काठमाडौं– न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार सातदोबाटो युथ क्लबलाई २–० ले पराजित गर्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको छ।
चारपटक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको एनआरटीले आर्थिक कारण देखाउँदै २०७० सालमा विशेष साधारणसभाबाट फुटबल नखेल्ने निर्णय गरेको थियो। ‘ए’ डिभिजन नखेलेपछि स्वतः घटुवा भएपछि एनआरटीले ‘बी’ डिभिजन खेल्न ३ वर्ष कुर्नुपर्यो।
आठ दशकभन्दा लामो इतिहास बोकेको एनआरटीलाई ‘ए’ डिभिजनमा उक्लन मंगलबार बराबरी पर्याप्त थियो । तर हल्चोकस्थित एपिएफ रंगशालामा एनआरटीले २–० को जित निकाल्दै बढुवा सुनिश्चित गरेको हो । एनआरटीको जितमा विश्वजित गुरुङ नायक बने । पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा एनआरटीलाई अग्रता दिएका विश्वजितले ७१ औं मिनेटमा अर्को गोल थपेका थिए । एनआरटीले अन्तिममा पेनाल्टी पाए पनि कप्तान प्रविणकुमार सैंजुले गोलमा परिणत गर्न सकेनन् ।
जितपछि सहायक प्रशिक्षक श्याम मालीले टोलीको लक्ष्य पूरा भएको बताए । ‘हाम्रो मुख्य उद्देश्य पुनः ‘ए’ डिभिजन खेल्नु थियो । तर यहाँसम्मको यात्रा हामीले सोचे जस्तो सहज भने भएन,’ प्रशिक्षक मालीले भने, ‘पछिल्लो समय आर्थिक कारणले गर्दा हामीले नखेल्ने निर्णय ग¥यौं तर ती सबै विगत भइसके । हामीलाई व्यवस्थापनले अब त्यस्तो नहुने वचन दिइसकेको छ । आशा गरौं हामी ‘ए’ डिभिजन लिगमा पनि राम्रो गर्नेछौं ।’
मालीले ‘ए’ डिभिजनमा पनि अहिलेकै खेलाडीले मौका पाउने बताए । उनले थपे, ‘अर्को सिजन हामीले यी खेलाडीलाईक्षमता प्रमाणित गर्ने मौका दिनेछौं ।’
एनआरटीले २०१५, २०१७, २०३७ र २०५२ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो भने २०५४ मा महेन्द्र गोल्ड कपको उपाधि उचालेको थियो । एनआरटीले २०६४ सालमा बुढासुब्बा गोल्डकप र भारतको सिक्किममा गभर्नर्स गोल्डकपको उपाधि जितेको थियो । त्यस्तै २०६२ सालमा जुनियर लिग यु–१४ को पनि उपाधि जितेको थियो ।
‘ए’ डिभिजनमा उक्लन नसके पनि सातदोबाटोका प्रशिक्षक सनोज श्रेष्ठले यस सिजनमा खेलाडीले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । ‘स्थानीय र युवा खेलाडी लिएर हामी लिग खेल्न आएका थियौं । कम अनुभवका कारण हामीले ठुला टोलीविरुद्ध अंक गुमाउनुप¥यो,’ उनले भने, ‘शीर्ष डिभिजनमा उक्लन आज हामीलाई जित्नैपर्ने दबाब थियो । हामीले त्यो चिर्न सकेनौं । चौथो स्थानमा रहन पनि खेलाडी र व्यवस्थापनले धेरै मिहिनेत गरेका छन् ।’
मंगलबारै अन्य खेलमा च्यासल युथले बाँसबारी क्लबलाई ५–० ले हरायो । जितसँगै च्यासलशीर्ष स्थानमा रहेर ‘ए’ डिभिजन उक्लिएकोछ । च्यासल र एनआरटीको समान २८ अंक भए पनि गोल अन्तरका आधारमा च्यासल शीर्ष स्थानमा रह्यो । अर्को प्रमुख दाबेदार मानिएको पुरानो क्लब आरसिटीले भने तेस्रो स्थानमा रहेर सिजनअन्त्य गरेको छ । आरसिटीले २४ अंक बटुल्यो ।
विनोद केसीले एक मिनेट नबित्दै गरेको गोलमा च्यासलले अग्रता लिएको थियो । ४२ औं मिनेटमा माधव भण्डारीले अग्रता दोब्बर पारे भने ५८ औं मिनेटमा अर्को गोल थपे । ६० औं मिनेटमा कप्तान रविन व्यञ्जनकारले चौथो गोल थपे । इन्द्रजंग लिम्बुले ७५ औं मिनेटमा अर्को गोल थपे ।
सामाजिक युथ क्लब र महावीर क्लब भने ‘सी’ डिभिजनमा घटुवा भएको छ । तथापि सामाजिक क्लबले बुधबार मध्यपुर युथविरुद्ध खेल्नेछ । मध्यपुरलाई पराजित गरे पनि सामाजिक रेलिगेसनमा पर्ने निश्चित छ । सामाजिकको ८ अंक छ भने एक स्थान माथि रहेको नयाँबस्तीसँग १३ अंक छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा टुसालले ब्वाइज युनियनलाई ३–२ ले हरायो । २१ औं मिनेटमा विजय पौडेलको गोलबाट ब्वाइज युनियनले अग्रता लिएको थियो । त्यसको ४ मिनेट नबित्दै मनीष थापाले अग्रता दोब्बर पारे । ५४ औं मिनेटमा टुसालका रोमन लिम्बुले अन्तर कम गरे । भक्तबहादुर मगरले ११ मिनेट अन्तरमा दुई गोल गरेपछि टुसालले ३ अंक पक्का गरेको हो । भक्तले ७५ र ८६ औं मिनेटमा गोल गरेका थिए ।
प्रकाशित: १९ आश्विन २०७३ ०२:०९ बुधबार