८ वैशाख २०८१ शनिबार
विचार

सहिदका आदर्श र सपनाहरू

प्रा.डा. श्रीरामप्रसाद उपाध्याय

सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको समुन्नतिको निम्ति बलिदान हुनु हो। नेपालमा प्रत्येक वर्ष यस्ता ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्ने गरिन्छ। अधिनायकवादी शासन व्यवस्थाको विरुद्धमा नेपाली जनताले आवाज उठाउन थालेको निकै वर्ष भएको छ। तर सहिदहरूप्रति सम्मान गर्ने परम्पराको थालनी प्रजातन्त्रको उदयपछि नै भएको हो।

राणा शासनको विरुद्धमा लखन थापा मगरले गोरखाबाट सशस्त्र विद्रोहको थालनी गरेका थिए। यस विद्रोहमा लखन थापा मगरलाई साथ दिनेमा जयसिंह चुमी मगर, अछामी मगर, दिङ्गलाका सन्त ज्ञान दिलदास र कालु लम्साल पनि थिए। राणा प्रधानमन्त्री जंगबहादुरले विद्रोह दमन गरी विद्रोहमा संलग्न हुनेहरूलाई मृत्युदण्ड दिएका थिए। लखन थापा मगरलाई उनकै जन्मस्थान गोरखा बुङकोटको काउलेभंगारमा  झुन्डाएर मृत्युदण्ड दिइयो। सन्त ज्ञान दिलदास र कालु लम्साल ब्राह्मण भएको कारण मृत्युदण्डबाट बचेका थिए। यसका साथै राणा शासनविरुद्धको अन्दोलनमा झाङ्गल गुरुङ जस्ता युवाहरूको पनि महत्वपूर्ण योगदान रहेको थियो।

चन्द्र शमशेरको शासनकालमा सुब्बा कृष्णलाल अधिकारीले मकैको खेती लेखेर राणा शासनप्रति व्यंग्य र किसानहरूलाई मकैको खेतीमार्फत जागृत गर्ने काम गरेका थिए। मकैको खेती लेखेबापत उनलाई कठोर जेलको सजाय दिइएको थियो। यिनी जेलमा नै सहिद भएका थिए।

राणा शासनविरुद्धको आन्दोलन यतिमा शान्त भएन। देशभक्त युवाहरूले संगठित भएर प्रजापरिषद् नामको संस्था खोलेर क्रान्तिलाई व्यवस्थित गर्ने योजना बनाएका थिए। काठमाडौँको ओमबहालमा गोप्य रूपमा स्थापना गरिएको प्रजापरिषद्का संस्थापक सदस्यहरूमा दशरथ चन्द, टङ्कप्रसाद आचार्य, धर्मभक्त माथेमा र रामहरि शर्मा पर्थे।

नेपाली युवाहरूले राणा शासनको विरुद्धमा जनजागृति ल्याउन शिक्षालाई सशक्त माध्यमका रूपमा प्रयोग गरेका थिए। यसैको परिणामस्वरूप काठमाडौँको खिल्ह टोलमा महावीर स्कुलको स्थापना गरेका थिए। यसका संस्थापकहरूमा चिनियाँमान सिंह मुख्य थिए। अमर सहिद गंगालाल श्रेष्ठ यस स्कुलका शिक्षक तथा महावीर स्कुलका संस्थापक सदस्य थिए। यिनी विद्यार्थीहरूलाई राणा शासन विरुद्धको आन्दोलनमा लाग्न अभिप्रेरित गर्थे। महावीर स्कुलको स्थापना गर्ने युवाहरूमध्ये फत्तेबहादुर र चिनियाँमान सिंहलाई आजन्म कैदको सजाय दिइयो। चिनियाँमान सिंहको कैदखानामा नै निधन भयो।

