coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई तिहाईको दम्भले परम्परा कुल्चिँदाको परिणाम सरकारले भोग्नुपर्छ : गगन थापा

पर्वत– नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गरेका छन्। कुश्मा–३ दुर्लुङस्थित सूर्यप्रकाश माविको वार्षिकोत्सवलाई सम्बोधन गर्दै थापाले सरकारले कुनै पनि काम गर्नै नसकेको बताए। अहिले काम गर्ने र परिणाम दिने बेला भएपनि सरकार विपक्षीको स्वर दबाउन र परम्परा भत्काउन केन्द्रीत भएको थापाले बताए। 

‘यो काम गर्ने बेला हो, परिणाम दिने बेला हो। तर सरकार विरोधी दबाउन र परम्परा भत्काउनमै केन्द्रीत भएको छ’, थापाले भने। ठूला परिवर्तनपछि बनेको दुई तिहाईको सरकार पूर्ण रुपमा असफल भएको उनको भनाई छ। दुई तिहाईको दम्भले परम्परा कुल्चिदाको परिणाम भोग्नुपर्ने चेतावनी दिँदै थापाले राम्रो काममा सहयोग गर्ने काँग्रेसको नीति नै भएको धारणा राखे। 

जीवनभर परिवर्तनका निम्ति लडेका र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पतालमाथि गरिएको विभेद असह्य भएको थापाले बताए। थापाले नेपालमा सबै नागरिकको सामाजिक सुरक्षा हुनुपर्ने बताए। 

उनले एउटा गम्भीर बिरामी भएका नेपाली नागरिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यतामा पर्ने गरेको भन्दै सबै नागरिकको सामाजिक सुरक्षा अहिलेको मुख्य चुनौती भएको धारणा राखे। उनले आफू स्वास्थ्यमन्त्री हुँदा शुभारम्भ गरेको स्वास्थ्य बीमा र स्वास्थ्य नीति महत्वपूर्ण रहेको दाबी गरे। कमाई गर्ने नागरिकबाट राज्यले कर लिने नीति हुनुपर्ने र उसलाई समस्या आउँदा सबै दायित्व राज्यले लिनुपर्नेमा थापाले जोड दिए। 

पोखराबाट हेलिकप्टरमा आएर कार्यक्रममा सवा घण्टा बिताएका थापाले स्वास्थ्य र शिक्षाको सुधार नै मुलुकको अहिलेको आवश्यकता भएको बताए। सामुदायिक छाडेर निजी विद्यालयतर्फको आकर्षणलाई पहिल्याएर सामुदायिक विद्यालयको सुधारमा लाग्नुपर्नेमा थापाले जोड दिए। थापाले सूर्यप्रकाश माविमा नवनिर्मित सभाहलको उद्घाटन गरे। 

स्थानीय एकनारायण गुरुङ, रामकाजी गुरुङ, सुर्यबहादुर गुरुङ, द्रोपति गुरुङ, मिना गुरुङ, मायाकुमारी गुरुङको परिवारले आफ्ना पिता कुलबहादुर गुरुङ र माता धनलक्ष्मी गुरुङको स्मृत्तिमा बिद्यालयमा उक्त भवन निर्माण गरिदिएका हुन। उनीहरुको परिवार हाल युके र हङकङमा बस्दै आएका छन्। आफू जन्मेको गाउँको विद्यालयको भौतिक पूर्वाधारमा सहयोग गर्ने उद्देश्यले विद्यालयमा ३५ लाख लगानीमा भवन निर्माण गरिदिएको रामकाजी गुरुङले जानकारी दिए। 

त्यसैगरी उक्त भवनको मर्मत र अन्य शैक्षिक क्रियाकलापका लागि कुलबहादुर गुरुङ र धनलक्ष्मी गुरुङको स्मृतिमा परिवारले सूर्यप्रकाश माध्यमिक बिद्यालयमा १५ लाख १५ हजार रुपैयाँको कोषसमेत स्थापना गरिदिएका छन्। रामकाजी गुरुङले आफू जन्मेको गाउँको विद्यालयमा अन्य सहयोग समेत निरन्तर रहने पनि बताए। पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले बिद्यालयमा लाखौं लगानीमा भवन र कोष निर्माण गर्ने गुरुङ परिवारलाई धन्यबाद दिए। उनले आफ्नो थातथलोको सम्झना निरन्तर राख्न पनि आग्रह गरे। 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् काँग्रेस पर्वतका पूर्वसभापति लालकाजी गुरुङले शैक्षिक र मानवीय विकास राज्यको पहिलो दायित्व भएको बताए। 

कार्यक्रममा काँग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङ, जिविस पर्वतका पूर्वसभापति इच्छाबहादुर गुरुङ, काँग्रेस जिल्ला सदस्य लेखबहादुर गुरुङलगायतले बोलेका थिए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पौडेलले धेरै ठाउँमा निजी विद्यालयमा आकर्षण बढेपनि आफुले सूर्यप्रकाश माविमा निजी विद्यालयका विद्यार्थी समेत तान्नेगरी शैक्षिक सुधारमा लागेको दाबी गरे। 

प्रकाशित: १५ माघ २०७५ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App