८ वैशाख २०८१ शनिबार
खेल

सन्जयको दुई स्ट्रोकको अग्रता

पोखराको छिनेडाँडास्थित हिमालयन गल्फ कोर्समा बुधबार सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा ग्रिनबाट होलमा पट गर्दै पशुपति शर्मा । तस्बिरः धन बस्नेत/नागरिक

पोखरा – सूर्य नेपाल वेस्टर्न ओपनको नवौं संस्करण विजेता सन्जय लामाले १९औं संस्करणको वेस्टर्न ओपनमा बुधबारको पहिलो दिन दुई स्ट्रोकको अग्रता बनाएका छन्।

पोखराको छिनेडाडाँस्थित इभन पार–६९ को हिमालयन गल्फ कोर्समा पहिलो दिन २ अन्डर ६७ स्कोर बटुलेका सन्जयले शिवराम श्रेष्ठमाथि दुई स्ट्रोकको अग्रता बनाएका हुन्। नेपाल नम्बर एक गल्फर शिवरामले भने इभन पार–६९ मै चित्त बुझाए। सन्जयले फ्रन्ट नाइन र ब्याक नाइनमा एक–एक अन्डर खेले। सन्जयले फ्रन्ट नाइनको एक मात्र बर्डि आठौं होलमा गरे।

ब्याक नाइनमा भने उनले ११औं र १५ होलमा बर्डि प्रहार गरेका थिए। फ्रन्ट नाइनमा लेभल पार खेल्दै सुखद बनाएका पाँच पटकका विजेता शिवरामले दशौं होलमा पुगेर डबल बोगी खेलेपछि सन्तुलन गुमाए। तर, १२औं र १८ औ होलमा बर्डी हिर्काएपछि उनले आफ्नो खेललाई पहिलो दिन लेभरपार ६९ को स्कोर कार्ड बनाए।

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका धनबहादुर थापा भने पहिलो दिन खराब लयबाट गुज्रिए। उनले चार ओभर ७३ को बिर्सनलायक प्रदर्शन गरेका थिए। रामे मगर, रामकृष्ण राजबहाक, सूर्यप्रसाद शर्मा पनि समान ४ ओभर खेल्दै पहिलो दिन टुग्याए। एमेच्योर गल्फर शुक्रबहादुर राई र जयराम श्रेष्ठ समान १ ओभर ७० को स्कोरसँगै तेस्रो स्थानमा छन्।

भुवन नगरकोटीले पोखराको हिमालयन गल्फ कोर्समा बुधबार २ ओभर ७१ को स्कोरसँग पहिलो दिन टुग्याए।  पोखरेली प्रो. कमल तामाङ पनि ३ ओभर खेल्दै ७२ मा रहेका छन्। रबि खड्का ३ ओभर ७२ खेल्दै तामाङसँगै छन्। पोखराका अजित विक, जीवन राई र राहुल विक ३ ओभर ७२ को कार्डमा छन्। अर्का पोखरेली गल्फर भुवन गुरुङ भने पाँच ओभर ७४ मा रहे।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा प्रोतर्फ ३३ र एमेच्योरमा २५ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले १ लाख २० हजार, उपविजेताले ७७ हजार, तेस्रोले ५५ हजार, चौथोले ४३ हजार, पाँचाैंले ३५ हजार, छैटौंले ३३ हजार, सातौंले ३० हजार, आठौंले २८ हजार, नवौंले २६ हजार र दशौं स्थानमा रहने खेलाडीको भागमा भने २५ हजार रुपैयाँ पर्नेछ। सूर्य नेपालको आयोजनामा वर्षेनी वेस्टर्न ओपन, इस्टर्न ओपन र सेन्ट्रल ओपन गल्फ प्रतियोगिता हुँदै आएको छ। प्रतियोगितामा शुक्रबारसम्म प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १७ माघ २०७५ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App