राणा शासनको विरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउन प्रजा परिषद्ले आफ्नो गतिविधिलाई अझै अगाडि बढायो। १९९७ आषाढ ९ गते प्रजापरिषद्ले राणा शासनविरुद्ध काठमाडौँमा पर्चाबाजी सुरु गर्यो। राणा शासकहरूले प्रजा परिषद्को गतिविधिमाथि नियन्त्रण गर्न यसका नेताहरूलाई धरपकड गर्न सुरु गर्यो। १९९७ माघ ६ गते बसेको राणा शासकहरूको विशेष अदालतले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

शुक्रराज शास्त्री प्रजा परिषद्का सदस्य थिएनन् तैपनि यिनलाई प्रजा परिषद्का सदस्यहरूसँग मृत्युदण्ड दिइएको थियो। यिनी नागरिक अधिकार समितिका अध्यक्ष थिए। यिनले भारतमा महात्मा गान्धीलाई भेटेर नेपालमा राणा शासनविरुद्धमा आन्दोलन गर्न लागेको कुरा अवगत गराएका थिए। यसबाट राणा शासकहरू यिनीबाट अझै चिढिएका थिए। शुक्रराज शास्त्रीका पिता माधवराज जोशी आर्य समाजका समर्थक र समाज सुधारक थिए। यिनले पनि समाज सुधारकै कारण राणा शासकहरूबाट दण्ड र यातना सहनुपरेको थियो। 

१९९७ माघ ९ मा टेकुको पचलीमा एउटा रुखमा झुन्ड्याएर शुक्रराज शात्रीलाई मृत्युदण्ड दिइएको थियो। यिनको छातीमा देशद्रोह गर्नेलाई यस्तै सजाय हुन्छ भनी लेखेर झुन्ड्याइएको थियो। माधवराज जोशीले आफ्ना छोरालाई झुन्ड्याएको देखेर छोरा हुनु त यस्तो हुनु भनी स्याबासी दिएका थिए।

शुक्रराज शास्त्री ठूला विद्वान् र शास्त्रका व्याख्याता थिए। यिनले स्वर्गको दरबार भन्ने पुस्तक लेखेका थिए। त्यसमा जुन समाज वा घरमा नारीको सम्मान हुन्छ त्यहाँ नै देवताको बास हुन्छ भनी लेखेका थिए। यिनलाई मृत्युदण्ड दिइएको २ दुई दिनपछि धर्मभक्त माथेमालाई सिफलमा एउटा रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो। त्यसको ३ दिनपछि माघ १४ मा शोभाभगवती नजिक विष्णुमतीको किनारमा गोली हानेर दशरथ चन्द र गंगालाल श्रेष्ठलाई एकसाथ मृत्युदण्द दिएको थियो।

चार सहिदको मृत्युदण्डले क्रान्तिको आगो दन्किनमा ठूलो सहयोग गर्यो। यसले देशव्यापी रूपमा क्रान्तिको ज्वाला फैलियो। मुक्ति सेनाले यस आन्दोलनलाई सशस्त्र विद्रोहका रूपमा अगाडि बढायो। अन्त्यमा, राणा शासनले घुँडा टेक्नुपर्यो। २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको घोषणा भयो।
निष्कर्ष
प्रजातन्त्रको स्थापनाका निम्ति हाम्रा सहिदहरूका मार्गहरू अनुसरण गर्दै लाखौँ लाख युवाहरूले आफ्नो जीवन उत्कर्ष गरेका छन्। तिनै सहिदका सपना पूरा गर्न देशमा विभिन्न समयमा परिवर्तनका निम्ति आन्दोलन र परिवर्तनहरू भएका थिए। तर सहिदका सपना अझै पूरा भएका छैनन् भन्ने गुनासाहरू सुन्न पाइन्छ। जे भए पनि आजसम्म देशमा भएका राजनैतिक, आर्थिक तथा सामाजिक रूपान्तरण सहिदका सपना पूरा गर्ने क्रममा भएका हुन् भन्ने कुरा हामी सबैले बुझ्नुपर्ने हुन्छ।

प्रकाशित: १६ माघ २०७५ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App