८ वैशाख २०८१ शनिबार
भिडियो

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

काठमाडौं – भूकम्पपछि थलिएका विभिन्न बस्ती पुनः निर्माण गर्दै चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ३ अर्ब अनुमानित लागतमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको हो। कार्यक्रममा रंगशाला निर्माणका लागि फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउन्डेसनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो। रंगशाला २० बिघा ६ कट्ठामा निर्माण गर्नका लागि फाउन्डेसन र भरतपुर नगरपालिकाबीच सम्झौता भएको हो।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले सञ्चालन गरिरहेको जग्गा महानगरले रंगशाला निर्माणका लागि उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको थियो। निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशालाको गुरुयोजना ६ महिनाभित्र तयार पारी दुई वर्षभित्र सम्पन्न गर्ने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले घोषणा कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे।

२० बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने २५ हजार दर्शक क्षमताको रंगशालामा ४ प्रवेश द्वार रहनेछन्। मुख्य प्रवेश द्वार नेपालको झल्को दिने रहनेछ।

‘भूकम्मपछि थलिएका बस्तीलाई जसरी उठाउन कोसिस गर्यौं सोहीअनुसार हामी रंगशाला निर्माण गर्न पनि लागि पर्नेछौं,’ धुर्मुसले भने, ‘रंगशाला निर्माण कार्य सोचेजस्तो सहज छैन। बस्ती उठाउनु जतिको सजिलो कार्य होइन। जेजस्तो काम गर्छौं, सबै पारदर्शी भएर गर्नेछौं। रंगशाला निर्माणका लागि साथ दिनुहुन सबैसँग आग्रह गर्न चाहन्छु।’

‘खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ। साँघुरो पूर्वाधारमा पनि नेपाल चमत्कारी खेल प्रदर्शन गर्दै बलियो राष्ट्रका रूपमा चिनिएको छ। तर अन्तर्राष्ट्रिय स्तरको रंगशाला एउटा पनि छैन,’ धुर्मुसले थपे, ‘विश्वमा नै जनताले बनाएको पहिलो रंगशाला निर्माण गर्ने अठोटमा छौं। म पापको खोल ओढेर मृत्युवरण गर्न चाहन्नँ। अन्तर्राष्ट्रिय स्तरको रंगशाला समयमा नै सम्पन्न गर्नेछौं।’

अध्यक्ष धुर्मुसका अनुसार आइसिसीको सबै मापदण्ड पूरा गरी बन्ने रंगशालाको नाम गौतम बुद्ध रंगशाला रहनेछ। रंगशाला प्रवेशद्वार नेपाल चिनाउने स्तूप शैलीको हुनेछ भने खेल मैदानवरिपरिको भाग कमलको फूलको आकारमा हुनेछ। करिब २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सबै रकम स्वेच्छिक सहयोगबाट उठाउने फाउन्डेसनले कार्यक्रममा बनाएको छ। सोही योजनाअनुरूप विभिन्न व्यक्ति र संस्थाका तर्फबाट कार्यक्रममा ४ करोड रुपियाँको प्रतिबद्धता व्यक्त भएको थियो।  

कार्यक्रममा उपस्थित प्रधानमन्त्री ओलीले फाउन्डेसनलाई  रंगशाला निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। ‘नयाँ कामको थालनी भएको छ। सबैले नयाँ कार्यक्रम सम्पन्न गर्न प्रतिबद्धता जनाउनुभएको छ। पवित्र र राम्रो कामका लागि सहयोग गर्न सधैं तत्पर छु। सरकार पनि तत्पर छ,’ प्रधानमन्त्री ओलीले भने, ‘क्रिकेटले हामीलाई विश्वभर चिनाएको छ। नयाँ खेल भए पनि छिट्टै फड्को मार्न सफल भएको छ। नेपालले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सफलता प्राप्त गरेको छ।’

‘विचार, संकल्प र आत्मविश्वासले विकास हुन्छ। र पैसा पनि आउँछ। धुर्मुसले पनि यही विचारलाई प्रयोगमा ल्याउन खोजेका हुन्,’ प्रधानमन्त्री ओलीले थपे, ‘एकताबद्ध भएर अघि बढ्यो भने हामी हाम्रै प्रयासमा केही वर्षभित्र नेपालको पहिचान र परिचय परिवर्तन गर्न सक्छौं। गरिबबाट धनी हुन सक्छौं।’

रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउन अग्रणी भूमिका खेलेकी भरतपुर नगरपालिकाकी मेयर रेणु दाहालले निर्धारित समयमा रंगशाला निर्माण गरी दुई छिमेकी देश भारत र पाकिस्तानको खेलबाट मैदानको उद्घाटन गर्ने योजना रहेको बताइन्।

‘रंगशाला निर्माणका लागि सबै पक्षसँग सम्झौता भएको छ। यद्यपि केही बुँदामा भने छलफल गर्न बाँकी छ,’ भरतपुर नगरपालिकाकी मेयर दाहालले भनिन्, ‘नगरपालिकाले केन्द्र र संघसँग समन्वय गरी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि साथ दिनेछ।’

यस्तै सोही कार्यक्रममा उपस्थित भएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा भएको क्रिकेट मैदानको निर्माणमा कसैको केही स्वार्थ नभएको र यसले सत्तापक्ष र प्रतिपक्षलाई एकै ठाउँमा उभ्याउन सफल भएको बताए।

‘धुर्मुस–सुन्तलीसँग अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि धेरै पटक छलफल भएको थियो। उहाँहरूको सोच साँच्चै पवित्र थियो। त्यसका लागि मैले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको थिएँ। त्यसअनुरूप योजना अहिले यहाँसम्म आइपुगेको हो,’ अध्यक्ष दाहालले भने, ‘खेलकुद क्षेत्रले समग्र राष्ट्रलाई एकताबद्ध बनाउँछ। घोषणा गरिएको क्रिकेट मैदान निर्माणका लागि सबैको एकजुटले सिंगो देशलाई एकताबद्ध गर्नेछ।’

‘सरकारले अगाडि सारेको समृद्ध र सुखी नेपालीको नारालाई यो अभियानले सहयोग पुर्याउनेछ भन्नेमा म विश्वस्त छु,’ अध्यक्ष दाहालले थपे, ‘रंगशाला निर्माणका लागि भएको यो सम्झौता सामान्य होइन। यसले नयाँ नेपाल निर्माणको सुरुआत गरेको छ। खेलको क्षेत्र फराकिलो बन्दै गएको छ।’

कार्यक्रममा उपस्थित अन्य राजनीतिक दलका नेताले धुर्मुस–सुन्तली फाउन्डेसनले अगाडि सारेको योजनालाई शुभकामना दिए। २० बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने  २५ हजार दर्शक क्षमताको रंगशालामा ४ प्रवेश द्वार रहनेछन्। मुख्य प्रवेश द्वार नेपालको झल्को दिने रहनेछ।

निर्माणका लागि अगाडि सारिएको रंगशाला क्रिकेटका अलावा अन्य खेलकुद आयोजना गर्न योग्य रहने फाउन्डेसनले बताएको छ। रंगशालासँगै २ छुट्टै अभ्यास मैदानसमेत हुनेछन्। यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डन्डीबियो, लन टेनिसलगायतका खेलमैदान रहनेछन्।

प्रकाशित: १७ माघ २०७५ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App