आत्मकथा प्रतियोगिता

शुक्रबार, १८ माघ २०७५, ०८ : ५५ युवराज गौतम

फ्रान्सका विद्वान् सिल्भाँ लेभीद्वारा लिखित ‘हिन्दु अधिराज्यको इतिहास’ पुस्तककै पारामा लेखिएको ‘मैले देखेको नेपाल’ (भिन्येत् अफ नेपालको अनुवाद) साँच्चै सुन्दर छ। पद्मजंगले लेखेको ‘लाइफ अफ जंगबहादुर’पछि चर्चित र पढ्नैपर्ने खालका व्यक्तिचित्र थोरै आए। गणेशराज शर्माद्वारा सम्पादित ‘बीपीको आत्मवृत्तान्त’ धेरैले रुचाए। कतिपय कुरा लुकाइए पनि ‘जेल जर्नल’ र बीपीको आत्मवृत्तान्तमा तत्कालिन इतिहास एवं परिवेशको चित्र देख्न सकिन्छ। ती राजनीतिक ऐना पनि हुन्।

केही वर्षयता ‘आत्मकथा’ जस्तो शैलीमा आत्मश्लाघा, आत्मप्रशंसा र आत्मप्रचार बेच्न थालिएको छ, नेपाली बजारमा। ‘भलादमी’ निबन्धमा लक्ष्मीप्रसाद देवकोटाले व्यङ्ग्य गरेझैँ अलि पर पुगेपछि मात्र भलादमी भनाउँदाहरूले पाठकलाई थाङ्नामा सुताएछन् भनेर झल्याँस्स भइन्छ। बाँचे, अनेक देख्न पाइन्छ भन्छन् गाउँका बा–आमाहरू। कतिपय आत्मकथामा दिउँसै रात पारिएको छ। राजनीति, कूटनीति, राष्ट्रिय सुरक्षा, प्रशासन, साहित्य, व्यापार आदि अनेक क्षेत्रका मानिसले किताब निकालेका छन्। धेरैले आफ्नै बढाइचढाइ गरेका छन्। कतै हाँस्न मन लाग्छ त कतै ‘कठैबरा मूर्ख’ भन्न मन लाग्छ। धेरैले देखेको, जानेको, सुनेको र बुझेको कुरा किन ढाँटनु ? आफ्ना कमजोरी किन लुकाउनु ? आफू दूधले नुहाएको र अरूलाई मात्र किन बिटुलो ठान्नु ? पाठकलाई मूर्ख बनाउने ? धत्।

राजा वीरेन्द्रका सैनिक सचिव भएर राजदरबारमा सेवा गरे, विवेककुमार शाहले। दरबारबाट सेवामुक्त भएपछि उनले लेखेको ‘मैले देखेको दरबार’ प्रकाशित भयो। त्यस बेला घाइते भएर तीन महिनाका निम्ति ओछ्यान परेको थियो, पङ्तिकार। एकजना मित्रले फोन गरेर भने– “तिम्रो नाम पनि छ, किताबमा। पढ है।”

काठमाडौँका बखतमानसिंह बस्न्यातका घरमा फेला परेको पृथ्वीनारायण शाहको मूलनीति (उपदेश) राष्ट्रनिर्माताको आत्मकथाभन्दा अमूल्य छ ।

