८ वैशाख २०८१ शनिबार
प्रवास

डा. केसीसंग संवाद गर्न प्राध्यापक सुवेदीको आग्रह

काठमाडौं – ब्रिटेन नेपाल प्राज्ञिक परिषद् तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले अनशनरत डा. गोविन्द केसीसँग तत्काल संवाद गर्न सरकारसँग आग्रह गरेका छन्।

लन्डनबाट प्रेस विज्ञप्ति जारी गर्दै सुवेदीले नेपालको जनआन्दोलन लगायतका सबै उतारचढावमा नेपाली जनतालाई निरन्तर सहयोग गर्दै आएको प्रवासी नेपाली बौद्धिक समुदाय नेपालमा बढ्दो भ्रष्टाचार, शिक्षालाई सेवा भन्दा व्यापारको रुपमा हेर्ने प्रवृत्ति र डा. केसीसंग सरकारको संवाद शुन्यताको स्थितिबाट चिन्तित भएको बताएका छन्।

प्रा.सुवेदीले डा.केसीका मागहरु मुलतः चिकित्सा क्षेत्रको बेथितीसंग रहेकाले वार्ताद्वारा समाधान निकाल्न सरकारलाई आग्रह गरेका हुन्। “नेपालको सम्पूर्ण उच्च शिक्षा क्षेत्र नै बेथितीको शिकार भएको धेरै वर्ष भइसकेको छ। तसर्थ हालै संसदबाट पारित चिकित्सा शिक्षा ऐन लगायतका उच्च शिक्षा क्षेत्र सम्बन्धि सबै ऐन कानुनको पुनरावलोकन गरि दीर्घकालिन नीति निर्माणका लागि आवश्यक कदम चाल्न नेपाल सरकारसंग आग्रह गर्दछु।” विज्ञप्तिमा भनिएको छ।

विद्यार्थीलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्ने प्रवृत्ति र विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा राजनीतिक भागवण्डा गर्ने प्रवृत्तिको अन्त्य गर्ने अठोटका साथ सम्पूर्ण उच्च शिक्षाको स्तर सुधार गर्न एक उच्चस्तरिय आयोग गठन गर्ने आश्वासन र प्रस्तावसहित डा. केसीसंग संवाद सुरु गर्न नेपाल सरकारलाई प्रा. सुवेदीले आग्रह गरेका छन्।

संसारका उत्कृष्ट विश्वविद्यालयमा विभिन्न विद्यामा अध्यापन, अनुसन्धान र व्यवस्थापनमा अनुभव संगालेका प्राज्ञिकहरूको संस्था ग्लोबल पोलिसी फोरम फर नेपाल उच्च शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधार गर्न नेपाल सरकारसंग सहकार्य गर्न तयार रहेको कुरा पनि प्रा. सुवेदीले आफ्नो विज्ञप्तिमा व्यक्त गरेका छन्।

प्रकाशित: १६ माघ २०७५ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App