७ वैशाख २०८१ शुक्रबार
समाज

कहिले सम्म त्रासको यात्रा?

चितवन- राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हुन्— नारायणगढ–मुग्लिङ सडक र मुग्लिङदेखि सुरु हुने पृथ्वी राजमार्ग। यी सडकको लामो खण्ड त्रिशूली किनारैकिनार हुँदै गएको छ। साँघुरो सडकमा दुर्घटनाको उच्च जोखिम त छँदै छ, दुर्घटना पनि दोहोरिए।

नारायणगढ–मुग्लिङ सडकखण्ड विस्तार कार्य सुरु भएकाले पनि अहिले यहाँ लामो सवारीजाम खेप्नुपरेको छ। अर्कोतिर ठूला दुर्घटनाबाट यो खण्ड अछुतो रहेन । भदौ १० बिहानै गौरबाट पोखरा जाँदै गरेको यात्रु बस नारायणगढ–मुग्लिङ सडकको कालिखोलाबाट त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गयो, १६ घाइते भए।

   महिनादिन नबित्दै असोज ९ गते मुग्लिङ र कुरिनटारको बीचमा पर्ने पृथ्वीराजमार्गको घोप्टेभीरमा पूर्वमुख्यसचिव तथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप दुर्घटना भयो । सडकबाट लगभग डेढ सय मिटर तल त्रिशूली नदीमा खसेर जिपसहित घिमिरे र उनका दुई भाइ बेपत्ता भए । घटनामा तीनको निधन भयो भने एक घाइते छन् ।

 धेरै यात्रु हताहत भएको कालिखोलाको बस दुर्घटना र घोप्टेभीर दुर्घटना चर्चामा छ तर यस क्षेत्रमा दुर्घटनाको खबर नौलो भने होइन । तथ्यांकहरूले देखाएअनुसार यस क्षेत्रमा दुर्घटनाका कारण वर्षमा औसत ३१ जनाको ज्यान जाने गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर दुर्घटना भएर ज्यान जाने संख्यामध्ये एक तिहाइको निधन यही सडक खण्डमा हुन्छ ।

नारायणगढ–मुग्लिङ सडकखण्ड ३६ किलोमिटर लामो छ । मुग्लिङदेखि सुरु हुने पृथ्वी राजमार्गको १७ किलोमिटर क्षेत्र चितवन जिल्लामा पर्छ । ५३ किलोमिटर सडकको अधिकांश भाग त्रिशूली नदीकिनार हुँदै गएको छ ।

सडक ४० वर्षभन्दा पहिले बनेका हुन् । गाडीको संख्या र आकार सबै बढे बाटो मात्र बढेन, दुर्घटना धेरै हुनुको कारण यो पनि हो।

इलाका प्रहरी कार्यालय, मुग्लिङको क्षेत्रभित्र पर्ने सो खण्डमा आर्थिक वर्ष ०६३÷६४ देखि यो आर्थिक वर्षको पहिलो महिना साउनसम्म ३ सय १० जनाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार सोही अवधिमा चितवनभर सडक दुर्घटनाका कारण ज्यान जानेको संख्या ९ सय ५८ थियो ।

गाडी संख्या बढ्यो, बाटो बढेन

डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख मुकुन्द अधिकारी सडकभन्दा गाडीको चाप धेरै भएकाले जोखिम बढेको बताउँछन् । ‘सडक ४० वर्षभन्दा पहिले बनेका हुन् । गाडीको संख्या र आकार सबै बढे बाटो मात्र बढेन, दुर्घटना धेरै हुनुको कारण यो पनि हो,’ प्रमुख अधिकारीले भने । उनका अनुसार सुरुआती समयमा दिनमा मुस्किलले हजार गाडी गुड्ने सडकमा अहिले १० हजारसम्म गुड्छन् ।

‘त्यस बेलाभन्दा अहिलेका ट्रकको साइज नै कति लामो कति फराकिलो छ । बाटो त साँघुरो नै हो । दुर्घटना हुनुमा यसको पनि भूमिका छ,’ डिभिजन सडक कार्यालयमा प्रमुख अधिकारीले भने, ‘सडक साँघुरो, घुमाउरो त छ नै, बिग्रे–भत्केको पनि उत्तिकै छ । नदीमै जोडिएर बनेको सडकमा उचित पर्खालसम्म छैन।’

भदौ १० गते यात्रु बस खसेको ठाउँमा रहेको सडक रेलिङ निकै कमजोर खालको थियो जसलाई भत्काउँदै बस सडकबाट लगभग दुई सय मिटर तल त्रिशूली नदीमा खस्यो । पूर्वगृहमन्त्री घिमिरे चढेको जिप खसेको ठाउँको अवस्था पनि त्यस्तै देखिन्छ । अलि घुमाउरो ठाउँमा लगाइएको बार भत्केका कारण जिप रोकिन सकेन ।

