coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सोलारले सजिलो जीवन

नेपाल टेलिकमले टेलिफोन सुविधा दिन माडीको बाँदरझुलामा राखेको सोलार।तस्बिर : सविता/नागरिक

चितवन - माडी नगरपालिका वडा नम्बर ९ को बस्ती कुसुमखोला जंगलले घेरिएको छ। एक सय ६० घरधुरी रहेको बस्तीमा विद्युत् सुविधा छैन। बस्तीको एक छेउबाट अर्को छेउको पुग्न एक घण्टाभन्दा बढी लाग्छ। बस्तीका धेरै घरमा सोलार राखिएको छ। २१ वर्षीया शान्ति चेपाङले पनि सोलार राखेर कुखुरापालन गर्न थालेकी छन्। ‘सयवटा (कुखुरा) राखेको थियो, अलि अलि मर्‍यो’, उनले भनिन्, ‘बचेर हुर्केको सबै यही गाउँमै बेच्यो।’

माडीको वडा नम्बर ५ रमाइलो डाँडाकी ५३ वर्षीया हरिकला पाठकको घरमा नौ वर्षअघि सोलार राखेपछि बिहानबेलुकी घरमा काम गर्न टुकी बत्ती बाल्नुपर्ने बाध्यता हट्यो। सोलार राखेको अर्को वर्ष उनले घरमा बायोग्यास बनाइन्। वर्षभरि चाहिने दाउरा जंगल गएर खोजेर ल्याउनुपर्ने काम घट्यो। ‘दाउराभन्दा बायोग्याँसले छिटो पाक्ने भयो’, उनी भन्छिन्, ‘पकाउन धेरै सजिलो, धुवाँमा बस्नुपरेन, भाँडो काला भएन।’

खाना तताउन, तुरुन्तै खानेकुरा बनाउन सजिलो भएको उनले बताइन्। हरिकलाको तीनजनाको परिवारलाई दुई छाक खाना बनाउन र चियाखाजा बनाउन बायोग्यासले पुगिराखेको छ। घरमा एलपी ग्यास राखेकी छैनन्। दूध, दही, घिउ खान एउटा भैंसी पालेकी छन्। त्यही भैंसीको गोबरले बायोग्यास चल्छ। गोबरग्यासबाट निस्कने मल खेतबारीमा हाल्छिन्। त्यही मल हालेर लगाउने धानको परालले भैंसी पालिन्छ। वडा नम्बर ५ कै नयाँ पिपरियाकी ५२ वर्षीय मालिका पौडेल सात वर्षअघिसम्म लालटिन र टुकी बाल्थिन्।

बत्ती बाल्न मटीतेल कहिले सजिलै पाइन्थ्यो। कहिले धेरै दिन कुरेर, घन्टौं लाइन बसेर लिनुपथ्र्यो। घरमा २० वाटको सोलार जोडेपछि घर नै उज्यालो भएको उनी सम्झिन्छिन्। नयाँ पिपरिया गाउँलाई २०७३ मंसिर २५ गते गोबरग्यास नमुुना गाउँ घोषणा गरिएको छ। ७५ घरधुरीमध्ये ६० घरमा गोबरग्यास बनाइएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बघौडा उपभोक्ता समितिका अध्यक्ष प्रभु महतो बताउँछन्। गाईबस्तु चराउन वन लैजान्ने परम्परा हट्यो। यसले वन संरक्षण हुने, दाउरा बाल्दा जस्तो आगलागीको जोखिम धेरै नहुने उनले बताए।

