६ वैशाख २०८१ बिहीबार
राजनीति

आर्थिक अनियमितता भएको छानविन उपसमितिको दाबी

उपसमितिको प्रतिवेदन बुझ्दै सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठ। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - कर्णाली प्रदेश सरकारले वैशाख १ गते घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’को उद्घाटन कार्यक्रममा अनियमितता भएको पाइएको छ। प्रदेश सरकारले संसद्लाई एउटा र समितिलाई अर्को खर्च विवरण उपलब्ध गराएपछि अनियमितताको आशंकामा छानबिनका लागि सार्वजनिक लेखा समिति समितिले कात्तिक १६ गते तीन सदस्यीय उपसमिति गठन गरेको थियो।

उपसमितिले तीन महिना लगाएर तयार पारेको प्रतिवेदनमा सरकारले पर्यटन वर्ष उद्घाटन कार्यक्रममा लाखौंको अनियमितता गरेको उल्लेख छ। ‘सरकारसँग तीनपटक पर्यटन वर्ष उद्घाटनको खर्च विवरण माग्यौं, तीनैपटक फरक–फरक विवरण प्राप्त भए,’ उपसमितिका संयोजक करवीर शाहीले भने, ‘उद्घाटनका लागि ४६ लाख बजेट पूर्वानुमान गरेर ८७ लाख १४ हजार ६ सय रुपैयाँ खर्च गरेको देखियो।’

उपसमितिले प्रदेश सरकारले निम्त्याएका पाहुनाहरूको खाना खर्चमा सबैभन्दा धेरै अनियमितता भएको औंल्याएको छ। उद्घाटन कार्यक्रममा प्रदेश सरकारले आमन्त्रण गरेकामध्ये सय जना पाहुना रारा पुगेका थिए। तीमध्ये प्रधामन्त्री केपी शर्मा ओलीसहित २४ जना विशिष्ट पाहुनालाई नेपाली सेनाको टुहु ब्यारेकमा राखिएको थियो। ‘प्रदेश सरकारले उपलब्ध गराएको बिल–भर्पाईलाई आधार मान्ने हो भने बाँकी ७६ जना पाहुनाले ४४ छाक खाना खाएको देखिन्छ,’ उपसमितिका सदस्य गोपाल शर्माले भने, ‘हामीले मागेका कतिपय बिल–भर्पाईहरु पनि सरकारले उपलब्ध गराउन सकेन।’

पर्यटन वर्षका लागि १० वटै जिल्लाका लागि छुट्याइएको रकम पनि सरकारले एउटै उद्घाटन कार्यक्रममा खर्च गरेको शर्माले बताए। ‘यहाँसम्म कि नदी नियन्त्रणका लागि भू–तथा जलाधार कार्यक्रममा छुट्याइएको नौ लाख रुपैयाँ पनि रकमान्तर गरेर पर्यटन वर्ष उद्घाटनमा खर्च गरिएको देखिन्छ,’ उनले भने।

सरकारले संसद् र समितिलाई पनि छुट्टाछुट्टै विवरण उपलब्ध गराएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समितिलाई उपलब्ध गराएको तथ्यांकमा उद्घाटन कार्यक्रममा ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको उल्लेख छ। गत जेठ २५ गते सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसद्मा ६३ लाख ८१ हजार सात सय ९५ रुपैयाँ खर्च भएको विवरण पेस गरेका थिए। ‘एउटै कार्यक्रमको छुट्टाछुट्टै खर्च विवरण पेस हुनुले पनि कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा आर्थिक अनियमितता भएको पुष्टि हुन्छ,’ समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने, ‘उपसमितिले बुझाएको प्रतिवेदन अध्ययन गरेर थप प्रक्रियामा जान्छौं।’

पर्यटन मन्त्रालयले समितिलाई बुझाएको विवरणमा भौतिक पूर्वाधार मन्त्रालयमार्फत १० लाख ९३ हजार तीन सय ६०, सामाजिक विकास मन्त्रालयमार्फत १० लाख ११ हजार चार सय २८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत २८ लाख ८५ हजार आठ सय १०, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत चार लाख ६२ हजार चार सय ६८, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत १६ लाख ५८ हजार ५४, मुगु जिल्ला समन्वय समितिमार्फत सात लाखभन्दा बढी रुपैयाँ खर्च भएको उल्लेख छ।

प्रदेश सरकारले जेठ २५ गते कर्णाली प्रदेश सांसद्मा ६३ लाख ८१ हजार सात सय ९५ रुपैयाँ खर्च भएको विवरण पेस गरेको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली–रारा पर्यटन वर्ष घोषणा कार्यक्रममा व्यापक भ्रष्टाचार भएको बताउँदै खर्च विवरण उपलब्ध गराउन माग गर्दै संसद अवरुद्ध गरेपछि प्रदेश सरकारले यो विवरण पेस गरेको थियो। सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले संसद्मा प्रस्तुत गरेको खर्च विवरणअनुसार अतिथिको खाना र खाजातर्फ १७ लाख ४६ हजार एक सय २० रुपियाँ, पत्रकारको स्थलगत खर्च, मञ्च व्यवस्थापन, ब्यानर, गेट, ब्याच र सांस्कृतिक कार्यक्रमका लागि ११ लाख ५० हजार दुई सय रुपैयाँ, हवाई भाडातर्फ १० लाख २९ हजार तीन सय ६ रुपैयाँ र स्थलगत यातायाततर्फ ७६ हजार रुपैयाँ खर्च भएको विवरण संसद्मा प्रस्तुत गरेका थिए।

यस्तै पत्रकारका लागि सुर्खेतदेखि रारा र रारादेखि सुर्खेतसम्म आउँदा खानाबापत ६४ हजार नौ सय ७०, अतिथिका लागि उपहारतर्फ पाँच लाख ५४ हजार, पर्यटन वर्ष प्रचार–प्रसारका लागि टेलिभिजन जिंगलमा चार लाख १२ हजार, रेडियोका लागि दुई लाख ५८ हजार, पोस्टरलगायत अन्य सामग्रीका लागि दुई लाख र स्थानीय तयारीका लागि दुई लाख रुपैयाँ खर्च भएको विवरण सरकारले संसद्मा प्रस्तुत गरेको थियो। पाँच लाख पर्यटक कर्णालीमा भिœयाउने महŒवाकांक्षी योजनासहित कर्णाली प्रदेश सरकारले पर्यटन वर्ष उद्घाटनका लागि भन्दै मन्त्रिपरिषद्बाट ४६ लाख रुपैयाँ छुट्याएको थियो।

प्रकाशित: १९ माघ २०७५ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App