यसको अस्तित्वमाथि प्रश्न नउठ्ला भन्न सकिन्न। अतः यसप्रति बेलैमा सचेतना जगाएर धार्मिक पर्यटनलाई जोड्न सकियो भने हाम्रा ती सम्पदा जगेर्ना गर्न टेवा पुग्ने थियो।

स्वस्थानी व्रतकथा 
तानादेवीको मन्दिर हातामा स्वस्थानीको मन्दिर पनि छ। त्यहाँ शिव–पावर्तीका मूर्ति छन्। मन्दिरसँगै पाटीमा हरेक दिउसो ३ बजेदेखि ५ बजेसम्म भजनसहित स्वस्थानी व्रतकथा वाचन गरिन्छ। विश्व हिन्दू एकता परिषद्ले माघ ७ गतेदेखि व्रतकथा वाचनको व्यवस्था मिलाएको हो। पंडित उद्धवप्रसाद हुमागाइँले कथा सुनाउँछन् भने उनलाई कृष्ण महर्जन, हिराकाजी तमल, ज्योति क्षेत्री, उत्तम नेपाल, राजेश दाहाल, बुद्धमान तण्डुकार र मायादेवीले भजनकिर्तनमा साथ दिन्छन्। भजनसहितको कथा वाचनले मन्दिरमा रौनक बढाएको तानादेवी संरक्षण समितिका अध्यक्ष भुवनलाल श्रेष्ठ बताउँछन्।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad