४ वैशाख २०८१ मंगलबार
खेल

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सन्दीप जोराको कीर्तिमान

काठमाडौं – राष्ट्रिय टोलीबाट डेब्यु गरेको साता दिन नबित्दै नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

सन्दीपले बिहीबार दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा भएको युएईविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा यो कीर्तिमान रचेका हुन्। उनले युएईविरुद्ध ४६ बलमा ३ चौका र १ छक्काकोे मद्दतमा अविजित ५३ रन जोडेका थिए। उनले १७ वर्ष १ सय ३ दिनमा अर्धशतक पूरा गर्दै  क्यानाडाका हेराल पटेलको नाममा रहेको कीर्तिमान तोडेका हुन्।

पटेलले २०१० मा आयरल्यान्डविरुद्ध १८ वर्ष १ सय ७७ दिनमा अर्धशतक पूरा गरेका थिए। सन्दीपले गत सोमबार युएईविरुद्धको तीन एकदिवसीय शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका थिए। उक्त खेल ४ विकेटले जित्दै नेपालले पहिलो पटक एकदिवसीय शृंखला भित्र्याएको थियो।

यसअघि युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा रोहितकुमार पौडेल विश्व क्रिकेट इतिहासमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए।

रोहितले शनिबार दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा भएको युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा अर्धशतक पूरा गर्दै भारतका ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई पछि पारेका हुन्। रोहितले १६ वर्ष १ सय ४६ दिनमा यो कीर्तिमान तोडेका हुन्।

यसअघि यो कीर्तिमान टेस्टतर्फ तेन्दुलकरको र एकदिवसीयतर्फ अफ्रिदीको नाममा थियो। तेन्दुलकरले १६ वर्ष २ सय १३ दिनमा पाकिस्तानविरुद्धको टेस्टमा ५९ रन जोड्दै कीर्तिमान बनाएका थिए। अफ्रिदीले सन् १९९६ अक्टोवर ४ मा १६ वर्ष २ सय १७ दिनमा  श्रीलंकाविरुद्ध डेब्युमै उक्त कीर्तिमान बनाएका थिए।

प्रकाशित: १८ माघ २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App