८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गाेविन्द केसीकाे स्वास्थ्य अवस्थाबारे बुधबार जानकारी लिने क्रममा पूर्वन्यायाधीश सुशीला कार्की । तस्बिर : दिनेश गाेले/ नागरिक

काठमाडौं - चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ। केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्।

डा. केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। उनी अनशन बसेको बुधबार २२ दिन पुगेको छ। लामो समयसम्म खाना नखाँदा केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको चिकित्सकले जनाएका छन्। चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर केसी अनशन बसेको यो सोह्रांैपटक हो। अहिले उनी त्रिवि शिक्षण अस्पताल, काठमाडौंको गणेशमानसिंह भवनमा अनशनरत छन्।

डा. केसीको मुख्य माग १५औं अनशनका क्रममा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनाउनुपर्ने छ। सरकारले सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक ल्याउने तयारी गरेपछि त्यसको विरोधमा केसी १६औं पटक अनशन थालेका हुन्। तर सरकारले विधेयक सच्याउनुपर्ने केसीको माग सुनुवाइ गरेन। उनी अनशन बसेकै बेला सरकारले प्रतिनिधिसभामा विधेयक पेस ग-यो। गत शुक्रबार प्रतिनिधिसभाले पारित गरेको सो विधेयक अहिले राष्ट्रियसभामा पुगेको छ। सरकारले केसीका माग पूरा भएको दाबी गरेको छ।

चिकित्सक संघका अनुसार देशभरका मुख्य सहरहरु विराटनगर, धरान, जनकपुर, चितवन, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगन्ज, धनगढीलगायतमा चिकित्सक डा. केसीको पक्षमा सडकमा उत्रेर प्रदर्शन गरेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले पनि केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको जीवनरक्षाका लागि देशभर चिकित्सक सडकमा आएको संघले जनाएको छ। चिकित्सकले केसीमो समर्थनमा रिले अनशन पनि जारी राखेका छन्।

संघकै नेतृत्वमा त्रिवि शिक्षण अस्पताल, काठमाडौंमा केसीको पक्षमा सोमबारदेखि सुरु रिले अनशन पनि जारी छ। रिले अनशनमा सोमबार र मंगलबारको तुलनामा बुधबार चिकित्सकहरुको उपस्थिति उल्लेख्य रहेको सहयोगी डा. अभिषेकराज सिंहले बताए। केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेकाले सरकारको ध्यानाकर्षण गराउन चिकित्सक रिले अनशन बस्न र सडकमा उत्रिनुपरेको उनले बताए। केसीले आफूले अघि सारेका माग पूरा नभएसम्म अनशन नतोड्ने र संघन उपचार पनि नलिने अडान राखेका छन्। यस्तो अवस्थामा केसीको स्वास्थ्यमा कुनै पनि बेला संकट आउन सक्ने खतरा रहेको उनका सहयोगी बताउँछन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका आवसीय चिकित्सकले पनि डा. केसीको माग पूरा गराउन र जीवनरक्षाका लागि तत्काल वार्ता थाल्न सरकारलाई दबाब दिन बुधबारदेखि रिले अनशन सुरु गरेका छन्। प्रतिष्ठानअन्तर्गतका चिकित्सकले वीर अस्पतालदेखि वसन्तपुरसम्म -याली निकालेर केसीको पक्षमा ऐक्यबद्धता जाहेर गरे।

सरकारलाई दबाब दिन बिहीबार माइतीघर मण्डलामा बृहत सभा तथा प्रदर्शनी गर्ने जानकारी संघका अध्यक्ष डा. मुक्तिराम क्षेष्ठले दिए।]

मागप्रति पूर्वप्रधानन्यायाधीश कार्कीको ऐक्यबद्धता

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत डा. केसीको मागमा ऐक्यबद्धता जनाएकी छिन्। केसीको स्वास्थ्य अवस्था बुझ्न र मागमा ऐक्यबद्धता जनाउन कार्की बुधबार त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन्। उनले डा. केसीको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेकी छिन्। डा. केसीको माग पूरा गर्दा राज्यलाई घाटा नहुने उनले बताइन्। केसीको अनशनकै कारण चिकित्सा शिक्षा सुधारतर्फ उन्मुख भएको औंल्याउँदै कार्कीले सरकारले माग पूरा गर्न इन्कार गरे तीन करोड नेपालीमाथि अन्याय हुने पनि बताइन्। ‘केसीको माग पूरा गर्नु भनेको तीन करोड नेपालीको जित हुनु हो,’ उनले संवाददातासँग भनिन्, ‘त्यो जित राष्ट्रको पनि हो। प्रधानमन्त्रीजीको पनि जित हो। तपाईं, हामी, सबैको जित हो।’

