७ वैशाख २०८१ शुक्रबार
समाज

टेलरवाला ट्याक्टरले बढाउँदै दुर्घटना

नियमविपरीत जोडिएको टेलरमा निर्माण सामग्री बोकेर सिरहाको लहानमा हुइँकिँदै गरेको ट्याक्टर। तस्बिरः मिथिलेश/नागरिक

लहान - पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पसाहा पुलनजिक राखिएको ट्याक्टरको टेलरमा गत शनिबार सरकारी जिप ठोक्किँदा त्यसमा सवार सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भयो भने प्रमुख जिल्ला अधिकारी (बारा) का गणेश भट्टराई गम्भीर घाइते भए। बा १ झ १६३३ नम्बरको उक्त जिप दुर्घटनामा घाइते भएका चालक जगत पटेल, सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव र नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ पनि घाइते भए। प्रमुख जिल्ला अधिकारी भट्टराईको अहिले काठमाडौंमा उपचार भइरहेको छ।

२०७४ माघ १० गते महोत्तरीको रामगोपालपुरनजिक ट्याक्टरको टेलर पल्टिँदा एकै टोलका चार जनाको ज्यान गयो। सिन्धुलीको हत्तपत्तेस्थित लंगुरखोला महादेवको मेला हेरेर ज १ त ३५१६ नम्बरको उक्त ट्याक्टरमा फर्कँदै गर्दा उनीहरू दुर्घटनामा परेका थिए। तीस जना सवार टेलर अनियन्त्रित भएर पल्टिएको थियो। यस्तै एक वर्षअघि सिरहा–चोहर्बा सडकमा ट्याक्टरकै टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो। विपरीत दिशाबाट आइरहेको बसलाई साइड दिने क्रममा ज ४ प १४६१ नम्बरको मोटरसाइकल स १ त १३१३ नम्बरको ट्याक्टरको टेलरमा ठोक्किन पुग्दा मोटरसाइकलमा सवार नरहा–८ का दीपेन्द्र यादवको मृत्यु भएको हो।

यस्तै चार वर्षअघि बा १ च ७१०० नम्बरको जिप पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्बानजिक राकेर राखिएको ना १ त १६४७ नम्बरको ट्याक्टरको टेलरमा ठोक्किँदा जिपमा सवार एक जनाको मृत्यु भयो भने एक महिला गम्भीर घाइते भइन्। दुर्घटनामा परी लहान–७ का उपेन्द्र साह र उनकी पत्नी उर्मिला घाइते भएका थिए। उपचारपछि उर्मिला बाँच्न सफल भए पनि उपेन्द्रको भने उपचारकै क्रममा सात दिनपछि मृत्यु भयो। यी सबै दुर्घटना टेलर झुन्ड्याएका ट्याक्टर राजमार्गमा हुक्याउँदाका परिणाम हुन्। खेत जोत्न, मल बोक्न र धान–पराल ओसार्न भनेर भन्सार छुटमा ल्याइएका त्यस्ता ट्याक्टरमा नियमविपरीत टेलर जोडिएका मात्र छैनन्, त्यसमा बालुवा–गिटी, रड, सिमेन्ट, इँटाजस्ता भारी निर्माण सामग्री पनि लोड गर्ने गरिएका छन्।

अरू सवारीसाधनमा जस्तै ट्याक्टरमा पनि संकेत बत्ती हुन्छन्। तर यसमा टेलर जोडेपछि ती बत्ती छोपिन्छन्। जसले गर्दा ट्याक्टर मोड्दा दायाँ–बायाँ संकेत बत्ती बलेको अरू गाडीका चालकले चाल पाउँदैनन्। यस्तै ट्याक्टरको इन्जिन र पछाडिको टेलरबीच सन्तुलन नहुनु दुर्घटनाको अर्काे कारण भएको ट्राफिक प्रहरी अधिकारीहरू बताउँछन्।

