७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल–भारत सुरक्षा प्रमुखबीच छलफल

राैतहट - भारतमा हुन गइरहेको लोकसभा निर्वाचनको विषयमा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीबीच विशेष तयारी छलफल भएको छ। भारतको मोतिहारीमा नेपाल भारत सीमावर्ती जिल्ला समन्वय समितिमा लोकसभा निर्वाचनको सन्दर्भमा सीमा सुरक्षा र सार्वजनिक चासोको विषयमा छलफल भएको हो।

आगामी मे महिनामा भारतमा हुन गइरहेको लोकसभा निर्वाचनमा नेपालको रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व र नवलरासी पश्चिम गरी ६ जिल्लाका सुरक्षा प्रमुखसित भारतको पूर्वी चम्पारण जिल्लाका सुरक्षा प्रमुखको सहभागिता थियो। मोतिहारीमा रहेको डा. राधाकृष्णानन्द भवनमा आयोजित बैठकमा लोकसभा चुनावलाई शान्तिपूर्ण बनाउन रणनीति बनाउने उदेश्यले छलफल बैठक आयोजना गरिएको सहभागी रौतहटका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी केदार ढकालले बताएका छन्।

छलफलमा रौतहटका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, नेपाल प्रहरीका रौतहट प्रमुख एसपी केदार ढकाल, सशस्त्र प्रहरी बल रौतहट प्रमुख एसपी कृष्ण ढकाल तथा राष्ट्रिय अनुसन्धान विभाग रौतहट प्रमुख एसपी अभिनय कुमार सिंहका साथै भारत बिहारको पूर्वी चम्पारण जिल्लाको सिमानासित जोडिएका अन्य पाँच जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो। छलफल बैठकमा भारत बिहारको मोतिहारीको जिल्ला निर्वाचन कार्यालय तथा सुरक्षासँग सम्बन्धित सम्पूर्ण निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। नेपालमा अपराध गरी भारतमा लुक्ने तथा भारतमा अपराध गरी नेपालमा लुक्नत्त रहेको र खुल्ला सिमानाको बेफाइदा अपराधीहरूले उठाइरहेको विषयमा गम्भीर छलफल भएको थियो। लागू औषध, मदिराज्य पदार्थ, हातहतियार, सीमा अतिक्रमण र अन्य आपराधिक गतिविधि कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी एसपि ढकालले बताएका छन्। चुनावको मौन अवधिका नेपालको सिमा क्षेत्रमा रहेका एफएमहरूलाई कुनै किसिमको चुनावी प्रचार प्रसारको सामग्री बजाउन नदिने तथा ४८ घन्टा अगावै सिमा सिल गर्ने कार्यमा सहयोग छलफल बैठकमा भारतीय सुरक्षा तथा निर्वाचन पक्षले आग्रह गरेका छन्।

भारतमा हुन गइरहेको लोकसभा निर्वाचनको समयमा मोतिहारीसित सिमाना जोडिएका छवटै जिल्लाका सुरक्षा प्रमुखहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लोकसभा निर्वाचनको तिथिमिति नतोकिएको अवस्थामा भारतीय पक्षले चुनावलाई गम्भीरतापूर्वक लिएर रणनीति तय गरेको र चुनावको तिथि तोकिएपछि पुनः छलफल बैठक बस्ने सहमति भएको एसपि ढकालले जानकारी गराएका छन्।

प्रकाशित: १७ माघ २०७५ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App