८ वैशाख २०८१ शनिबार
अर्थ

भैरहवा विमानस्थलले पायो हवाई रुट

काठमाडौं – झण्डै पाँच वर्षदेखि नेपालले भारतसँग माग गरिरहेको नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा थप्ने हवाई रुटमा सहमति नजुटे पनि भैरहवामा हवाई रुट थप्न सहमति भएको छ।

रुट थप्न सहमति नदिँदा २०७६ जेठबाट सञ्चालनमा आउने निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लक्षित मितिमा हुनेमा अन्योल थियो। ‘गौतमबुद्ध विमानस्थलको लागि हवाई रुटमा समस्या सुल्झिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीले भने, ‘उक्त विमानस्थललाई आवश्यक हवाई रुटमा सौद्धान्तिक सहमति गरेर रुट डिजाइनको काम समेत अघि बढाइसकेका छौं।’ 

उनका अनुसार गौतमबुद्ध विमानस्थलमा भारतको आकाश हुँदै विमान प्रवेश गर्न आवश्यक नयाँ रुट हालैको दुईपक्षीय वार्ताबाट टुंग्याइएको हो।

जनवरी १५ र १६ गते भारतमा भएको ‘ग्लोबल एभिएसन समिट–२०१९’ मा भाग लिन पुग्दा दुवै देशका प्राविधिक राखेर भारतीय समकक्षी मन्त्रीसँगको छलफलले गौतमबुद्ध विमानस्थललाई आवश्यक रुटको टुंगो लगाएको मन्त्री अधिकारीले बताए। ‘रुटको टुंगो लगाएर दुवै पक्षको सहमतिमा आइकाओलाई रुट डिजाइन गर्न समेत दिइसकेका छौं,’ उनले भने, ‘डेढ महिनाभित्रमा रुट डिजाइन हुनेछ।’ 

तर, रुटको दुईपक्षीय लिखित सम्झौता भने भएको छैन। सौद्धान्तिक सहमति भएपछि सम्झौता ठूलो विषय नभएको र डिजाइनसँगै सम्झौताको प्रक्रिया अगाडि बढिरहेको अधिकारीले स्पष्ट पारे।

नेपालले पाँच वर्षदेखि नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरबाट हवाई रुट थप गर्न सहमति माग्दै आएको थियो। गत वैशाखमा नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हवाई रुट दिने सहमतिमा हस्ताक्षर पनि भयो। तर, दुवै देशका प्रधानमन्त्रीले नै सहमति जनाएको हवाई रुट कार्यान्वयन टुंग्याउन गत असोजमा प्राविधिक टोली भारत पुग्दा भने निर्णय हुन सकेन। नेपालले मागेका हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारत सम्झौताबाट पछि हटेको थियो।

मन्त्री अधिकारी भने भारत थप चार रुटको विषयमा पनि सकारात्मक रहेको दाबी गर्छन्। ‘चार रुटमध्ये जनकपुर र विराटनगर दिन भारत तयार छ,’ उनले भने, ‘अति आवश्यक रुट नेपालगन्ज र महेन्द्रनगर हुन्। यी रुटमुनि भारतका सैनिक क्याम्प रहेकाले केही समस्या भएको हो।’ उनका अनुसार पछिल्ला वार्ताहरुमा क्याम्पलाई स्थान्तरण गरेर रुट दिने छलफल अगाडि बढेको छ। रुटको लागि दुई देशका सरकारबीच छलफल भइरहेकाले सक्दो चाँडो टुंगिने मन्त्री अधिकारीले बताए।

नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ। हाल सिमराबाट मात्रै हवाई रुट खुला छ। अहिले युरोप, मध्यपूर्वी मुलुक लगायतबाट आउने विमान काठमाडौं आउन भारतीय आकाश हुँदै सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता छ।

नेपालबाट बाहिरिनका लागि भने भैरहवा, महेन्द्रनगर, सिमरा, जनकपुर र विराटनगरको आकाश प्रयोग हुन्छ। प्रस्तावित रुटमा भारतले सहमति दिए काठमाडौंका लागि विराटनगर, जनकपुरको आकाश पनि दुईतर्फी खुला हुन्छ।
अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा ३२ हजार फिट उचाइ आवश्यक हुन्छ। त्यसैले सीमावर्ती जिल्लामा रहेका नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई भारतको आकाश प्रयोग अनिवार्य हुन्छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि पनि नयाँ रुट अपरिहार्य जस्तै बनेको नागरिक उड्डयन प्राधिकरणको भनाइ छ। प्राधिकरणका उपमहानिर्देशक राजन पोखरलेका अनुसार नयाँ विमानस्थलको लागि अहिलेकै हवाई रुटले पनि कामै नचल्ने त होइन। तर, सहजताको लागि हवाई रुट थप्नुपर्ने हुन्छ। 

प्रकाशित: १८ माघ २०७५ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App