६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

कराकस – विपक्षीले गरेको प्रदर्शनको समाचार संकलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ। राष्ट्रपति निकोलास मादुरो नेतृत्वको सरकारका विरुद्धमा विपक्षीहरुले बुधबार भेनेजुएलामा देशव्यापी प्रदर्शन गरेका थिए। सरकारी पक्षले भेनेजुएलाको संकटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई पत्रकारलाई निर्वासित गरेका छन्। सरकारी नियन्त्रणमा पर्ने पत्रकारमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन्।  उल्लेखितमध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिर स्थितिको रिपोर्टिङकै लागि आएका हुन्।

पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए। उनीहरुलाई सघाइ रहेका यस कार्यक्रमका उत्पादक एक जना स्थानीयलाई पनि सरकारी पक्षले नियन्त्रणमा लिएको छ। अन्य दुई जना चिलीका टेलिभिजन पत्रकारलाई पनि मंगलबार नै भेनेजुएलाको सरकारी पक्षले देश निकाला गरिदिएको चिलीका विदेशमन्त्री रोबर्टो अम्पुएरोलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

संवेदनशील मानिने सुरक्षा क्षेत्रमा काम गरेको भन्दै उनीहरुलाई पक्राउ गर्न थालिएको समाचारमा जनाइएको छ। ‘यो तानाशाही काम भयो, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजियो,’ चिलीका मन्त्री रोबर्टोले ट्विट गरेका छन्। पछिल्ला केही वर्ष भनेजुएलामा धेरै पत्रकारलाई नियन्त्रणमा लिने तथा देश निकाला गर्ने कार्य भइरहेको भन्दै आलोचना भएको छ। पत्रकारलाई पक्राउ गरिएको बारेमा भेनेजुएलाका विदेश मन्त्री जर्ज एर्रेजाले बुधबार केही उल्लेख गरेनन् तर धेरै विदेशी पत्रकार रिपोर्टिङ गर्ने अनुमति बिना देश छिरेको भने बताए।
विपक्षी नेता जुवान गुआइडोले केही दिन अगाडि आफैँले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक संघर्ष चर्किएको छ।
मंगलबार मात्रै सर्वोच्च अदालतले गुआइडोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का गर्ने फैसला गरेको थियो। लामो राजनीतिक संघर्षका कारण चरम आर्थिक संकट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन्। विपक्षीहरुले बहिष्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलस मादुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो।

निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै विपक्षीले बहिष्कार गरेका थिए। विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उनले यही जनवरी १० मा दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका थिए। उनको शपथसँगै देशभरि विरोध प्रदर्शन भएका थिए।
त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मादुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुआइडोलाई समर्थन जनाएका छन्। चीन, मेक्सिको र रुसलगायतका देशले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुआइडोको विपक्षमा उभिएका छन्। यसैबीच युरोपेली संसद्ले पनि विपक्षी नतो गुआइडोलाई मान्यता दिएको घोषणा गरेको छ।

प्रकाशित: १८ माघ २०७५ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App