नेपाल टेलिभिजनका पत्रकार राजेन्द्रराज तिमिल्सिनाले किताब ल्याइदिए। भाषा, शैली र प्रस्तुति राम्रो रहेछ। पढ्दै जाँदा मनमा धेरै प्रश्न आए– राजाले दिएका गुप्त सूचना, आदेश र राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील तथा महत्वपूर्ण जानकारीलाई बजारमा बेच्न मिल्छ ? पदमा रहँदा र नरहँदा आफूले थाहा पाएका (राज्यसँग सम्वन्धित) गोप्य कुरा सार्वजनिक गर्नेछैन भनेर जंगी, निजामती र प्रहरी सबैले शपथ खाएका हुन्छन्। आफ्नै बारीमा फलाएको काउलीझैँ सबैले त्यस्ता सूचना बजारमा बेच्न हुन्छ कि हुँदैन ? मैले धेरैथोक चाल पाएको छु भन्दै प्रचार गर्न मिल्छ कि मिल्दैन ? सूचनाको अधिकार मात्र हुन्छ कि लेखकको कर्तव्य पनि हुन्छ ? यो त एउटा सानो उदाहरण मात्र हो। २०४६ साल पहिले अञ्चलाधीश भएर राजाप्रति अनुगृहीत हुने र पछि माओवादीलाई खुसी पारेर सांसद बन्ने दोहोरो चरित्रका मानिस हुन् वा राजाका अंगरक्षक बनेर पछि माओवादी हुलमा मिसिएका व्यक्ति, दुइजिब्रेहरूको यो पङ्क्ति लामो छ। सिद्धान्त, आदर्श, निष्ठा, परम्परा तथा दर्शनबाट विचलित नहुने थोरै छन्। तसर्थ, आफूलाई महापुरुष सिद्ध गर्न गिद्ध नै बन्नु पर्दैन।

डिबी लामा काठमाडौँ उपत्यकाको एसपी छँदा नक्खु जेलबाट केही पर लगेर ओखलढुंगाका केही कैदी युवकलाई मारियो। लीलानाथ दाहाल, ठगी दाहाल आदि कांग्रेसी केटालाई मार्ने व्यक्ति डिबी लामा नै थिए। प्रहरी महानिरीक्षक छँदा उनी भ्रष्टाचारमा जेल परे। तत्कालीन राजा वीरेन्द्रलाई त्यसबेला चढाएको विन्तीपत्रमा लामाले ओखलढुंगा काण्डका दोषीलाई आफँैले गोली हानेको उल्लेख गरेका छन्। नेपाली कांग्रेसले उनको प्रजातन्त्रप्रेम देखेर गृहराज्यमन्त्री बनायो। आत्मकथामा लामाले आफू खाँटी प्रजातन्त्रवादी भएको गफ चुटेका छन्। कथनी र करनीमा कत्रो अन्तर ! राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका पालादेखिको इतिहास हेर्ने हो भने विभिन्न जातका मानिस सेनाका हर्ताकर्ता भएको पाइन्छ। ती सबै “जनताका छोरा” थिए। एकजना प्रधान सेनापतिले त नेपोलियनले दिग्विजय गरेझैँ ‘जनजाति’ तर्फबाट कमाण्डर–इन–चिफ हुने आफू नै प्रथम भएको दाबी गरे। माओवादीका नेतालाई मार्न आफूले ‘सेनाका मानिस पठाएको’ कुरा किताबमै छरपष्ट
पारे।   

भारतका मेजर जनरल भीके सिंहले राष्ट्रिय सुरक्षाका बारेमा लेखेको ‘इन्डियाज् एक्सटर्नल इन्टेलिजेन्स ः सिक्रेट अफ रिसर्च एन्ड एनालिसिस विङ्’ पुस्तकले चर्चा पायो। सेनाबाट निवृत्त भएपछि फिल्ड मार्सल मानेक शाले पनि आत्मकथा लेखे, त्यसमा भारतीय सेनामा कार्यरत गोर्खाली युवकहरूको प्रशंसा मात्र छैन, कतिपय प्रश्नमा इन्दिरा गान्धीसँग मतभिन्नता भएको कुरा पनि छन्। यति हुँदाहुँदै पनि राष्ट्रिय सुरक्षाका विषयमा उनीहरू सतर्क भएको पाइन्छ। हुनुपर्ने त्यही हो। आत्मकथा, जीवनी, अन्तर्वार्ता, लेख आदिमा कसले कति ढाँटे वा ढाँटेनन् भनेर पाठक, दर्शक वा स्रोताले थाहा नपाउने कुरै हुँदैन। २००७ सालदेखि झन्डै सत्तरी वर्ष साहित्य र पत्रकारितामा सक्रिय रहेका श्यामदास वैष्णवले भनेका थिए– “राम देखे रामका, हराम भेटे हरामका मान्छे बनेर ठग्नेहरू यहाँ धेरै छन्। उनीहरू आफूबाहेक सबै मूर्ख छन् भन्ने सोच्दा रहेछन्। बुद्धिको दुरुपयोग भइरहेको छ, नेपालमा।”

