८ वैशाख २०८१ शनिबार
राजनीति

सहिद परिवारलाई वेवास्ता गरेको गुनासो

काठमाडौं - पटकपटक भएका जनआन्दोलनसहित विभिन्न आन्दोलनमा घाइते भएका तथा सहिद परिवारजनले राज्यले बेवास्ता गरेको गुनासो पोखेका छन्। सहिद दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनसहित अन्य आन्दोलनका घाइते तथा सहिद परिवारजनले सो गुनासो गरेका हुन्।

जनआन्दोलन–२ का सहिद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले सम्झिन छाडेको गुनासो पोखे। ‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावले ज्यानको आहुति दिए तर राज्यले हामीलाई कहिल्यै पनि सम्झिएन्,’ छोरा द्रोणप्रसादले भने। सहिद दिवस देशव्यापी रूपमा मनाए पनि सरकारले परिवारजनको कुनै वास्ता नगरेको उनको गुनासो छ। सहिद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा सहादत प्राप्त गर्ने र घाइतेले राज्यबाट कुनै पनि सम्मान नपाएको गुनासो पोखिन्। ‘पार्टीका नेता तथा कार्यकर्ताले अन्तर्राष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारलाई भने केही पनि सम्मान नदिने अनि सम्झन पनि सकेको छैन, दुःख लाग्छ,’ शर्माले भनिन। निर्वाचनको बेला मात्रै दलका नेताले सहिद परिवार र घाइते सम्झिने गरेको तथा सत्तामा पुगेपछि चटक्कै बिर्सिने गरेको उनको आरोप छ।

सहिद वासुदेव घिमिरेकी धर्मपत्नी सुनिता घिमिरेले सरकारले सहिद परिवारजनको पीडा नसुनेको गुनासो पोखेकी छिन्। ‘हाम्रै श्रीमान्को रगतका कारण आज मुलुकमा ठूलो राजनीतिक परिवर्तन भयो तर परिवर्तनमा योगदान गर्ने परिवारजनलाई कुनै सहयोग गर्ने काम भएको छैन, सहिद परिवार संकटमा छन्’ उनले भनिन। सहिद चन्द्रबहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनका लागि २०६२÷०६३ को जनआन्दोलनका २१ जना सहिदहरुको सामुहिक सालिक बनाएर सम्मान गर्न आग्रह गरेकी छिन भने सहिद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै सहिद परिवारजनलाई बाँच्ने आधार बनाई दिनुपर्ने पनि माग गरे।

जनआन्दोलन–२ का घाइते मेघराज आचार्यले हालसम्म औषधी र उपचारको भरमा मात्रै बाँचेको अनुभव सुनाउँदै जनआन्दोलनका घाईतेको उपचारमा कुनै सहयोग नगरेकोमा दुःख व्यक्त गरेका छन्। ‘घाइतेलाई त राज्यले झन बढी अवहेलना गरेको छ’ आचार्यले भने। उनका अनुसार थप उपचारको लागि विदेश जान चाहेको भएता पनि राज्यले उपचारमा जानको लागि बन्देजसमेत लगाएको आरोप लगाए। स्वास्थ्य मन्त्रालयले वीर अस्पताल हाताकोे औषधि पसललाई तिर्नुपर्ने रकम नतिरिदिँदा थप सेवा लिन कठिनाइ परिरहेको उनको भनाइ छ।

जनआन्दोलन–२ का अर्का घाईते ढालबहादुर बस्नेतले लोकतन्त्रको लागि लड्दा अपांगताको जीवनयापन गर्नुपरिरहेको सुनाएका छन। ‘हामी जिउँदा सहिद हौं,’ अस्पताल धाउँदा धाउँदै घरबास गुमायौं, अहिले पनि पर्याप्त उपचार पाएका छैनन्, सयौं घाईतेको अपमान भएको छ,’ बस्नेतले भने।

प्रकाशित: १७ माघ २०७५ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App