१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सञ्जयको अग्रता कायमै

शिवराम श्रेष्ठ ग्रिनबाट पिनमा पट गर्दै। तस्बिर : धन बस्नेत/नागरिक

पोखरा – सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताअन्तर्गत सञ्जय लामाले बिहीबार दोस्रो दिन हिमालयन गल्फ कोर्समा लेभल पार खेल्दै ३६ होल सकिँदा दुई अन्डर १३६ को स्कोरमा अग्रता कायमै राखेका छन्।

फ्रन्ट नाइनमा एक अन्डर खेलेका उनले ब्याक नाइनमा भने एक ओभर खेल्दै खेल टुंग्याए। पहिलो होलमा बर्डी हिर्काउँदै सुखद सुरुआत गरेका उनले दोस्रो होलमा भने बोगी खेप्दै स्ट्रोक गुमाउन पुगे। तेस्रो होलमा भने बर्डी हिर्काउँदै लय समाते। फ्रन्ट नाइनका बाँकी होलमा उनले पार खेल्दै एक अन्डरमा रहेर ब्याक नाइन सुरु गरे। व्याक नाइनमा ११ होलमा डबल बोगी खेप्दै अगाडि बढे। तर सम्हालिँदै उनले १४ र १५ मा बर्डी हिर्काए। आराम गर्नुअघिको १८औं होलमा भने बोगी हान्दै तनावमा खेल टुंग्याए।

पहिलो दिन तीन ओभर खेलेका रवि खड्का दोस्रो दिन सुधार गर्दै ४ अन्डर खेल्दै दोस्रो स्थानमा उक्लिएका छन्। समग्रमा ३६ होल सकिँदा उनी एक अन्डर १३७ स्कोरमा रहँदै लामालाई पछ्याइरहेका छन्।

शिवराम श्रेष्ठले दोस्रो दिन दुई ओभर खेलेपछि उपाधिको यात्रा केही असहज बन्न पुगेको छ। अघिल्लो दिन लेभल पार खेल्दै उपाधि होडमा रहेका उनी दोस्रो दिन खराब लयमा रहे। उनी ३६ होलको समाप्तिमा दुई ओभर १४० को स्कोरमा छन्। उनी सञ्जय लामाभन्दा चार स्ट्रोकले पछि छन् भने रवि खड्काभन्दा तीन स्ट्रोकले पछि  छन्।

जयराम श्रेष्ठले दोस्रो दिन दुई ओभर खेल्दै ७१ को कार्ड बनाए। उनी ३६ होल सकिँदा ३ ओभर १ सय ४१ स्कोरमा छन्। साबिक विजेता आर्मी अफिसर्स गल्फ क्लबका धनबहादुर थापाले दोस्रो दिन लेभल पार खेल्दै उपाधि होडको सम्भावनालाई केही हदसम्म जीवितै राखेका छन्।

सूर्य शर्मा ४ ओभर १४२, पोखराका कमल तामाङ ५ ओभर १४३, कृष्णमान राजवाहक कुल ७ ओभर १४५ को कार्डमा छन्। त्यसै गरी भुवनकुमार रोका ८ ओभर १४६, रामे मगर ९ ओभर १४७, पोखराका भुवन गुरुङ पनि ९ ओभर १४७ को स्कोरमा छन्। एमेच्योरतर्फको प्रतिस्पर्धामा भने तीन ओभर १४१ स्कोरमा रहँदै शुक्रराज राईले अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेका  पोखराका अजित विककोे ४ ओभर १४२  स्कोर छ।

प्रकाशित: १८ माघ २०७५ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App