यहीँ स्थानबाट भदौ २४ मा एउटा मालवाहक ट्रक त्रिशूलीमा खसेर हराएको थियो । त्यो बेला भत्केको बारको फलामे रेलिङ मर्मत नहुँदै घिमिरे चढेको जिप खस्यो । यो ठाउँबाट यी दुई गाडीबाहेक अरु पनि केही जिप र कार खसेर नदीमा बेपत्ता भएको स्थानीय बताउँछन् ।

मर्मतमा बेवास्ता

भदौ १० को बस दुर्घटनापछि चितवन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले दुर्घटनाका दृष्टिले जोखिममा रहेका सम्भावित स्थलको पहिचान गरे । प्रहरीले जोखिमयुक्त ३८ ठाउँ पहिचान गरी मर्मतका लागि नारायणगढ–मुग्लिङ सडक आयोजना र डिभिजन सडक कार्यालयमा अनुरोध गरेको छ ।

घिमिरेको जिप खसेको ठाउँमा पनि मर्मतका लागि अनुरोध गरिएको थियो तर घटना भएपछि त्यहाँ रेलिङ राखियो । प्रहरीले नारायणगढ–मुग्लिङ सडकका ३२ र पृथ्वीराजमार्गको चितवनभित्र पर्ने मौवा खोलासम्मको ६ स्थानमा जोखिम पहिचान गरेर मर्मतका लागि अनुरोध गरेको थियो । पृथ्वीराजमार्गमा मर्मतको काम पूरा भएको डिभिजन सडक कार्यालयमा प्रमुख अधिकारीले बताए ।

  नारायणगढ–मुग्लिङतर्फ नदी किनार छेक्ने रेलिङ राख्ने काम सकिए पनि पुलमा बाँकी रहेको सो सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

‘३२ ठाउँमध्ये १८ वटा पुलको रेलिङ राख्न छ, अरु रेलिङ र संकेत बोर्ड राख्ने हो । त्यसबाहेक काम ९० प्रतिशत सकियो,’ खनालले भने ।

दुर्घटना बढ्नुमा मुख्य दोष चालककै हो भन्छन्, चितवन जिल्ला प्रहरी कार्यालय प्रमुख, एपी वसन्त कुँवर। नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनाल पनि दासढुंगा पार भएसँगै पहाडी बाटो सुरु हुने हुँदा चालक सोहीअनुसार होसियार हुनुपर्नेमा नभएको पाइएको बताउँछन् ।

असोज ४ मा चितवन जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने असोज १० भित्रै सबै काम पूरा हुने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, काममा विलम्ब हुँदै गएको छ । आयोजनाका सूचना अधिकारी खनाल रेलिङको डिजाइन स्वीकृति हुनुपर्ने कारण केही समय लागेको बताउँछन् ।

होसियार छैनन् चालक

दुर्घटना बढ्नुमा मुख्य दोष चालककै हो भन्छन्, चितवन जिल्ला प्रहरी कार्यालय प्रमुख, एपी वसन्त कुँवर। नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनाल पनि दासढुंगा पार भएसँगै पहाडी बाटो सुरु हुने हुँदा चालक सोहीअनुसार होसियार हुनुपर्नेमा नभएको पाइएको बताउँछन् ।

‘समथर क्षेत्रमा भन्दा पहाडी बाटोमा दुर्घटनाको खतरा दोब्बर हुन्छ । चालकले यो कुरा ख्याल राखेर त्यहीअनुसार गाडी चलाउनुपर्छ । संकेत बोर्ड हेर्नुपर्छ । यसो गर्दा पनि दुर्घटना कम हुन्छ,’ इन्जिनियर खनालले भने । डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख मुकुन्द अधिकारी पनि चालक होसियार हुनुपर्ने बताउँछन् ।

उनले भने, ‘चालकले सडकअनुसार गाडी चलाउनुप¥यो । पहाडी बाटो हो, घुम्ती छ, साँघुरो छ भने होसियारसाथ चलाउने दायित्व पनि चालकको हो ।’ घिमिरेको जिप खसेको भन्दा लगभग ३० मिटर वर एउटा बोर्ड राखिएको छ जसमा सो क्षेत्र अति दुर्घटनाग्रस्त क्षेत्र भएका कारण होसियार भएर गाडी चलाउन अनुरोध गरिएको छ ।

