coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोयाले धानेको जिन्दगी

धादिङको नीलकण्ठ नगरपालिकास्थित दामगाडेमा थुन्से बुन्दै महिला। तस्बिर: सरिता/नागरिक

धादिङ - बाँस वा निगालोबाट चोया बनाउनु अनि डोको–थुन्से बुन्नु र तिनलाई बजारमा बेच्नु रीकी संगीता तामाङको दैनिकि हो। २०७२ सालको भूकम्पले गाउँमा बस्नै नसक्ने भएपछि सदरमुकाम धादिङबेसीनजिकैको दामगाडेमा अस्थायी टहरा बनाएर बसिरहेकी तामाङ दैनिक जीविकोपार्जनका लागि डोको, थुन्से बुन्ने गर्छिन्। बिहानको काम सकेर पारिलो घाममा उनी निगालोको चोयाबाट थुन्से बुन्ने गर्छिन्। उनको कोठा निगालो अनि थुन्सेले भरिएको छ।

गाउँको जायजेथा भूकम्पले विनाश गरिदिएपछि तामाङका सपरिवार सदरमुकाम आए। उनीहरु अहिलेसम्म पनि चारैतिर जस्ताले बारिएको टहरोमा बस्दै आएका छन्। बिहान बेलुकाको छाक टार्न र बालबच्चाको स्कुल खर्चका लागि दैनिक डोका–थुन्से बुन्ने गरेको तामाङले बताइन्। ‘गाउँमा हुँदा पनि निगालोको चोयाबाट थुन्से बुन्ने काम गथ्र्यौं’, तामाङले भनिन्, ‘भूकम्पपछि तल झर्‍यौं, अरु सीप छैन, अहिले बाँच्ने आधार नै यही निगालो भएको छ।’
तामाङले दिनमा तीनवटासम्म थुन्से बुन्ने गरेको बताइन्। ‘जाँगर भएको बेलामा एक दिनमा तीनवटासम्म थुन्से बुन्ने गरेकी छु’, तामाङले भनिन्, ‘श्रीमान्ले गाउँबाट निगालो ल्याउनुहुन्छ, म बुन्ने गर्छु।’ यसरी बुनेका थुन्से लिन व्यापारीहरु बस्तीमै आउने गरेका छन्।

चोयाबाट बनेका सामान बिक्रीबाट सामान्य परिवारले पनि महिनामा २० देखि ५० हजार आम्दानी गर्छन्। यसबाट घरखर्च चलाउनेदेखि बालबच्चाको पढाइलाई पनि सहज भएको छ। तामाङले मात्रै होइन, बस्तीका प्रायः सबैले डोको–थुन्से बुन्छन्। स्कुले विद्यार्थीदेखि वुद्धवृद्धाले पनि डोको बुन्छन्। निगालो लिन धादिङ र गोरखाको सिमानामा पर्ने मान्द्राङ, विन्द्राङलगायतका ठाउँमा जानुपर्छ। एउटा थुन्सेको आकार हेरेर एक सयदेखि तीन सय रुपैयाँसम्म पर्छ। चोयाको काम यहाँका स्थानीयको आयआर्जनको राम्रो स्रोत बनेको छ।

गंगाजमुना गाउँपालिका १ चेप्राकका शीतल तामाङको पनि बुढेसकालको सहारा चोया नै बनेको छ। ‘पहिले चोया काढ्न सिकें। सुरुमा एउटै आकारको र चिल्ला चोया बनाउनै गाह्रो थियो’, उनले भने, ‘चक्कु चिप्लिएर औंलामा धेरै घाउ भयो तैपनि काढ्न छाडिनँ। अहिले सजिलो लाग्छ। यसकै कमाइले घरपरिवार चलिरहेको छ।’ गाउँमा हुँदा परिवार सबैले बुन्ने गरेको भए तापनि अहिले निगालोको अभावका कारण सबैले बुन्न पाएका छैनन्।

खावा लामा तामाङ पनि थुन्से बुन्न खप्पिस छन। थुन्से बुनेर नै घरपरिवार धान्न तथा ३ छोरी र एक छोरा पढाउन सजिलै पुग्छ। उनले वर्षमा सयवटा जति थुन्से बुन्ने गरेको बताए। निगालो ल्याउन भने बडो दुःख हुने उनको भनाइ छ। ‘निगालो ल्याउन नै तीनचार दिन लाग्छ। के गर्ने, बाबुबाजेका पालादेखि नै यही इलम गर्दै आइयो, अरु काम खासै आउँदैन’, उनले भने। चोयाबाट बनेका सामान बिक्रीबाट सामान्य परिवारले पनि महिनामा २० देखि ५० हजार आम्दानी गर्छन्। यसबाट घरखर्च चलाउनेदेखि बालबच्चाको पढाइलाई पनि सहज भएको छ। पछिल्लो समय भने बाँस, निगालो सहजै नपाइने भएकाले पेसा नै संकटमा पर्ने हो कि भन्ने डर उनीहरुलाई छ।

प्रकाशित: १८ माघ २०७५ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App