७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री

पोखरा-सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन्।

निर्वाचित भएको १४ महिना पछि सोमबार साँझ प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ खाएका उनले मंगलबार भने भारतको विहार प्रदेशको BR06PD 7529  नम्बरको गाडी चढेर प्रदेश सभा प्रवेश गरे। उनी एक्लै आएनन्, आफुसँगै एउटा युवा टिमको जमात नै लिएर आए।

यसअघि, प्रदेशसभाको भित्री गेटबाट मन्त्री, प्रदेशसभा सदस्य र सरकारी गाडी प्रदेशसभा भवन परिसरमा छिर्ने गरेका थिए।

मंगलबार मनाङेले गाडी लिएर निर्वाध प्रदेशसभा भवन परिसरमा छिर्दा गेटमा रहेका सुरक्षाकर्मीले पनि सोधपुछ गरेनन्। सञ्चारकर्मीको सोधपुछको क्रममा मनाङेले भने, ‘मेरो गाडी होईन, भाईको हो, भित्र ल्याउन पाउने नपाउने कुरा त्यो त प्रहरीले हेर्नुपर्ने हो भित्र ल्याउन पाउँछ कि नाई, उनीहरुले जान्नुपर्ने कुरा हो।’

उनले भारतीय नम्बरको गाडी प्रदेशसभामा ल्याउन पाउने नपाउने भन्दा पनि दिनको ४ सय ५० रुपैयाँ तिरेको छ, छैन त्यो बुझ्न सुझाव दिए। ‘मैले रसिद देखाउँला, गाडी भित्र ल्याउन किन नपाईने हो, भारतले त्यत्रो एम्बुलेन्स दिईराख्छ, के त्यो ल्याउन नपाउने हो, उड्न पो नहुने गुड्न त हुन्छ नि।’

२ नम्बर प्रदेशका मुख्यमन्त्रीहरु नै भारतीय गाडी चढेर निर्वाद हिँडिरहने भन्दै उनले यो ठूलो कुरा नभएको बताए।

यस विषयमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले यसबारे कानुनी कार्यविधी हेर्नुपर्ने बताए। ‘नियम के छ बुझौँला’ उनले भने।

प्रदेशसभा सुरक्षार्थ खटिएका सई चन्द्रबहादुर खत्रीले गाडी भित्रिएपछि मात्र थाहा पाएको बताए। ‘माननीयको गाडी रोक्ने कुरा भएन, गेटमा खटिएका सुरक्षाकर्मीले भनेनन्, तर मैले जिल्लालाई रिपोर्टिङ गरिसकेको छु,’ उनले भने, ‘आज भयो, भोलिदेखि नल्याउने भन्ने कुरा भएको छ।’

प्रदेशसभा परिसरमै भारतीय गाडीको चर्चा हुन थालेपछि मनाङे चढेर आएको गाडी प्रदेशसभाको भित्री गेटबाट बाहिर निकालिएको छ।

गाडी बाहिरिएपछि मनाङेले प्रदेशसभा बैठकमा पहिलोपटक सहभागी भएका छन्। उनी सत्तापक्ष बस्ने रो मा बसेका छन्। सोमबार सपथपछि उनले सरकारलाई सहयोग गर्ने बताएका थिए।

यस्तै, तनहुँका अर्का सांसद रामबहादुर गुरुङ चाहिँ हरियो प्लेटको गाडीमा प्रदेशसभामा आएका छन्।

सपथमा प्रतिपक्षीको असन्तुष्टि

मंगलबारको प्रदेशसभा बैठकमा विशेक्ष समय लिएर प्रतिपक्षमा रहेका तीनै दलले सपथग्रहणको विरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले सपथको प्रक्रियाको विषयमा सत्तापक्षले प्रतिपक्षलाई बेवास्ता गरेको बताए।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र नयाँ शक्ति पार्टी नेपालका प्रदेशसभा सदस्य हरिशरण आचार्यले पनि ऐन, कानुनको खिल्ली उडाईएको बताए।

प्रकाशित: १५ माघ २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App