यस्ता संकेत चिह्न वास्ता नगरिँदा दुर्घटना हुने गरेको अधिकारीको मत छ । ‘बाटोको अवस्थाअनुसार संकेत चिह्न राख्ने, मर्मत गर्ने काम भइरहेको छ । नारायणगढ–मुग्लिङ सडक नै विस्तार हुँदै छ । तर, यो बाटोको विशेषता के हो भन्ने कुराको ख्याल चालकले राख्नुप¥यो,’ एसपी कुँवरले भने ।

बेपत्ता हुने डर 

पछिल्लो समय त्रिशूलीमा हराइरहेका पूर्वगृहमन्त्री घिमिरे चढेको जिपको खोजी निकै भयो । प्रयास जारी नै छ, तर अवस्था पत्ता लाग्न सकेको छैन ।

एसपी कुँवरका अनुसार सडक र त्रिशूली नदीबीचमा २ सय मिटर अग्लासम्म ठाउँ छन् । गाडी खसे सीधै नदीमा जान्छ । गाडीका यात्रु मात्र होइन, सिँगै गाडी हराउने गरेको छ । ०७१ सालयता गएको साउनसम्म सो सडकबाट २० वटा गाडी खसेको प्रहरीले जनाएको छ जसमा ४० जनाको निधन भएको छ । ५८ जना घाइते भए भने नदीमा बेपत्ता हुनेको संख्या १९ छ ।

दुर्घटनासँगै यात्रु र गाडी नै हराउने समस्या रहे पनि उद्धारको उचित प्रबन्ध हुन सकेको छैन । घिमिरेको खोजीमा प्रगति हुन नसकेपछि सुरक्षा अधिकारी र आफन्तले आधुनिक उपकरण र प्रविधि उपयोग गर्न अपिल गरेका छन् । घटनास्थलमा मन्त्री र उच्च सुरक्षा अधिकारी जाने गरेका छन् । उनीहरूसँग यस्तो माग राख्ने गरिएको छ ।

‘मान्छेले सक्ने गरेकै छौं । यस्तो वेग र गहिरो नदीभित्र २५ मिटर तलसम्म गएर खोजे पनि केही पत्ता लागेको छैन,’ मध्यक्षेत्र ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी ईश्वरी चापागाईंले भने ।

दुर्घटना स्थलमा असोज १० गते यातायातमन्त्री रमेश लेखक नै पुगेका थिए । एसपी चापागाईंले लेखकसँग खोजीमा उपकरणको व्यवस्था हुनुपर्ने माग गरेका थिए । ‘पानीमा राखेर तलसम्म हेर्न मिल्ने क्यामेरा, एक्स–रे मेसिनजस्ता उपकरण यस्तो खोजीमा आवश्यक हुन्छ । त्यो व्यवस्था गर्नुपर्‍यो,’ मन्त्री लेखकसँग एसपी चापागाईंले भने । 

एसपी कुँवरका अनुसार नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको समेत गरेर डेढ सयजनाको टोली उद्धारमा खटेको छ ।

र्‍याफ्टिङ बोट, डोरी र हुकजस्ता परम्परागत उपकरणको प्रयोगले खोजी कार्य हुँदा उचित प्रगति हुन नसकेको पाइयो । ‘नदीको पिँधसम्म र परसम्म देख्न मिल्ने उपकरण भए सहज हुन्थ्यो । हामीसँग जे छन्, तिनै प्रयोग गरी खोजेका छौं,’ एसपी कुँवरले भने ।

सुरक्षा अधिकारी र आफन्तको कुरा सुनेपछि मन्त्री लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि सम्पर्क गरेर उपकरण विषयमा कुरा गरेका थिए । यस्तो संवेदनशील क्षेत्रमा त्यस्ता उचित र आधुनिक उपकरण र क्रेन राख्न सरकार संवेदनशील हुने मन्त्री लेखकको भनाइ थियो तर त्यस दिशामा सोचेअनुरूपको काम हुन सकेको छैन ।

नारायणगढ–मुग्लिङ सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाउने काम सुरु भएको छ । सन् २०१७ को अप्रिलसम्म काम सक्ने लक्ष्य राखेर विस्तार सुरु भए पनि प्रगति त्यसभन्दा आधा छ । अधिकारी सो सडक पूरा भए दुर्घटना जोखिम घट्ने आँकलन गर्छन् ।

‘सडक फराकिलो भएपछि दुर्घटना घट्छ । अहिले जोखिम ख्याल राख्दै सजग भएर गाडी चलाउनु नै सुरक्षित हुने मुख्य उपाय हो,’ डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्द अधिकारीले भने।

प्रकाशित: १९ आश्विन २०७३ ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App