माडी नगरपालिका जिल्लामै सबैभन्दा पछि विद्युत्सँग जोडिएको स्थानीय तह हो। २०७३ फागुनमा मात्रै विद्युत् पुगेको माडीमा गत वर्ष र यस वर्षको वर्षात्को समयमा हप्तौं अवरुद्ध भयो। घरधुरी सर्वेक्षण २०७४ अनुसार माडीमा ८ हजार ६ सय ४९ घरधुरी छन्। नगरपालिकाका आधाभन्दा बढी घरधुरीले अझै पनि सोलार प्रयोग गर्छन्। नगरपालिकामा ५ हजार ८७ परिवारले सोलार, ३ हजार २ सय ६४ परिवारले विद्युत्, २ सय ४७ परिवारले टुकी, ३४ ले मैनबत्ती, ११ परिवारले लालटिन र १५ परिवारले गोबरग्यासबाट बत्ती बाल्ने गरेका छन्। खाना पकाउने इन्धनका रुपमा ४ हजार ८ सय २४ परिवारले दाउरा, २ हजार ५ सय ८७ परिवारले एलपी ग्यास, १ हजार १ सय ५९ परिवारले बायोग्यास, ३० परिवारले विद्युत्, ४९ परिवारले मटीतेल, गुइँठालगायत प्रयोग गर्ने गरेका छन्। माडी नगरपालिकाका केही बस्ती अझै पनि विद्युत्सँग जोडिएका छैनन्। वडा नम्बर ९ को बाँदरझुलामा पनि विद्युत् सुविधा पुगेको छैन। बस्तीमा टेलिफोन सुविधा दिन नेपाल टेलिकमले स्थापना गरेको टावर सञ्चालनका लागि सोलार प्रयोग गरिएको छ।

माडीलाई उज्यालो बनाउन र माडीबासीको जीवनयापन सहज बनाउन सोलार, बायोग्यास प्रभावकारी भएको उपमेयर ताराकुमारी काजी महतोले बताइन्। ‘सोलार भएर सजिलो भयो नत्र टुकीकै भर परेर बाँच्नुपथ्र्यो’, उनले भनिन्, ‘अहिले पनि माडीका आधाभन्दा कम घरमा मात्र विद्युत् पुगेको छ।’ महिलाको दिन बिहानबेलुका खाना बनाउने र दिनभरि जंगल जाँदैमा बित्ने गरेकोमा अहिले आयआर्जनका कामसमेत गर्न थालेको उनी बताउँछिन्। तरकारी खेती, पशुपालन, कुखुरापालनमा लाग्ने महिलाको संख्या बढ्दै गएको छ।

सोलारले चल्छ होमस्टे
माडी नगरपालिका वडा नम्बर ८ शिवद्वारमा पुन मगर समुदायले होमस्टे चलाएको छ। २०७२ को पुस १२ मा सुरु गरिएको होमस्टेमा ११ घर सहभागी छन्। प्रत्येक घरमा पाहुनाका लागि दुई वटा कोठा व्यवस्था गरिएको छ। होमस्टे सञ्चालन गरेको तीन वर्षको अवधिमा १० हजार एक सय पाहुनाको सत्कार गरिएको होमस्टे सञ्चालक समिति अध्यक्ष मोहनबहादुर पुन मगरले जानकारी दिए। जंगलले घेरिएको र बन्यजन्तुको त्रास भएको ठाउँमा पाहुना आउँदैनन् कि भन्ने डर मान्दै होमस्टे सुरु गरेको उनले बताए।

होमस्टे सुरु गरेदेखि नै स्वदेशी र विदेशी पर्यटकले भरिभराउ नै भइरहेको छ। होमस्टे सुरु गर्दा गाउँमा विद्युत् थिएन। होमस्टे नम्बर ८ का सञ्चालक ठिलबहादुर पुन मगरले घरमा सोलार राखेको ३० वर्ष भइसक्यो। उनले सोलार राखेकै वर्ष घरमा बायोग्यास प्लान्ट बनाएका थिए। घरमा जडान गरिएको सोलार र बायोग्यास अहिले पनि प्रयोग हुन्छन्। होमस्टे सुरु गर्नुअघि उनको घरमा बत्ती बाल्नमात्र सोलार थियो। होमस्टे सुरु भएपछि तीन फरक क्षमताका सोलार राखिएको छ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष मोहनबहादुरको घरमा पनि चारवटा सोलार छन्। ‘घरका लागि ४५ वाटको राखेको थियो, होमस्टेका लागि भनेर सय वाट, तातो पानीका लागि एउटा र इनारबाट पानी तानेर ट्यांकीमा चढाउन ३ सय वाटको सोलार राखेका छौं’, उनले भने, ‘केही अनुदान सहयोगमा र केही आफैंले खर्च गरेर राखिएको छ।’

प्रकाशित: १७ माघ २०७५ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App