८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिका–चीन व्यापार वार्ता वासिङ्टनमा सुरु

गत वर्षको डिसेम्बर महिनामा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भएको ‘जी–ट्वान्टी’ शिखर बैठकको साइडलाइन मिटिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङ (बायाँ अगाडि) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (दायाँ दोस्रो)सहित दुवै देशका प्रतिनिधि। फाइल तस्बिर : एजेन्सी

वासिङ्टन – संयुक्त राज्य अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार अमेरिकी राजधानी वासिङ्टन डिसीमा सुरु भएको छ। अमेरिकाले चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेविरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता सुरु भएको छ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीन उच्च प्रविधि उद्योगको भविष्यलाई लिएर संघर्षरत रहेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले बताए। अमेरिका–चीन व्यापार वार्तामा लाइटिजर अमेरिकी पक्षका प्रमुख मध्यस्थकर्ता हुन्। तीन वर्षअघि बेइजिङले महत्वाकांक्षी ‘मेड इन चाइना २०२५’ कार्यक्रम सार्वजनिक गरेको थियो। सो कार्यक्रमको मुख्य उद्देश्य नै चीनलाई अन्तरीक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अन्य क्षेत्रमा अग्रणी स्थानमा पुर्‍याउन थियो। अमेरिकी अधिकारीका अनुसार यी क्षेत्रहरुमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफू स्वस्थ चिनियाँ अर्थतन्त्रको पक्षमा रहेको बताउँदै आएका छन्। उनले अमेरिकी व्यवसाय र प्रविधिको बदलामा चिनियाँ अर्थतन्त्र स्वस्थ्य होस् भन्ने नचाहेको पनि दोहोर्‍याउँदै आएका छन्। खासगरी, अमेरिकी अधिकारीले चिनियाँ व्यापारिक अभ्यासमाथि आक्रमण गरिरहेका छन्। उनीहरुको भनाइमा चीनको व्यापार अभ्यास अस्वस्थ रहेको छ। चीनले जबर्जस्ती अमेरिकी प्रविधि हस्तान्तरण गरेको र बौद्धिक चोरी गरेको अमेरिकी अधिकारीको आरोप छ। चीनले अमेरिकी कम्पनीलाई चीनमा व्यवसाय गर्न चिनियाँ कम्पनीसँग साझेदारी गर्नै पर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको छ।

बेइजिङमाथि दबाव सिर्जना गर्न अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गत वर्ष दुई सय ५० अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा करवृद्धि गरेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको वार्तामा सहमति नभए आगामी मार्च २ तारिखदेखि दुई सय अर्ब डलरबराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन्। बेइजिङले पनि करिब एक सय १० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको थियो। यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औद्योगिक राष्ट्रको समूह ‘जी–ट्वान्टी’ को ब्युनस आयर्समा भएको बैठकका क्रममा तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएपछि हाल सो करवृद्धि स्थगित अवस्थामा रहेको छ। सो  सहमति बमोजिम तीन महिनाभित्र वार्ता गरी दुई देशबीचका असमझदारी हल गर्ने र नयाँ व्यापार सम्झौता गर्ने उद्देश्यले दुवै देशका उच्च अधिकारीबीच वार्ता जारी छन्।

यसअघि चीनको बेइजिङमा पहिलो चरणको प्रारम्भिक वार्ता भइसकेको छ। पहिलो चरणको वार्ता सकारात्मक भएको दुवै पक्षले बताए पनि सो वार्तामा के कति प्रगति भयो भन्ने विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रकाशित: १७ माघ २०७५ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App