७ वैशाख २०८१ शुक्रबार
समाज

काठ तस्करी बढेपछि कडा निगरानी

रौतहट - राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो बढेपछि रौतहट जिल्ला वन कार्यालयले कडा निगरानी गर्न थालेको छ। यस क्रममा एक हप्ताभित्र दुई सय क्युबिक फिट काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्ति तथा उनीहरूले प्रयोग गरेका सवारीसाधनसमेत समात्न वन कर्यालय सफल भएको छ।

पछिल्लो समय जिल्लाका जुडिबेला र जंगलसैया रेन्जपोस्ट अन्तगर्तका राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो आएपछि वन कार्यालयले निगरानी बढाएको हो। जिल्ला वन कार्यालयका अनुसार काठ लोड गरिएका ना ३ ख ४१२८ र ना ३ च ५७३७ नम्बरका बोलेरो गाडी, बीआर ०५ एए ६७५४ नम्बरको प्लाटिना मोटरसाइकल र आठवटा साइकल नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ। यस्तै राष्ट्रिय वनबाट काठ तस्करी गरिहेका बेला कटहरिया नगरपालिका–९, बलुवाका राजकिशोर साहलाई पक्राउ गरिएको वन कार्यालयले जनाएको छ।

साथै जिल्ला वन कार्यालयले आफ्नो मातहतका कर्मचारीलाई स्पष्टीकरणसमेत सोधेको छ। इलाका वन कार्यालय (जंगलसैया)का सहायक वन अधिकृत सोन्फी पासवानलाई उनको एरियामा काठ तस्करी बढेको भन्दै वन कार्यालयले स्पष्टीकरण माग गरेको हो। अधिकृत पासवानको एरियाबाट सशस्त्र प्रहरीले दुईपटक तथा जिल्ला वन कार्यालयले एकपटक गरी डेढ सय क्युबिक फिटभन्दा बढी काठ बरामद गरेपछि उनीसँग स्पष्टीकरण लिइएको जिल्ला वन कार्यालयका प्रमुख विनोद सिंहले जानकारी दिए। अहिले तीनवटा गाडीमा चौबीसै घन्टा सशस्त्र वन रक्षक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको टोली वनको गस्तीमा खटाइएको उनले बताए। काठ तस्करीमा अवरोध पुर्‍याउन वन क्षेत्रका मुख्य–मुख्य नाकामा खाल्डो खनिएको जिल्ला वन कार्यालयले जनाएको छ। बाटो असुरक्षित र वन कार्यालयको निगरानी बढेपछि काठ तस्करहरू केही मात्रामा हच्किएका छन्। राष्ट्रिय वन सखाप हुनै लागेको बेला वन कार्यालयले बढाएको निगरानीप्रति स्थानीय बासिन्दा विश्वस्त हुन सकेका छैनन्। विगतमा पनि यस्तै गरिएको तर केही समयपछि फेरि जस्ताको तस्तै भएको स्थानीय बासिन्दा बताउँछन्।

बिहान बाक्लो कुहिरो लाग्ने र राति अत्यधिक जाडो हुने समयमा गस्ती कम हुने भएकाले काठ तस्करहरू सक्रिय हुने गरेको सामुदायिक वन उपभोक्ता महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद तिमल्सिना बताउँछन्। जिल्लाका खासगरी दक्षिणी र पश्चिमी क्षेत्रका वनबाट भारतीय नम्बर प्लेटका बोलेरो, मोटरसाइकल र साइकलमा काठ तस्करी हुने गरेको उनको भनाइ छ।

प्रकाशित: १७ माघ २०७५ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App