८ वैशाख २०८१ शनिबार
अर्थ

‘सरकारले सघाए सिमेन्ट निर्यात गर्छौं’

काठमाडौं – अधिकांश वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा मुलुक सिमेन्टमा आत्मनिर्भर बनेको छ। नेपाली बजारमा खपत हुने सिमेन्ट उत्पादन गर्न स्वदेशी उद्योग सक्षम भएकाले सरकारले सघाए विदेशसमेत निर्यात गर्ने तयारी रहेको उद्योगीले बताएका छन्।

नेपाल गुणस्तर तथा नापतौल विभाग, खानी तथा भू–गर्भ विभाग र नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा भएको नेपालमा सिमेन्टको अवसर, भविष्य, चुनौती विषयक अन्तक्र्रियामा उद्योगीले यस्तो बताएका हुन्। नेपाली बजारको माग अनुसार उत्पादन क्षमता पुगेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले बताए।

‘नेपाली बजारमा नौ मिलियन टन सिमेन्टको माग छ,’ थापाले भने, ‘गत वर्ष ८.५ मिलियन टन उत्पादन भएको थियो।’ ०.५ प्रतिशतमात्र भारतबाट आयात भएको थापाले बताए। नेपाली उद्योगसँग १३ मिलियन टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको समेत उनले बताए। सरकारले सघाए सिमेन्ट निर्यात गर्ने थापाले बताए। ‘नयाँ उद्योग पाइपलाइनमा छन्,’ थापाले भने, ‘अब हामी निर्यात गर्न सक्ने भएका छौं।’ निर्यात गर्नका लागि उत्पादन लागत घटाउनुपर्ने थापाले बताए। सिमेन्ट उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा पनि मुलुक आत्मनिर्भर बन्न लागेको थापाले जानकारी दिए।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्योगको विकासबिना मुलुकको समृद्धि नहुने बताए। ‘निजी क्षेत्रका सहभागिता अनिवार्य छ,’ यादवले भने, ‘सरकार सहयोग गर्न तयार छ।’ मन्त्रालय उद्योगी व्यवसायीसँग सहकार्य गर्न तयार रहेको उनले बताए। ‘राम्रो कामका लागि सँगसँगै हिँड्न तयार छु,’ उनले भने, ‘कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँ।’ केही उद्योगी, व्यवसायी आफूलाई हटाउन प्रधानमन्त्रीकहाँ डेलिगेसन गएको भन्दै उनले गुनासो गरे।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाली सिमेन्ट उद्योगले गुणस्तरीय सिमेन्ट उत्पादन गरेको बताए। पुडासैनीका अनुसार सिमेन्ट उद्योगको ९८ प्रतिशत उत्पादनमा कुनै समस्या छैन। ‘स्वदेशी सिमेन्ट गुणस्तरीय छन्,’ पुडासैनीले भने, ‘नेपालमा तीन किसिमका सिमेन्ट उत्पादन हुँदै आएको छ।’

नेपाली उद्योग उद्योगमा ३५ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता पुगेको उनले बताए। ‘सिमेन्ट उद्योगले नयाँ प्रविधिको प्रयोग गरेका छन्,’ उनले भने। नेपाल सिमेन्ट उत्पादक संघको १४औं साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। बिहीबार राति अबेरसम्म नेतृत्व चयनका लागि छलफल भइरहेको थियो।

प्रकाशित: १८ माघ २०७५ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App