coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवैध हतियार नियन्त्रण प्रदेश २ को चुनौती

रौतहट– प्रदेश २ मा अवैध हतियार नियन्त्रण गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ। साना खालका अवैध विदेशी हतियार प्रदेश २ मा बारम्बार पक्राउ परेको देखिएको छ भने प्रहरीमाथि नै अवैध हतियारले गोली प्रहारको घटनाले गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ।

नेपाल–भारत खुल्ला सिमाना भएकोले हतियारको कारोबार भइरहेको र अवैध साना हतियार नियन्त्रण नै चुनौतीको रुपमा देखिएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पाल स्वीकार गर्दछन्। गत दुई हप्तामा हतियार पक्राउ पर्नेदेखि प्रहरीमाथि आक्रमण गर्नेसम्मका गम्भीर घटनाहरु भएका छन्।

झन्डै दुई साताअघि जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवलदार महेन्द्र यादवमाथि अवैध हतियारले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। प्रहरीमाथि नै आक्रमण गर्नेलाई खोजी गर्दै जाँदा अवैध हतियारको कारोबार गर्ने सप्तरीकै दीपेन्द्र चौधरीलाई नियन्त्रण गर्न खोज्दा दोहोरो भीडन्त भएको थियो। भीडन्तमा चौधरी मारिएका थिए। चौधरीले बोकेको एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली प्रहरीले तत्काल बरामद गरेको थियो।

यसैगरी सिराहाको गोलबजारबाट एक थान एसएमजी, दुई थान म्याग्जिन र पाँच राउण्ड गोलीसहित स्थानीय चतुरनारायण चौधरीलाई पुलिसले पक्राउ गरेको थियो। आपराधिक पृष्ठभूमिका चौधरीमाथि पनि अवैध हतियार कारोबार गर्ने गरेको आरोप छ। 

सिराहाकै प्रमोद यादवबाट प्रहरीले एक थान कटुवा र दुई थान गोली बरामद गरी पक्राउ गरेको थियो। यादवले हतियारको कारोबार गर्ने गरेको सूचनाको आधारमा प्रहरीले शंका लागि चेकजाँच गर्न खोज्दा भागेको थियो। प्रहरीले यादवलाई रोक्न खोज्दा नरोकिएपछि  गोली हानी नियन्त्रणमा लिएको थियो।

प्रदेश २ मा विवाह, ठेक्का पट्टा, राजनैतिक विवाद तथा विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा पनि अवैध हतियारको बिगबिगी देखिने गरेको छ। काठ तस्करहरुले पनि विगतमा वन रक्षक र कर्मचारीमाथि नै गोली प्रहार गर्ने गरेको पाइएको छ। 

प्रदेश २ मा अवैध साना हतियारको नियन्त्रणको लागि प्रहरी गम्भीर भएर लागेको प्रदेश प्रहरी प्रमुख डिआइजी पालले बताए। ठाउँ ठाउँमा प्रहरी चेक बढाएको, सूचना संकलनमा गम्भीर भएर लागेको र बोर्डरमा कडा निगरानी बढाएको डिआइजी पालको दाबी छ। नेपाल–भारत खुल्ला सिमाना भएकोले सीमित स्रोत साधनको आधारमा प्रदेश प्रहरी दिनरात खटेर अपराध नियन्त्रणका सबै उपाय अपनाइरहेको स्पष्ट पारे।

पछिल्लो तीन महिनामा प्रदेश २ भरीमा १५ थान हतियार, १२ जना अभियुक्त, २९ राउण्ड गोली र चार राउण्ड खोका समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

दुई बन्दुक र गोलीसहित एकजना पक्राउ

रौतहटमा एकजनालाई दुई थान हतियार र पाँच राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरैयाका सशस्त्र प्रहरी निरीक्षक राम बालक साह कानुको कमान्डमा रहेको टोलीले ईशनाथ नगरपालिका १ बन्जरहास्थित बकैया नदीको तीरमा नेपाल–भारत सीमा क्षेत्रबाट एकजनालाई पक्राउ गरेको हो। गौर नपा ४ टिकुलियाका ४७ वर्षका नकुल पटेललाई ब्राउनिङ पेस्तोलजस्तो देखिने मेड इन इटाली लेखिएको हतियार १ थान, त्यसैको म्याग्जिन १ थान, कटुवा पेस्तोल १ थान र ८ एमएम बाल राउण्ड ५ गोटा पुलिसले सशस्त्र प्रहरीले बरामद गरेको हो।

भारतबाट नेपालतिर आइरहेका पटेलले प्लास्टिकको झोलाभित्र राखेको धानमा हतियार र गोली लुकाएका थिए। सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय महोत्तरी नम्बर २ बाहिनीबाट समेत सशस्त्र प्रहरीको विशेष टोली खटेको थियो। भारतबाट नेपालतिर हतियार भित्रिइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलले निगरानी बढाएको थियो।

पक्राउ परेका पटेललाई सशस्त्र प्रहरी बल रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाएको छ। घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको रौतहट प्रहरी प्रमुख केदार ढकालले बताए।

प्रकाशित: १५ माघ २०७५ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App