डा. केसीसँग पहिला गरेको वचनबद्धताबाट प्रधानमन्त्री केपी शर्मा ओली पछाडि हट्न नहुनेमा पूर्वप्रधानन्यायाधीश कार्कीले जोड दिइन्। केसी नेपाली जनताको पक्षमा लडेको दाबी गर्दै कार्कीले माग तत्काल सम्बोधन गर्न सरकारलाई अनुरोधसमेत गरिन्। कानुन बनाउने सांसदले पनि केसीका माग सम्बोधनका लागि पहल गर्नुपर्ने उनले बताइन्।

डा. केसीसँग तत्काल संवाद गर्न आग्रह
ब्रिटेन–नेपाल प्राज्ञिक परिषद्का संस्थापक अध्यक्ष तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्राध्यापक सूर्यप्रसाद सुवेदीले अनशनरत डा. केसीसँग तत्काल संवाद थाल्न सरकारलाई अनुराध गरेको छन्। प्राध्यापक सुवेदीले बुधबार विज्ञप्ती जारी गर्दै संसद्बाट पारित चिकित्सा शिक्षा विधेयकलगायत उच्च शिक्षासम्बन्धी सबै कानुनको पुनरावलोकन गरी दीर्घकालीन नीति निर्माणका लागि आवश्यक कदम चाल्नसमेत उनले सरकारलाई आग्रह गरेका छन्। सरकारले डा. केसीसँग संवाद नथालेकोमा चिन्ता व्यक्त गर्दै सुवेदीले मागहरु मूलतः चिकित्सा क्षेत्रको बेथिति अन्त्यसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। नेपालको उच्च शिक्षा क्षेत्र नै बेथितिको सिकार हुँदै आएकोमा समेत सुवेदीले चिन्ता व्यक्त गरेका छन्। उनले विज्ञप्तिमा लेखेका छन्, ‘सम्पूर्ण उच्च शिक्षाको स्तर सुधार गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने प्रस्तावसहित डा. केसीसँग संवाद सुरु गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।’ संसारका उत्कृष्ट विश्वविद्यालयमा विभिन्न विधामा अध्यापन, अनुसन्धान र व्यवस्थापनमा अनुभव संगालेका प्राज्ञिकहरुको संस्था ग्लोबल पोलिसी फोरम फर नेपाल उच्च शिक्षा क्षेत्रमा अन्तर्र्रा्ष्ट्रिय मापदण्डअनुसार सुधार गर्न नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

पेशागत संगठनले आज प्रदर्शन गर्ने
लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीवीले डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार माइतीघरमा बृहत् प्रदर्शन गर्ने भएका छन्। माइतीघर मण्डलाबाट दिउँसो १ बजेदेखि प्रदर्शन सुरु हुने र बानेश्वर पुगेर कोणसभामा परिणत हुने प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिए।

डा. केसीको स्वास्थ्य उच्च जोखिममा
डा. केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा रहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार केसीलाई श्वास फेर्न कठिन भइरहेको छ। उनको छातीमा दुखाइका कारण श्वासप्रश्वासमा समस्या आएको उपचारमा संलग्न चिकित्सक डा. प्रमेश क्षेष्ठले जानकारी दिए। केसीको स्वास्थ्य निरन्तर खस्कँदो अवस्थामा रहेका र शरीरमा सेता रक्तकोष पनि घट्दै गएकाले स्वास्थ्यमा कुनै पनि बेला जोखिममा पर्ने खतरा रहेको श्रेष्ठले बताए। केसीलाई सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ। तर केसीले आइसियूमा उपचार गर्न अस्वीकार गरेको जानकारी श्रेष्ठले दिए। केसीलाई सक्रमणको उच्च जोखिम रहेकाले चिकित्सकले निरन्तर निगरानी राखेका छन्। केसीको शरीरमा अक्सिजन, ग्लुकोज, पोटासियमको मात्रा पनि घटेको छ। निद्रामा पनि समस्या देखिएको क्षेष्ठले बताए।

प्रकाशित: १७ माघ २०७५ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App