coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

झापाको भद्रपुरमा रहेको मेची पुलको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : युवराज/नागरिक

दमक - हरेक पटक राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ। तीन पटक सम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो। यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो। तर निर्माणले गति लिन सकेको थिएन। यसपटक पनि ९ वर्ष लागेर निर्माण सम्पन्न भएको हो। जिल्ला सदरमुकाम भद्रपुरदेखि भारतसम्म जोड्ने यो पुल निर्माणका लागि पट पटक आन्दोलन भए। भद्रपुरका पुराना स्थानीय तथा प्रदेश सांसद ओमप्रकाश सरावगीले राजनीतिक नेतृत्वसँग पहुँच कम भएर निर्माणमा लामो समय लागेको बताए। ‘हामीले पटकपटक पुल निर्माणका लागि दबाब दिएका थियाैँ, तर हाम्रो पहुँच पुगेन,’ उनले भने, ‘यसपटक भने पुल जसरी पनि बनाउने भनेर लागेकोमा ९ वर्षमा भए पनि सकियो।’

सरकारी अदूरदर्शिताका कारण निर्माण सम्पन्न भएर लामो समय प्रयोगविहीन अवस्थामा रहेको थियो। सो पुल हुँदै नेपालतिर आउने सडक निर्माण सम्पन्न भएपछि पुल उद्घाटन गरिएको हो। पूर्वी नेपाल र भारतसँगको सिमाना भद्रपुरमा ३३ करोड रुपैयाँको लागतमा नयाँ मेची पुल बनेको हो। पुल निर्माणपछि भारतसँगको व्यापार सहज हुने अपेक्षा स्थानीयको छ। झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले पुल निर्माणपछि नेपालमा उत्पादित सामग्री निर्यातमा समेत सहज हुने बताए। ‘भारतबाट उद्योगका लागि कच्चा पदार्थ ल्याउनसमेत सहज बनेको छ,’ उनले भने, अब काकडभिटा गएर भारत सम्म जानुपर्ने बाध्यता हटेको छ।’

२०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले शिलान्यस गरेको पुलको लम्बाइ ५ सय ६० मिटरको छ। पटकपटक निर्माणको आश गरेका भद्रपुरबासीले निर्माण हुनेमा विश्वस्त थिएनन्। सरावगीका अनुसार राजनीतिक नेतृत्वले हरेक पटक ढाँटी रहे। ‘कतिपटक त शिलान्यस मात्रै भयो, काम अघि बढेन,’ सरावगीले भने, ‘त्यसपछि यस क्षेत्रका व्यापारी, सर्वसाधरण निराश नै थिए।’ स्थानीयबासीलाई सुविधा दिलाउने र नेपाल–भारतको द्विपक्षीय कारोबार सहज बनाउने आशाले उत्साही छन्, सर्वसाधारण यतिबेला।

५३ वर्षको प्रतीक्षापछि पुल बनेपछि उत्साही स्थानीय सन्तोष धमालले भने, ‘बर्खायाममा मरिन्छ भन्ने जोखिमले बाँसको पुल हिँड्ने वाध्यता हटेको छ।’ उनका अनुसार बाँसको पुलले मेची नदी तरिन्थ्यो। अहिले पक्की पुल बनेको छ। बर्खामा ढुंगामा वारपार गर्नुपर्ने वाध्यता थियो, हिउँदमा बाँसको पुलमा शुल्क बुझाएर हिडने गरेका थियौै,’ उनले सुनाए, ‘अब पुल बन्यो, अब भद्रपुर पनि उस्कन्छ होला।’

भद्रपुरको मेची पुल शिलान्यास हुने तर नबन्ने पुलका रूपमा चर्चित थियो। पहिलोपटक २०२२ सालमा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रले, दोस्रोपटक २०४१ साल जेठ १५ गते तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले र तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते तेस्रोपटक मेची पुलको शिलान्यास गरेका थिए। १० मिटर चौडाइ र ७० टन भारबहन क्षमता भएको पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर ९ वर्षपछि मात्रै उद्घाटन गरिएको छ। ३७ करोड ३६ लाख ५० हजार रुपैयाँको लागतमा अनक सूर्य एण्ड सन्स जेभी निर्माण कम्पनीले पुलको निर्माण गरेको हो।

भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठले मुलुककै पुरानो नगर भए पनि विकासमा गति लिन नसकेको नगरपालिकाले फड्को मार्ने आश गरे। श्रेष्ठका अनुसार यो पुल हरेक पटक राजनीति गर्ने माध्यममात्रै बनेको थियो। पुल बनेपछि आयात–निर्यात बढेर भद्रपुरको व्यापार बढने आशमा रहेका श्रेष्ठले भने, ‘भारतसँग जोडिने अर्को मार्ग भएको छ, यसले हामीलाई थप उत्साहित समेत बनाएको छ।’
पानी पर्न थालेपछि भद्रपुरबासीलाई कसरी मेची तरेर भारत जाने भन्ने चिन्ता अब नहुने भद्रपुर–२ का गंगा बस्नेत बताउँछिन्। ‘झापाका दक्षिणी गाविसका अधिकाँश मानिस हाटबजार गर्न गलगलिया नै जाने गर्छन्, सिलिगुडी, नक्सलबाडीलगायतका बजार जानसमेत यहँीबाट दूरी छोटो पर्छु बस्नेतले भनिन्, ‘पुल नहुँदा डुगां र राँगागाडीको सहारामा आवतजावत गर्नुपर्ने बाध्यता छ थियो, अब त सहज हुने भयो।

प्रकाशित: १८ माघ २०७५ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App