८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सरकारले मनायो पहिलोपटक शहीद दिवस

मकवानपुर– तीन नम्बर प्रदेश सरकारले पहिलोपटक धुमधामका साथ सहिद दिवस मनाएको छ। प्रदेशको राजधानी हेटौंडा ११ स्थित सहिद स्मारकमा रहेको प्रतिमामा माल्यार्पण लगायत बिशेष कार्यक्रम गरि दिवस मनाइएको हो।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माण गर्न सहिदहरुले देखाएको बाटोमा हिड्नुको विकल्प नभएको बताएका छन्। ‘समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा गर्न हामी अघि बढिरहेका छौं’, उनले भने, ‘केही वर्ष भित्रमा नै सम्पन्न, सुखी र समृद्ध बन्ने छ।’

सहिदलाई साँचो रुपमा सम्मान गरी उनीहरुले देखाएको बाटोलाई अनुसरण गर्नुपर्नेमा जोड दिदै उनले सहिदकै योगदानले देशमा लोकतन्त्र, गणतन्त्र आएको बताए।

सहिद स्मारक विकास समितिका अध्यक्ष समेत रहेका उनले सहिद स्मारकमा भावना जोडिएको भन्दै बरु मुख्यमन्त्री छाड्न सक्ने तर समितिको अध्यक्ष छाड्न नससकेको बताए।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले सहिदहरुले देखेका धेरै सपना पुरा गर्नु आफूहरुको दायित्व भएको बताए। ‘समानता र सामाजिक न्यायको कुरा गर्दा सहिदहरुलाई सम्झनै पर्छ’, उनले भने, ‘इतिहासले सुम्पेको जिम्मेवारी पुरा गर्न हामी सबै लाग्नुपर्छ।’ 

कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग, वन बातावरण तथा पर्यटन मन्त्री अरुण नेपाल, मुख्य न्यायधिवक्ता सुर्यचन्द्र न्यौपाने लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

सहिदहरुको प्रतिमामा माल्यार्पण, पुष्पगुच्छा अर्पण गरी सम्मान गर्नु अघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो। कार्यक्रम अघि पूर्व–पश्चिम राजमार्गको हेटौंडा–११ नवलपुरबाट शुरु गरिएको प्रभातफेरी स्मारक पुगेर कोण सभामा परिणत गरिएको थियो। 

प्रदेश सरकारले औपचारिक रुपमा सहिद दिवस मनाउन मुख्यमन्त्री पौडेलको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको थियो। यसैबिच, प्रदेश सरकारले पहिलोपटक शहिद दिवसका दिन सार्बजनिक बिदा दिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा माघ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले शहिदहरुको सम्मान गर्दै बिदा दिने निर्णय गरेको थियो।

यस्तो छ सहिद स्मारकको विशेषता 

सहिद स्मारकमा २४ बर्ष अघि निर्मित एउटै बिशाल २५ टनको ढुङ्गामा १२ सहिदको मुखाकृत कुँदिएको स्तम्भ छ।  तत्कालीन बेलायती सेनाविरुद्ध लडेर वीरगति प्राप्त गरेका भक्ति थापा, राणा शासनविरुद्धको लडाइँमा अमरत्व प्राप्त गर्ने दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री, किसान आन्दोलनमा सदाहत पाएका भीमदत्त पन्त र पञ्चायतविरुद्ध लड्दा जीवन गुमाएका रत्नकुमार बान्तवा, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, वीरेन्द राजवंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका छन्। 

बगैचा र नेपालको नक्सासहित १९ मिटर गोलाइ तथा ६५ फिट अग्लो बिशाल सहिद स्तम्भ पनि छ। करिब १ करोड ५० लाख लागतमा निर्मित सहिद स्तम्भको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। स्तम्भमा सहिदहरूको अमूर्त चित्र, आन्दोलनमा प्रयोग भएका बन्दुक, लाठी, गोला, बारुद लगायतको चित्र अङ्कीत छन्।

नेपालका सहिदहरुको बारेमा जानकारी दिने उदेश्यले सहिद अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा सञ्चालित सहिद ग्यालरीमा सहिदबारे पुस्तक, फोटो, लेखहरु रहेका छन्।

सामुदायिक बन भित्र रहेको सहिद स्मारकमै बगैंचा, मिनी चिडियाखाना, सशुल्क झोलुङ्गे पुल, मदन वाटिका, पिकनिक पार्क, स्वीमिङ्ग पुल, रोटेपिङ, बाल उद्यान, थाहा स्तम्भ, दृश्यावलोकन टावर लगायत रहेका छन्। स्मारकमै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वहरुको सम्झनामा प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ। पार्कमा वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिक राखेपनि औपचारिक उद्घाटन गरिएको छैन।

स्मारकमा वार्षिक करिव ३ लाख पर्यटकले अवलोकन गर्ने सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए। हेटौंडाको मुख्य बजारबाट ७ किलोमिटर पश्चिममा रहेको स्मारकको २०५१ माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले अनावरण गरेका थिए।

प्रकाशित: १६ माघ २०७५ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App