६ वैशाख २०८१ बिहीबार
अन्य

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

फाइल फाेटाे

सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको  ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।

पहिले भृकुटीमण्डप, सुन्धारा, सहिदगेट, आरएनएसी, सभागृह अगाडि, न्युरोड गेटलगायत ठाउँमा ओर्लने यात्रु अहिले रत्नपार्क पुगेर ओर्लन बाध्य छन्। माइतीघर, त्रिपुरेश्वर, जमल, सिंहदरबार, बागबजार हुँदै आउने सार्वजनिक यातायात पनि सिधै रत्नपार्क पुगेर रोकिन्छन्।

‘पिक एन्ड ड्रप’ नियमअनुसार यी क्षेत्रमा ओर्लन र चढाउन पाउनुपर्ने हो। तर, ट्राफिकले नै आफूले लागू गरेका नियमभन्दा कडाइ गरेको छ। ठाउँ–ठाउँमा ट्राफिक प्रहरी नै खटाएर सवारी रोक्न नदिने कडिकडाउ महाशाखाले गरेको हो।

यद्यपि कतिपय चालकले ट्राफिकको मौका छोपेर यात्रु चढाउने गरे पनि ओलर्ने यात्रुलाई रत्नपार्क नै पुर्‍याउने गरेको यात्रुको गुनासो छ। ‘पहिला सुन्धारा र भृकुटीमण्डप झर्नुपर्ने यात्रुलाई जवरजस्ती रत्नपार्क पुर्‍याइदिन्छ, ‘पिक एन्ड ड्रप’ भनेर सर्वसाधारणलाई सास्ती दिने काम ट्राफिक प्रहरीबाट भइरहेको छ,’ बिहीबार सुन्धारामा भेटिएका कपिल घिमिरेले भने, ‘आकस्मिक काम परेर हिँडेका यात्रुलाई यस्तो नियमले थप समस्या पुर्‍याएको छ।’ अन्य ठाउँमा चालकले रोक्न नमान्ने र रत्नपार्क लगेर मात्रै ओराल्ने गरेको उनको गुनासो छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेपछि धेरैजसो चालकले यात्रुहरु पूरानो स्थानमा रोक्न नमान्ने उनले बताए।

अर्का यात्रु महेश थापाले पनि ‘पिक एन्ड ड्रप’का कारण चौतर्फी रुट हुँदै घर फर्कने यात्रुहरुलाई असहज हुने गरेको बताए। ‘यस्तो नियम लागू गरिएपछि कहाँको गाडी कहाँबाट गुड्छ भन्ने थाहा छैन। केही स्थानमा मात्रै बोर्ड टागिँएका छन्,’ उनले भने, ‘यदी सर्वसाधारणलाई बुझाएर मर्का नपर्नेगरी यो नियम लागू गरेको भए उत्तम हुने थियो।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लागू गरेको यस्तो नियमप्रति सार्वजनिक यातायात चालकको तर्क भने फरक छ। उनीहरु यस्तो नियमले झन् जाम बढाएको र यात्रुलाई सास्ती पुगेको अनुभव बटुलेका छन्। ट्राफिक कारबाही पर्ने डरमा रत्नपार्क र सहिदगेटमा मात्रै ओराल्ने गरेको बा२ख १५४७ का चालक उत्तम थापाले बताए। उनले यस्तो नियमले सर्वसाधारणलाई झन् सास्ती पुगेको बताए। ‘हामीले जहाँ रोके पनि यात्रु पाउँछौं तर सुन्धारा झर्नुपर्ने यात्रुलाई रत्नपार्क पुर्‍याइदिँदा रिसाउँछन्। कतिपयले त भाडा नै दिन मान्दैनन्,’ उनले भने, ‘पिक एन्ड ड्रप भनेर ट्राफिकले बढी कडाइ गरेको छ। यसको मर्का सर्वसाधारणलाई परेको छ। यसमा हाम्रो कुनै गल्ती छैन।’ उनका अनुसार अहिले सिमित ठाउँमा मात्रै यात्रु चढाउने ठाउँ तोकिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता जयराज सापकोटाले स्टपमा ओराल्ने र चढाउने व्यवस्थासहित यो नियम लागू गरिएको जानकारी दिए। उनले ‘पिक एन्ड ड्रप’ लागू गरिएको क्षेत्रमा कुनकुन रुटका सार्वजनिक सवारी रोक्न पाउने भनेर स्पष्ट रुपमा बोर्ड टासिँएको पनि जनाए। ‘पहिले यात्रुहरुलाई सबैतिरबाट गाडी चढ्ने बानी थियो।

अहिले निश्चित ठाउँमा मात्रै चढ्न र ओर्लन पाइन्छ। यसले पक्कै असहज भएकै हो तर यसलाई व्यवस्थित पार्न ट्राफिक प्रहरी खटिरहेको छ,’ उनले भने, ‘हामीले यस विषयमा काठमाडौं महानगरपालिकासँग कुरा गरेर अझ व्यवस्थित बनाउँछौं।’ उनका अनुसार अहिले सभागृह अगाडि, रत्नपार्क शान्तिबाटीका, एनएसी, भद्रकालीलगायत ठाउँमा यात्रु चढ्न र ओर्लन पाउने व्यवस्था गरिएको छ। महाशाखाका अनुसार ‘पिक एन्ड ड्रप’ नियम लागू भएपश्चात ट्राफिक जाम हल भएको छ। मानिसको भीडभाड र ट्राफिक व्यवस्थापन झन् चुनौतीपूर्ण भएको भन्दै पुस १ गतेबाट प्रहरीले यो निमय लागू गरेको थियो।

प्रकाशित: १८ माघ २०७५ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App