coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेत्रहिन महिला क्रिकेट : पाकिस्तानविरूद्ध नेपाल १० विकेटले विजयी

काठमाडाैं - विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृखंलामा नेपालले विजयी सुरुआत गरेको छ। नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलबार पाकिस्तानको नेत्रहीन महिला क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको शृंखलामा १–० को अग्रता बनाएको हो।

लाहोरस्थित किन्नार्ड कलेजको क्रिकेट मैदानमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली पाकिस्तान ५३ रनमै अलआउट भएको थियो। पाकिस्तानले दिएको ५४ रनको झिनो लक्ष्य नेपालले ५.३ ओभरमा बिनाविकेट पूरा गर्यो।

विनिता पुनले पहिलो ओभरको सुरुआती तीन बलमा चौका प्रहार गर्दै नेपाललाई शानदार सुरुआत दिलाएकी थिइन्। त्यसक्रममा नेपालले पहिलो ओभरमै २० रन जोड्यो। नेपालको जितमा विनिता सर्वाधिक २८ रनमा अविजित रहिन्। १९ बल खेलेकी उनले ५ चौकासमेत प्रहार गरिन्। यस्तै मनकेसी चौधरीले १४ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट १९ रन बनाइन्।

पाकिस्तानका लागि किरन रफिकले सर्वाधिक ९ रन बनाउँदा ४ खेलाडीले खातासमेत खोल्न सकेनन्। पाकिस्तानले १६ रन अतिरिक्तबाट पाएको थियो। उत्कृष्ट बलिङ गरेको नेपालको लागि सरिता घिमिरे र भगवती अमगाईंले १÷१ विकेट हात पारिन्। पाकिस्तानका बाँकी ८ खेलाडी भने रनआउट भए। विकेटकिपर मनकेसी चौधरी र सरिता घिमिरेले समान ४ ब्याट्सम्यानलाई रनआउट गरे।

उत्कृष्ट फिल्डिङ गर्दै चार रनआउट र १ विकेट लिएकी सरिता खेलको प्लेयर अफ दी म्याच घोषित भइन्। नेपालको जितमा २८ रन बनाएकी विनिता भ्यालुएबल प्लेअर बनिन्। सरिताले नगद १५ हजार र विनिताले ५ हजार पाकिस्तानी रकम प्राप्त गरिन्।

शृंखलाअन्तर्गत बाँकी खेलहरु फैसलावाद र इस्लामावादमा हुनेछ। दोस्रो खेल बिहीबार फैसलावादमा हुनेछ। त्यसका लागि नेपाली टोली बुधबार लाहोरबाट फैसलावाद जानेछ।

प्रकाशित: १५ माघ २०७५ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App