“नेपाल इन टान्जिसन ः फ्रम पिपल्स वार टु फ्रजाइल पिस” आत्मकथा होइन। त्यो नेपालका माओवादीको जन्मकुण्डली हो। पुस्तकमा प्राध्यापक सुखदेव (एस.डी.) मुनिले भारतको लिटो, जाउलो, तालिम र पैसाले पुष्पकमल, बाबुरामलगायत माओवादी हुर्किएको खुलासा गरेका छन्। पछिल्ला वर्षहरूमा माओवादीले चीनप्रति बढी अनुराग देखाएको कैँयन् भारतीयको गुनासो छ। त्यसैले, नेपालमा रहेका विदेशपरस्त बुद्धिजीवीहरू पनि मालिकहरूले लाए–अह्राएअनुसार काम गर्दा आफ्ना मालिक नरिसाऊन् भनेर सतर्क देखिन्छन्।    कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, चौथो अंग, नागरिक समाज, सुरक्षा निकाय, उद्योग–व्यापार, समाजसेवा, शिक्षा, स्वास्थ्य आदि अनेक क्षेत्रमा काम गरेकाहरूले “आत्मकथा” भन्दै स्तुति गान मिसिएको पुस्तकहरू लेखेका छन्। प्रधान सेनापति भइसकेका रुक्माङ्गद कटवालदेखि जर्नेल ऋषिकुमार पाँडेका कृतिहरू पनि बजारमा आए। पत्याउन गाह्रो पर्ने, आत्मरतिमय, अतिरञ्जित जस्तो लाग्ने र पुष्टि हुन नसक्ने कुरा कति छन् कति ! कतिपयका आत्मकथामा चामलभन्दा घुन धेरै छन्।

सुन्दरीजलबाट घट्ट चलाउने पानी ल्याइएको ‘घट्टेकुलो’ वरपर आज बाक्लो बस्ती छ । घट्ट र पानी कता हो कता । त्यस्तै, पुस्तक भन्नाले सत्य, सरस्वती र अक्षर (क्षर नहुने) ठान्ने हाम्रो समाजमा पुस्तकका नाममा बढेको बौद्धिक प्रदूषण रोक्नुपर्ने अवस्था आएको छ । मूल मर्म र धर्म मासेर झोले डाक्टरले पचास रोगको विज्ञ आफैँ भएको प्रचार गरेझैँ आत्मविज्ञापन कसरी आत्मकथा हुन्छ ?

केही महत्वपूर्ण कुरा भेटिएला भन्ने आशामा ‘बारूदमाथि उड्दा’ भन्ने किताब सर्सर्ती पढेँ। आफूलाई ड्राइभरको नाति, गरिब किसानको छोरो भन्दै कतिपय ठाउँमा ‘इमानदार’ देखिएका छन् लेखक रामेश्वर थापा। खोट लगाउन खोजिएको होइन, पुस्तकमा जताततै आत्मप्रशंसा मात्र पाइन्छ। हेलिकप्टर पाइलट थापाले “१६ बुँदे सहमति” गराउन आफ्नो भूमिका रहेको लेखेका छन् भने डरलाग्दो परिस्थितिमा हेलिकप्टर उडाएर सेनालाई बचाइदिएकामा गर्व गरेका छन्। पाइलटले माओवादी, कांग्रेस, एमालेलगायतका नेतादेखि सर्वसाधारणलाई वायुयानमा राखेर ठाउँठाउँमा पुर्‍याएको कुरा पत्याउन सकिन्छ तर सेनाको गुप्त रणनीति, मार्गचित्र वा योजनामा आफू हरेक ठाउँमा संलग्न भएको कुरा पत्याउन गाह्रो पर्छ। सेनाका निम्ति हेलिकप्टर उडाउने गैरसैनिक पाइलट रहेछन्, थापा। सेनाले भाडामा लिएको हेलिकप्टर सेनाको अनुमतिबेगर आफूले प्रयोग गरेको प्रसंगलाई ‘पुरुषार्थ’ मानेका छन्, थापाले। पुस्तकमा उनी लेख्छन्– “कतिपय अवस्थामा सुरक्षाकर्मीलाई थाहै नदिई घाइते माओवादीको उद्धार गरेको अनुभव छ, मसँग। (पृष्ठ २५)