आर्थिक वर्ष २०६०÷०६१ मा सरकारले धान, पराल तथा मल बोक्न यातायात व्यवस्था कार्यालयको सिफारिसमा किसानलाई ट्याक्टरमा टेलर जोड्न दिने निर्णय गरेसँगै यसको दुरूपयोग बढेको हो। यातायात कार्यालयले सिफारिस गरेको साइजअनुसारको टेलर, यातायात व्यवस्था विभागबाट स्वीकृति प्राप्त वर्कसपमा बनाएर ट्याक्टरमा जोड्न पाइने प्रावधान छ। तर, यस क्षेत्रका अधिकत्तर ट्याक्टर धनीले आफ्नै इच्छाअनुसार टेलर झुन्ड्याउने गरेको यातायात व्यवस्था कार्यालय(जनकपुर)का शाखा अधिकृत उपेन्द्र महतो बताउँछन्। उनी भन्छन्, ‘जनकपुर अञ्चल यातायात कार्यालयअन्तर्गत दर्ता ट्याक्टरमा ट्रली(टेलर) जडान गर्ने अनुमति दिएका छैनौं।’ कृषि प्रयोजनका निम्ति नगन्य कर तिरेर भित्रिएका ट्याक्टर भाडाका सवारीसाधनसरह प्रयोग गरिनु गैरकानुनी कार्य भएको शाखा अधिकृत महतो बताउँछन्।

भन्सार छुटमा भारतबाट भित्रिने यस्ता ट्याक्टरले रुट इजाजत र सडक दस्तुर तिर्नुपर्दैन। राजमार्गमा नचलाउने सर्तमा ल्याइएका यस्ता ट्याक्टरका धनीले वार्षिक चार हजार रुपैयाँ मात्रै कर बुझाउँछन्। घरबाट खेत तथा खेतबाट घर र कहिलेकाहीं कृषि व्यापारीको गोदामसम्म मात्रै यस्ता ट्याक्टर लान पाइने नियम छ। तर नियमविपरीत जोडिएका टेलरमा अटी–नअटी निर्माण सामग्री र त्यसमाथि यात्रुसमेत राखेर ट्याक्टर राजमार्गमा हुइँक्याउँदा पनि कुनै कारबाही हुने गरेको छैन। प्रहरीका अनुसार यो काम ट्राफिक प्रहरीको हो। तर सडकमा कतै–कतै मात्रै खटिने ट्राफिक प्रहरीलाई ट्याक्टर चालकले सजिलै छल्ने गरेका छन्। प्रदेश २ ट्राफिक प्रहरी कार्यालय (पथलैया)का प्रमुख (एसपी) किरण बज्राचार्यका अनुसार यसरी नियमविरीत सडकमा ट्याक्टर गुडाएको पाइएमा ट्राफिक प्रहरीले जरिवाना गराउँछ। उनी भन्छन्, ‘जरिवाना लिने बाहेक ट्राफिक प्रहरीलाई अधिकार छैन।’

अरू सवारीसाधनमा जस्तै ट्याक्टरमा पनि संकेत बत्ती हुन्छन्। तर यसमा टेलर जोडेपछि ती बत्ती छोपिन्छन्। जसले गर्दा ट्याक्टर मोड्दा दायाँ–बायाँ संकेत बत्ती बलेको अरू गाडीका चालकले चाल पाउँदैनन्। यस्तै ट्याक्टरको इन्जिन र पछाडिको टेलरबीच सन्तुलन नहुनु दुर्घटनाको अर्काे कारण भएको ट्राफिक प्रहरी अधिकारीहरू बताउँछन्। ‘ट्याक्टरमा टेलर झुन्ड्याउने अनुमति नै दिनु हुँदैनथ्यो,’ ट्राफिक प्रहरीका एक अधिकृतले भने, ‘ट्याक्टरमा ट्रली जडान अनुमतिले मानवीय तथा वातावरणीय दुवै क्षति बढाएको छ।’

प्रदेश ट्राफिक प्रहरी कार्यालय(पथलैया)को तथ्यांकअनुसार गत आर्थिक वर्ष (२०७४/०७५) प्रदेश २ मा (सप्तरीदेखि पर्र्सासम्म)ट्याक्टर संलग्न दुर्घटनाको संख्या १ सय ३३ थियो। जम्मा दुर्घटना संख्या १ हजार १ सय ५ थियो। जसमा ३ सय ९४ जनाले ज्यान गुमाए। ८ सय २७ जना घाइते एवं अंगभंग भए। चालु आर्थिक वर्ष (२०७५/०७६) को पुस मसान्तसम्म ट्याक्टर संलग्न सवारी दुर्घटनाको संख्या ३७ पुगेको छ। जम्मा सवारीदुर्घटना ४ सय ३ छ जसमा २ सय ४ जनाले ज्यान गुमाएका छन्। दुई सय ९३ जना घाइते र अंगभंग भएका छन्।

प्रकाशित: १७ माघ २०७५ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App