coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कम्पनी खोज्न प्रस्ताव माग्दै प्राधिकरण

फाइल फाेटाे

काठमाडौं – नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा चलाउन नेपालमा रहेका विभिन्न मुलुकका दूतावाससँग प्रस्ताव माग गर्ने तयारी गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि नै गरिसकेको छ।

प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरव आयोजना कार्यालय प्रमुख प्रदीप अधिकारीका अनुसार जिटुजी मोडलमा विमानस्थल सञ्चालन गर्न सरकारले विश्वप्रसिद्ध कम्पनीहरु छनोट गर्नेछ। सोही कम्पनीको प्रस्ताव माग गर्न विभिन्न देशका दूतावासमा पत्राचार गर्न लागिएको हो। उनका अनुसार अनौपचारिक रुपमा विभिन्न देशका मन्त्री तथा प्रधानमन्त्रीमार्फत पनि छलफल भइरहेको छ।

अधिकारीले सरकारले विश्वका अनुभवी कम्पनी छान्ने नीति लिए पनि त्यो कम्पनीको जिम्मा सम्बन्धित सरकारले लिने बताए। ‘कम्पनी छनोटमा दूतावास हुँदै सरकारसम्म पुग्ने र छनोट हुने कम्पनीको जिम्मा पनि त्यही सरकारले लिने व्यवस्था गरिनेछ,’ अधिकारीले मंगलबार नागरिकसँग भने।

उनका अनुसार यो मोडलमा सञ्चालन गर्दा अग्नि नियन्त्रण, हवाई उड्डयन सेवा, हवाई उडान व्यवस्थापनको जिम्मेवारी प्राधिकरणले लिनेछ। बाँकी सबै जिम्मेवारी तथा कार्य जिटुजी अन्तर्गत जिम्मा लिने कम्पनीले गर्नु पर्नेछ। विश्वमा नामी कम्पनी जिटुजी अन्तर्गत आए विमानस्थलको सेवा चुस्त–दुरुस्त रहने अनुमान प्राधिकरणको छ। विशेष गरी कतार, साउदी अरेयिबा, जर्मनी लगायत देशले विमानस्थल सञ्चालनमा चासो देखाएका छन्। छिमेकी र अन्य देशहरु पनि जिटुजी मोडलमा विमानस्थल सञ्चालनको लागि इच्छुक रहेको अधिकारीले बताए।

प्राधिकरणको प्रारम्भिक अध्ययनले जिटुजी मोडल उपयुक्त हुने देखिएपछि यसै अनुसार जान खोजिएको हो। अध्ययनअघि सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा जाने  विषयमा पनि छलफल भएको थियो। अर्थ मन्त्रालयले पनि जिटुजी मोडलमै जान सुझाव दिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार जिटुजी मोडलमा विमानस्थल सञ्चालन नमुनाको रुपमा हुन लागेको हो। ‘विमानस्थललाई प्रभाकारी बनाउन जिटुजी मोडलमा सञ्चालन गर्नुपर्ने देखिएको छ,’ मन्त्री अधिकारीले मंगलबार नागरिकसँग भने, ‘परीक्षणको रुपमा गौतमबुद्ध विमानस्थललाई यो मोडलमा सञ्चालन गरिनेछ।’ यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको उनले बताए।

प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार जिटुजी मोडल अन्तर्गत विश्वप्रसिद्ध कम्पनीबाट विमानस्थल सञ्चालन हुँदा यात्रुले गुणस्तरीय सेवा पाउनेछन्। प्राधिरकणले आम्दानी समेत राम्रै पाउनेछ। तर, कुन मोडालिटीमा आम्दानी लिने भन्ने विषय निक्र्योल भइसकेको छैन। प्रस्तावना माग गर्दा बक्यौताको मोडालिटी पनि निक्र्योल हुने उनले बताए। वार्षिक निश्चित रकम, वार्षिक आम्दानीबाट निश्चित प्रतिशत वा निश्चित आम्दानी गराउने प्रतिबद्धता अनुसार बक्यौता निक्र्योल गरिने प्राधिकरण स्रोतले बतायो। अहिले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरण आफैंले सञ्चालन गर्दै आएको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सन् २०१६ मा गौतमबुद्ध विमानस्थल निर्माण सुरु भएको थियो। विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ। विमानस्थलमा तीन हजार मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग छ। धावनमार्ग कालोपत्रेको काम सम्पन्न हुने चरणमा छ। टर्मिनल भवन समेत निर्माणको अन्तिम चरणमा पुगेको छ। बाँकी उपकरण, राडार, बत्ती तथा प्रविधि जडानको लागि टेन्डर प्रक्रियाबाट कम्पनी छनोट हुँदैछ।

प्रकाशित: १६ माघ २०७५ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App