coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक निर्माणले सिंगो बस्ती जोखिममा

खोटाङ - पहिरोको जोखिममा रहेको बस्तीभन्दा माथिबाट सडक निर्माण थालिएपछि दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीयले आपत्ति जनाएका छन्। वडा कार्यालयको सिफारिसमा नगरपालिकाले छुट्ट्याएको बजेटबाट साबिकको पाथेका गाविस–७ दम्दीभन्दा माथिबाट भागु–स्वाजुङ सडक निर्माण सुरु गरिएपछि स्थानीयले तत्काल सो सडक निर्माण रोक्न माग गर्दै विरोध जनाएका छन्। दम्दी प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको सूचीमा छ।

भूकम्पका कारण धाँजा फाटेको हात्तीसुँढे भीर र त्यसमुनिको पाखामा रहेको वरको फेदमा अल्झिएर रहेका ठूला ढुंगा बस्तीमा खस्ने जोखिमका बीच आफूहरू बसिरहेको दम्दीवासीले बताए। त्यहाँबाट सडक निर्माण रोकेर वैकल्पिक बाटोको खोजी गर्न भन्दै उनीहरूले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयसमक्ष निवेदन दिएका छन्। सडक निर्माण कार्य रोक्न माघ ८ गते वडा कार्यालयमा निवेदन दिइए पनि काम नरोकिएपछि स्थानीय नगरपालिका र प्रशासनसमक्ष गुहार माग्न पुग्नुपरेको दम्दीका शिक्षक टंक राईले बताए। वडासमक्ष गरिएको आग्रहलाई बेवास्ता गर्दै जोखिमयुक्त क्षेत्रबाट सडक निर्माण कार्यलाई निरन्तरता दिइएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

स्थानीयको निवेदनमा जोखिमको पूर्वानुमान नगरी सडक खन्ने–खनाउने काम गर्दा दम्दीको सिंगो बस्तीमा प्रत्यक्ष बाढीपहिरोजस्ता संकट आई विस्थापित हुनुपर्ने स्थिति आउने भएकाले उक्त स्थान भएर जाने सडकलाई तत्काल स्थगित गरी वैकल्पिक बाटोको खोजी गरेर मात्र काम अघि बढाउन भनिएको छ। वडाध्यक्ष मुगाधन राईले भने नगरपालिकाको प्राविधिक रिपोर्टमा सडक बनाउँदा असर नपुग्ने देखिएपछि र स्थानीयको स्वीकृतिमा नै काम अघि बढाइएको दाबी गरेका छन्।

१९९० सालको भूकम्पको असरबाट फुटेको हात्तीसुँढे भीरको विशाल ढुंगासहितको ढिस्को र वरको फेदमा अल्झिएर रहेका तीनवटा ढुंगा वर्षाका कारण जुनसुकै बेला बस्तीमा खस्ने खतरा रहेको दम्दीवासीको भनाइ छ।

१९९० सालको भूकम्पको असरबाट फुटेको साबिकको पाथेका–९ र ७ को सिमानामा पर्ने हात्तिसुँढे भीरको विशाल ढुंगासहितको ढिस्को र वरको फेदमा अल्झिएर रहेका तीनवटा ढुंगा वर्षाका कारण जुनसुकै बेला बस्तीमा खस्ने खतरा रहेको दम्दीवासीको भनाइ छ। धाँजा फाटेको भीर र अल्झिएको ढुंगा जुनसुकै बेला खस्न सक्ने भएकाले दम्दीका स्थानीय वर्षा हुन थालेसँगै त्रासमा बस्ने गरेका छन्। स्थानीयका अनुसार सुरुमा १९९० सालको भूकम्पले चर्किएको हात्तिसुँढे भीरको धाँजा पछिल्लो समयमा क्रमशः फाट्दै जान थालेपछि स्थानीयमा त्रास बढेको हो। भू–संरक्षण र नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले २०६९ साउन ८ गते सार्वजनिक गरेको संकटाभिमुख समुदाय अवस्था अध्ययन प्रतिवेदनमा २०४५ सालमा एक फिट फाटेको भीर चार मिटर फाटेको पाइएको उल्लेख छ। त्यसयता धाँजाको फाँट अझ बढिसकेको स्थानीयको भनाइ छ। स्थानीय प्रकोप जोखिम व्यवस्थापन समितिको २०७० चैत २८ गते बसेको बैठकले दम्दीलाई तत्कालीन गाविसकै प्रकोपको उच्च जोखिमको सूचीमा राखेको थियो।

पहिरो र ढुंगा खस्ने र पुर्ने त्रासमा २० वर्षयता पाथेकाको दम्दीका स्थानीयले नयाँ घर बनाएका छैनन्। बाजेपुर्खाले बनाएका बाहेक दम्दीमा हाल अन्य घर नथपिएको शिक्षक राईले बताए। भीर, पहिरो र खोलाको डर र पिरलोले हुनेखानेहरूले गाउँ छाड्ने क्रम तीव्र छ। बस्नेहरू पनि ढुक्क मनले बसेका छैनन्। उनीहरू अहिले स्थानान्तरको पर्खाइमा छन्। ‘हामी हरेक वर्ष जेठदेखि असोजसम्म त्रासमा हुन्छौं,’ शिक्षक राईले भने, ‘वर्षायाममा बेलुका सुतेका मान्छे बिहान सकुशल ब्युँझन सकिन्छ, सकिन्न भन्ने चिन्ताले सताइरहन्छ। त्यसमाथि सडक खनेपछि थप जोखिम बढेको छ।’

स्थानान्तरणको सुझाव कार्यान्वयन भएन
जिल्ला दैवी विपत् जोखिम उद्धार समितिको २०६९ असार १८ गते बसेको बैठकले तत्कालीन पाथेका–७ दम्दी बस्तीको जोखिमको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न भू–संरक्षण र आरआरएनलाई जिम्मेवारी दिएको थियो।

अध्यायन टोलीले भत्कन लागेको भीर र पल्टिन लागेको ढुंगाको जोखिम न्यूनीकरण गर्न सम्भव नदेखिएकाले मानव बस्ती र विद्यालय अन्यत्र स्थानान्तरण गर्न प्रतिवेदनसहितको सुझाव दिएको थियो। तर टोलीको सो सुझाव अहिलेसम्म कहींकतैबाट कार्यान्वयन नगरिएको नवयुवा फुलपाती सेवा समाज पाथेकाका अध्यक्ष धनप्रसाद गिरीले बताए। रूखमा अल्झिएको ढुंगो हटाउन दम्दीवासीले केही वर्षअघि तत्कालीन जिविसलाई गुहारेको थियो तर कुनै उपाय नदेखेपछि ऊ पछि हटेको थियो।

जोखिममा परेका स्थानीयलाई २००७ सालअघि नै स्थानान्तर गर्न खोजिए पनि प्रयास बीचैमा रोकिएको थियो। अन्यत्र ‘सर्ने÷नसर्ने’ भन्नेमा टुंगो नलाग्दै बहुदल र निर्दलको लडाइँ सुरु भएपछि स्थानान्तरणको मुद्दा सेलाएको स्थानीयको भनाइ छ।

प्रकाशित: १८ माघ २०७५ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App