७ वैशाख २०८१ शुक्रबार
राजनीति

छोटो समयमा नै संघीयता संस्थागत : प्रधानमन्त्री ओली

दमक - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छोटो समयमा नै संघीयता संस्थागत बनेको बताएका छन्। उनले अधिकार माग्ने नाममा कुनै पनि सरकारबीच द्वन्द्व नभएको उल्लेख गर्दै संघीयता कार्यान्वयन भइरहेको बताए। दमकमा बिहीबार बृहत् बाल महोत्सव उद्घाटन गर्दै ओलीले मुलुकले अभूतपूर्व सफलता हासिल गरेको दाबी गरे।

‘मैले विश्व नै चकित भएको महसुस गरेको छु, हामीले ३ वटै सरकार एक वर्षभित्र बनायाैँ भन्दा सबै आश्चर्यमा परे,’ उनले भने, ‘स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको प्रमुख यहाँ छौ, सबैलाई आ–आफ्नै अधिकार छ, हामीले कुने विवाद गर्ने छैनौँ।’ ओलीले डावोसमा भएको वल्ड इकोनोमिक फोरममा सहभागी हुदाँ मुलुकै इज्जत बढेको बताए। ‘भर्खरै बन्दै गरेको संघीय संरचनालाई पूर्णता दियौँ, कर्मचारी समायोजन गर्‍र्यौं, सन्तुलित ढंगले सफल भयांै,’ उनले भने, ‘नयाँ व्यवस्था सुरु हुन लाग्दा यति चाँडै भएको भनेर सबै छक्क परे।’ प्रधानमन्त्री ओलीले जनताका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए। ‘केही मान्छेहरू विरोधका लागि विरोध गरेका छन्, छाडदिऊँ विरोध,’ उनले भने, ‘अब यो देश मेरो क्षेत्रका मानिसले गर्व गर्ने बेला भएको छ, नेपाल भनेर अन्तर्राष्ट्यि जगतमा चिनाउने काम गरेका छांै।’ ओलीले भारत र चीनबीच समदूरीमा सम्बन्ध कायम भएको बताए। उनले दुवै देशसँग सम्बन्ध बराबरीको अवस्थामा पुगेको बताए। ‘यो कसैका विरुद्ध हैन, नेपालको पक्षमा हो, हामीले दुबै देशलाई बराबरीको स्थितिमा ल्याएका छांै,’ उनले भने, ‘हिजो थिचोमिथो थियो, अहिले बाराबरी छ, यो नेपालले गर्व गर्ने विषय हैन र ?’

ओलीले गृहक्षेत्रका मतदातालाई आश्वास्त पार्दै सडक बनाउने प्रतिबद्धता जनाए। ‘मैले देशभरका पुल बनाउने जिम्मा लिएको छु, मुलुककै पुल बनाउने जिम्मा मेरो हो,’ उनले भने, ‘हामीले मुलुकको विकास र समृद्धिकै लागि लागेका छांै।’ उनले रेलको सर्भे सम्पन्न भइसकेको बताए। उनले त्यसका लागि लगानीकर्ताको खोजी भइरहेको समेत बताए।

ओलीले विकासले गति लिएको उल्लेख गर्दै भने, ‘सरकारले चौतर्फी तीव्र गतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन।’’ वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीवाट नेपालले फड्को मार्ने उनले बताए। प्रधानमन्त्री ओलीले देशको विकाससंगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रूपान्तरणको दिशामा अघि बढ्ेको बताए।
प्रधानमन्त्री ओलीले प्रदेशकै गौरवको योजना रहेको जोगबनी किमाथांका नाकाको कामलाई तीव्रता दिइएको बताए। ‘अब १५ किलोमिटर मात्रै सडकको ट्र्याक खुल्न बाँकी छ,’ उनले भने, ‘त्यो काम यसैवर्ष सम्पन्न हुन्छ, अनि चीन र भारतसम्म जोडिने बाटो बन्ने छ।’

उनले बालमहोत्सवले बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको बताए। ‘बालबालिकाले पढ्न पाउने, खेल्न पाउने अधिकारको संरक्षण सरकारले गर्छ,’ उनले भने, ‘अहिले जस्तो बालमैत्री सरकार कहिले थिएन, बालबालिका लागि सरकारले सक्दो सहयोग गर्नेछ।’ त्यस अवसरमा ओलीले दमक नगरपालिकाले निकालेको नगर प्रोफाइलसमेत विमोचन गरेका थिए। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै सरकारले काम गरिरहेका कारण अब मुलुक विकास र समृद्धिको दिशामा अघि बढने बताए। दमक नगरपालिकाले गरेको बाल महोत्सवमा एक सय वटा स्टल रहेका छन्। महोत्सवमा विभिन्न प्रतियोगीता हुने छन्। करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको छ।

छोरा भेट्न तीन घन्टाको कुराई
दमकमा भएको बाल महोत्सव उद्घाटनमा प्रधानमन्त्री ओली सहभागी हुने सुनेर भद्रपुरको पृथ्वीनगरबाट आएका पिता मोहनप्रसाद ओलीले लामै समयसम्म ओलीलाई पर्खिए। प्रधानमन्त्री नआउँन्जेल तलै बसेका उनी प्रधानमन्त्री आएपछि भने स्टेजमा चढेका थिए। ११ बजे आइपुग्ने ठानेर कार्यक्रमस्थल आएका मोहनप्रसाद कार्यक्रम अवधिभर बसिरहे। प्रधानमन्त्री आएपछि भने उनलाई स्टेजमा चढाइएको थियो। त्यहाँ प्रधानमन्त्रीले पितालाई हातमा ढोगेँ। अनि आयोजकले उनलाई प्रधानमन्त्रीकै पछि कुर्सीको व्यवस्था गरिदिए।

प्रधानमन्त्री १२ बजे दमक आइपुग्ने भने पनि उनी २ बजे मात्रै कार्यक्रमस्थलमा पुगेका थिए। १ बजे सहिद धर्मभक्त माविको स्वर्णमहोत्सवमा पुग्ने भनेका ओली त्यहाँ ३.४० मा मात्रै पुगे। सम्बोधन गरेर ४ बजेर १५ मिनेटमा भद्रपुरका लागि प्रस्थान गरे। तर भद्रपुरको मेची पुल उद्घाटन ३ बजे गर्ने तालिका थियो।

प्रकाशित: १८ माघ २०७५ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App