८ वैशाख २०८१ शनिबार
समाज

टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने

काठमाडौं – सोनाम ल्होछार मूल आयोजक समितिले माघ २१ र २२ गते टुँडिखेलमा तामाङ साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त महोत्सवमा तामाङ समुदायका मौलिक खाना, भेषभूषा, पुस्तक, मौलिक कला, संस्कृति र अन्य महत्वपूर्ण सामग्री प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ। साथै, सांस्कृतिक कार्यक्रम, मैत्रीपूर्ण फुटबल, स्वास्थ्य शिविर लगायत महोत्सवमा समेटिनेछन्। महोत्सवको पहिलो दिन माघ २१ गते मैत्रीपूर्ण ल्होछार कप फुटबल प्रतियोगिता, ताम्बा, लामा र बोन्बोबाट पूजापाठ र सांस्कृतिक कार्यक्रम र साँझमा दीपावली गरिने र दोस्रो दिन माघ २२ गते रत्नपार्कबाट सांस्कृतिक र्यालीसहित टुँडिखेलमा विशेष समारोह आयोजना गरिने छ।

नेपाल तामाङ घेदुङको संयोजकत्वमा गठित समितिमा सयभन्दा बढी तामाङ संघसंस्था आवद्ध रहेको घेदुङका महासचिव महितकुमार तामाङले जानकारी दिए। ‘सोनाम ल्होछार तामाङ समुदायले नयाँ वर्ष आरम्भको रूपमा मनाउने गर्छ,’ उनले भने, ‘प्रत्येक वर्ष माघ महिनाको शुक्लपक्षमा प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ वर्ष एकै दिन पर्छ।’ ल्हो (वर्ग–वर्ष)को गणना १२ वटा जीवजन्तुको नामबाट गर्ने प्रचलन रहेको उनले बताए। सोनाम ल्होछार यो वर्ष माघ २२ गते परेको छ।

यो वर्ष ल्हो (कुकर वर्ष) को बिदाइ गरी फाग् ल्हो (सुंगुर वर्ष)को स्वागत गरिने महासचिव तामाङले बताए। विगतमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले तामाङ तथा ल्होछार मनाउने समुदायमाथि विभेद गरेको उनको भनाइ छ।

प्रकाशित: १६ माघ २०७५ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App