नेपालमा विद्वत् परम्पराको इतिहास लामो छ। तर पछिल्ला वर्षमा लाखौँ शिक्षितका बीचमा विद्वान्–विदुषीहरू खोज्नुपर्ने अवस्था आएको छ। कसैका घरमा राति पाहुना भएर बसेका बेला “कुकुरको डरले झ्यालबाटै पिसाब गरेँ” भनेका कुरा पनि आत्मकथामा समेटेर एकजना कलाकारले आत्मकथाको अवमूल्यन गरे तर त्यो पुस्तक ‘बेस्ट सेलर’ भयो भनिन्छ। यसबाट पाठकको स्तर पनि बुझ्न सकिन्छ। पुस्तक भनेपछि सबै गतिला हुन्छन् भन्ने बुझ्दा पाठकवर्ग ठगिन्छन्। भारतीय लेखक भगवानलालले अंशुवर्माकालीन संवत् भारतका सम्राट् हर्षवद्र्धनले चलाएका हुन् भनेर लेखे। राधागोविन्दले गुप्तसम्राट् र हर्षका संवत् नै अंशुवर्माले नेपालमा चलाए भनेर लेखे। के.जी. शंकरले यशोधर्मा नामक भारतीय सम्राट्ले चलाएकै संवत् अंशुवर्माले चलाए भनिदिए। सिल्भाँ लेभीले नेपाल भोटे साम्राज्यमा पथ्र्यो र नेपालमा अंशुवर्माले भोटको संवत् चलाए भनेर लेखे। नेपालको आदिग्रन्थ सुमतिन्त्रले ती सबै कुरा असत्य हुन् भन्ने अकाट्य प्रमाण प्रस्तुत गरेको छ। तसर्थ, ठूल्ठूला विद्वान्ले पनि भ्रम फैलाएका छन् भने “सबैभन्दा म राम्रो, म ठूलो” भन्ने अल्पज्ञहरूले आफूलाई गतिलो देखाउँदा निर्वस्त्र भएको चाल नपाउनु ठूलो कुरा होइन। हेक्का राख्नुपर्ने कुरा, पुस्तक सयौँ वर्ष सुरक्षित रहन्छ। ढाँट्ने त मरेर जान्छन् तर समयले गिज्याइरहन्छ।

काठमाडौँका बखतमानसिंह बस्न्यातका घरमा फेला परेको पृथ्वीनारायण शाहको मूलनीति (उपदेश) राष्ट्रनिर्माताको आत्मकथाभन्दा अमूल्य छ। सिंहदरबार बन्नुअघि त्यहाँ राणाशासकको हजारौँ मुरी धान कुट्ने पानीढिकी (घट्ट) थियो। सुन्दरीजलबाट घट्ट चलाउने पानी ल्याइएको ‘घट्टेकुलो’ वरपर आज बाक्लो बस्ती छ। घट्ट र पानी कता हो कता। त्यस्तै, पुस्तक भन्नाले सत्य, सरस्वती र अक्षर (क्षर नहुने) ठान्ने हाम्रो समाजमा पुस्तकका नाममा बढेको बौद्धिक प्रदूषण रोक्नुपर्ने अवस्था आएको छ। मूल मर्म र धर्म मासेर झोले डाक्टरले पचास रोगको विज्ञ आफैँ भएको प्रचार गरेझैँ आत्मविज्ञापन कसरी आत्मकथा हुन्छ ? हरे शिव !





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad